|

कञ्चनपुर : परम्परागत रुपमा अपनाउदै आएको बाँसका सामग्री बनाउने पेशालाई  कञ्चनपुरको बेदकोट नगरपालिका चम्फापुरका आधा दर्जन बढी दलित समुदायले निरन्तरता दिएर परिवारको खर्च जुटाउदै आएका छन्। बाँसका चोयाबाट भकारी, डोको, नांलो, टोकरीलगायतका सामाग्री बनाएर यहाँका दलित समुदायले सहज रुपमा परिवारको खर्च चलाउँदै आएका हुन्।

गाउँ नजिकैको सामुदायिक वनबाट बाँस खरिद गरी दलित समुदायले बाँसका सामग्री बनाउदै आएका छन्। बाँसका सामाग्री बनाएर मासिक रुपमा १० हजारदेखि १५ हजार रुपैयाँसम्म ती परिवारले कमाई गर्दै आएका छन्। 

सामुदायिक वनबाट ५० रुपैयाँ प्रति बाँसका दरले खरिद गरी सामग्री बनाउदै आएको बजिर लुहारले बताए। ४० वर्ष अघिदेखि परम्परागत सीपको प्रयोग गरी बाँसका सामग्री बनाउदै आएका लुहारले १२ जनाको परिवारको खर्च यसबाटै आएको कमाईले धान्दै आएका छन्। उनी भन्छन्, ‘परम्परागत पेशालाई व्यवसायीक रुपमा अगाडि बढाउन सके आम्दानी लिन सकिन्छ, यसलाई निरन्तरता दिनु जरुरी छ।’

बस्नका लागि एक छाप्रो मात्रै रहेका लुहारले परिवारका लागि नून, तेल, दाल, चामललगायतका खाद्यन्नका साथै छोराछोरीलाई विद्यालय पढाउने खर्च बाँसका सामग्री बिक्रि गरे आउने पैसाबाटै धान्दै आएको उनले बताए।

बाँसका सामग्रीको बजारमा अधिक माग भए पनि माग अनुरुप बाँसको प्रयाप्त उपलव्धता नहुँदा सामग्री आपूर्तिमा कठिनाई हुने गरेको अर्का व्यवसायी सोवी कोलीले बताए। बाँसका सामाग्री परिवर्तित समय अनुसारको डिजायनमा बनाउन सके यसबाट मनग्य आम्दानी गर्न सकिने उनकोे भनाई रहेको छ।

परम्परागत सीप भएकाहरुले पेशा पलायन हुनुभन्दा यसलाई आधुनिकिकरण गरी समय सापेक्ष रुपमा अगाडि बढेमा चाहे जस्तो आम्दानी लिन सकिने हरदेव कोलीले बताए। पेशाकै कारणले समाजमा अपेहलित हुनु पर्ने भन्दै युवा पिढीले परम्परागत पेशालाई अपनाउनु भन्दा भारतमा मजदुरी गर्न जाने गरेका उनी बताउँछन्। ‘पेशालाई व्यवसायीक बनाए अपहेलित हुनु पर्दैन’, उनले भने, ‘भारतमा मजदुरी गरेकोभन्दा घरमै बसी–बसी तेव्वर आम्दानी गर्न सकिन्छ।

परम्परागत बाँसका सामग्री बनाउनका लागि आवश्यक लगानी नपाउदासमेत धेरैले पेशालाई तिलाञ्जली दिएर पलायन हुन थालेका राष्ट्रिय मुक्त हलिया समाजका अध्यक्ष शिवी लुहारी बताउँछन्। ‘बैंक वा अन्य ऋण प्रदान गर्ने निकायमा धितोका रुपमा राख्नका लागि जग्गा नहुँदा पनि सीप भएका दलित समुदायका व्यक्तिहरुले कर्जा पाउनदैनन्,’ उनले भने, ‘कर्जा तिर्ने हैषियत नभएको भन्दै साहु महाजनहरुले नपत्याउने भएकाले व्यवसायलाई आधुनिकिरण गरी विस्तार गर्न दलित समुदाय सामू चुनौति खडा भएको छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.