|

इलाम : घाँस काट्न जाँदा मोजाको भकुन्डो बनाएर फुटबलको अभ्यास गर्थे रे उनी। त्यसका लागि पनि समय निकाल्न निक्कै मुस्किल पर्थ्यो। साधारण परिवारमा जन्मिएका उनलाई दैनिक काम नगरी सुखै थिएन रे।

झुम्रोको भकुन्डो बनाएर फुटबल सिकेका भरत खवासलाई राष्ट्रिय टिमको उपकप्तान बन्छु भन्ने त लागेको थिएन रे। तर, अहिले नेपाली फुटबल क्षेत्रमा चर्चित फुटबलरको रूपमा स्थापित भए भरत। 

मोरङको हरैचामा साधारण परिवारमा जन्मिएका खवास सानैदेखि फुटबल भनेपछि हुरुक्कै हुन्थे रे। नजिकै रहेको जनता माविमा अध्ययन गर्दा खाली समयमा मोजाको गोल लिएर खेलमैदानमा पुगे पछि कक्षामा फर्कनै बिर्सन्थे। 

फुटबल खेल क्षेत्रको सफलताको श्रेय उनी बुबालाई दिन्छन्। खेल क्षेत्रमा लाग्न बुबाको प्रेरणा नभएको भएको आफू यहाँसम्म आइनपुग्ने उनको बुझाई छ। ‘म सानो हुँदा हरैचामा फुटबलबाहेक अरू खेल खेलिदैन थियो। मेरो बुबालाई पनि फुटबलमा औधि रुचि थियो। त्यो मेरो लागि प्रेरणा बन्न पुग्यो र परिवारले पनि सधै समर्थन गर्नुभयो’,उनले भने।

एन्फामा प्रवेश

सन् २००० मा कक्षा ५ मा पढ्दै गर्दा एन्फा एकाडेमीले १० वर्ष मुनिका खेलाडीहरू छनौटको खबर सुनेपछि उनका बुबाले भरतलाई पनि विराटनगर लिएर गए। एन्फा छनौटमा सहभागी हुन जाँदाको क्षण उनी कहिल्यै बिर्सन सक्दैनन्। भरत भन्छन्, ‘मलाई  गाडी चढ्न मन नलाग्ने भएकाले बुबाले सात दिनसम्म दिनको डेढ घण्टा लगाएर साइकलमा विराटनगर लग्नुभएको थियो।’

एन्फाले देशभरिका आठ हजारबाट ७८ जनाको छनौट गर्‍यो, त्यसमा भरतको पनि नाम पनि अटेको रहेछ। त्यसबेला उनमा खुसीको सीमा नै रहेन। एन्फामा छनौट भएपछि ७८ जनालाई २६ जनाका दरले ३ समूहमा विभाजन गरेर काठमाडौं, पोखरा र धरानमा रहेका एन्फाको एकाडेमीमा ट्रेनिङ गराउथ्यो। उनी भने पोखरामा परेका थिए। त्यो बेला अहिलेका राष्ट्रिय टिमका कप्तान विराज महर्जन, रोहित चन्द पनि उनीसंँगै पोखराको क्याम्पमा थिए।

करिअर पहिलो उपाधि 

एन्फामा रहँदै उनले यु–१० देखि खेल्न सुरु गरे। उनको करिअरको पहिलो उपाधि सुव्रोतो कप थियो।  ‘हामीले सन् २००४ मा भारतको प्रतिष्ठित यु–१४ सुव्रोतो कप जितेका थियौँ। त्यो मेरो करिअरको पहिलो उपाधि पनि हो। त्यो उपाधि जितेर म घर जाँदा ठूलो स्वागत भएको थियो र सबै जना निकै खुसी हुनुभएको थियो’, उनले भने,‘त्यसपछि मलाई गोल खेलेर नै भविष्य बनाउन सक्छु भन्ने महसुस भएको थियो।’

यु– १६, यु– १९ हुँदै उनी सन् २०१२ मा यु–२२ को नेपाली राष्ट्रिय टिमको कप्तानसमेत सम्हालिसकेका छन्। भरतले आफ्नो डेब्यु खेलमा नै गोल गरेका थिए। २५ मार्च सन् २००८ मा पोखरामा भएको पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलमा प्रदीप मर्हजनको स्थानमा सब्टिच्युट खेलाडीको रूपमा मैदान प्रवेश गर्दै उनले राष्ट्रिय टिममा डेब्यु गरेका थिए।

नेपाल १–०ले पछि परेको बेला भरतले गोल गर्दै नेपाललाई खेलमा फर्काएका थिए । सो खेलमा नेपाल २–१ ले विजयी भएको थियो। भरतले हालसम्म नेपाली टोलीबाट ४९ क्याप जितिसकेका छन् भने ९ वटा अन्तर्राष्ट्रिय गोल समेत गरेका छन्। उनले सन २०१३/०१४ को एएफसी च्यालेन्जकपमा नर्दनमारियानाविरुद्ध ह्याट्रिकसमेत गरेका थिए। विश्वकप छनोटमा जोडनसँग  अवे खेलमा ९–० ले हारेको नेपाललाई होम खेलमा ७९ औँ मिनेटमा १८ यार्डको दूरीबाट गोल गर्दै १/१ को खेल पुर्‍याउनसमेत सफल भएका थिए।

नेपालले २०१६ मा एफसी सोलाडिरिडी कप जित्दासमेत भरत खवास नेपालका स्ट्राइकर थिए। अहिले पनि भरत खवास नेपाली राष्ट्रिय टिमका पहिलो रोजाईका खेलाडी हुन्। भरतले अघिल्लो मार्चमा फिलिपिन्सविरुद्ध नेपालको कप्तानीसमेत सम्हालिसकेका छन् भने अहिले उनी नेपाली टोलीका उपकप्तानसमेत हुन्।

क्लब यात्रा

एन्फामा रहँदा नै  उनी सन् २००८ मा संकटा क्लबसँग आवद्ध भएर एक सिजन शहीद स्मारक लिग खेले। फेरि उनी अर्को सिजन फ्रेन्डस क्लबबाट लिग खेले त्यो समय फ्रेन्डस क्लब ए डिभिजनको क्लब थियो। एक सिजन फ्रेन्डसबाट खेलेपछि भरत नेपाल पुलिस क्लबको नजरमा परे उनलाई पुलिसले आवद्ध गरायो।

२०६७ सालको शहीद स्मारक लिगमा उनी आवद्ध नेपाल पुलिस पहिलो भएको थियो भने लिगमा भरतले १६ गोल गरेका थिए। तर, उनीभन्दा १ गोल बढी गरेका थ्री स्टारका सन्तोष साहुखल सर्वाधिक गोलकर्ता बने।  त्यही सिजन राष्ट्रिय लिगमा पनि नेपाल पुलिस पहिलो नै भएको थियो त्यसमा भरतले ४ गोल गरेका थिए।
२०६७ को राष्ट्रिय लिगमा भरतले बेष्ट फरर्वाड बन्दै मोटरसाइकल पाएका थिए। उनी २०६९ सालमा भएको ३९औँ शहीद स्मारक लिगमा १४ गोल गर्दै बेस्ट फरवार्ड बनेका थिए।

दुई सिजन पुलिसबाट खेल्दै गर्दा उनले नेपाली सेनामा अधिकृत तहको परीक्षा लेखिरहेका थिए २०६९ सालमा नेपाली सेनामा आवद्ध भएर आफ्नो खेल जीवनलाई अगाडि बढाइरहेका छन्। उनलाई २०७१ सालमा नेपाल आर्मीले आफ्नो टिमको कप्तान बनाएपछि हालसम्म भरतले आर्मीको कप्तान सम्हालिरहेका छन्। भरतको कप्तानीमा २०७३ पछि नेपाल आर्मीले १२ वटा गोल्डकपको उपाधि उचाली सकेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.