|

ओखलढुंगा : ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ सोक्माटारमा ७५ मिटर तल रहेको दूधकोशी नदीको पानी सौर्य ऊर्जा जडित पम्पिङ प्रणालीमार्फत गाउँमा ल्याइएको छ। 

वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको दुईकरोड २५ लाख रुपैयाँ आर्थिक सहयोगमा छ वटा सौर्य ऊजा जडित पम्पिङ मोटर जडान गरी दूधकोशीको पानी गाउँसम्म पुर्‍याइएको हो। 

विगतका वर्षमा खडेरीका कारण कृषकलाई समस्या भइरहेको थियो। दूधकोशीको पानी गाउँसम्म आएपछि आकाशे पानीको भरपर्नु पर्ने बाध्यता हटेको पूर्वसांसद रामहरी खतिवडाले बताए।

गत कातिक महिनादेखि मानेभञ्ज्याङ गाउँपालिका ६ सोक्माटारमा कृषकहरुको दैनिकी नै फेरिएको पूर्वसांसद खतिवडाले बताए। उनका अनुसार पम्पिङ प्रणालीमार्फत गाँउमा पानी आएपछि त्यस भेगका कृषकहरुले बाह्रैमास नगदेबाली लगाउदै आएका छन्। 

‘अहिले यहाँका कृषकहरुको खेतबारी कुनै समय बाझौ बस्दैन। स्थानीयले उत्पादन गरेका तरकारी तथा बालीनाली कृषकहरुको गतिलो आम्दानीको स्रोत बनेको छ,’ पूर्व सांसद खतिवडाले भने। सभासद खतिवडाले अबको केही समयमा नै पलापुलगायत जिल्लाका पाँच सुख्खा ग्रस्त स्थानमा सौर्य प्रणलीबाट पानी पुर्याउने लक्ष्य लिएको बताए। 

परीक्षणका रुपमा सौर्य ऊर्जा पम्पिङ प्रणाली जडान भएको भए पनि यसलाई दिर्घकालिन बनाउन कृषकहरूले माग गरेका छन्। घाम लागेको समयमा नियमीत पानी आउने गरेको भए पनि घाम नलागेको बेला मेसिनमा समस्या आउने गरेको कृषक बिन्देश्वर राईले बताए। ‘घाम लाग्दा त नियमीत पानी आउछ तर कोहीकोही बेला चाहीँ के हुन्छ कुन्नी हल्का समस्या आउछ’ उनले भने। 

सोही समस्या समाधानका लागि गाउँको माथिल्लो भेगमा तिन ओटा पानी जम्मा गर्ने ट्यांकी निमार्ण भएको छ। सौर्य ऊर्जा पम्पिङ प्रणालीबाट तानिएको पानीले सोक्माटारको करिब एक सय ५० रोपनी क्षेत्रफलमा सिंचाई सुविधा पुगको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.