|

काभ्रेपलाञ्चोक : कुशादेवी क्षेत्र सरोकार विकास समाजले आयोजना गरेको तीन दिने ‘विहाबर क्षेत्र पर्यटन महोत्सव–२०७५’ शनिबारदेखि सुरू भएको छ। 

शनिबार काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–२ गुर्दुमडाँडामा कार्यक्रम गरी संघीय सांसद गंगाबहादुर तामाङले महोत्सवको उद्घाटन गरेको हुन्। कार्यक्रममा बोल्दै सांसद तामाङले कुशादेवीको पर्यटन विकासको लागि गुर्दुमडाँडा उपयुक्त भएकाले त्यसको विकास गर्नका लागि सबै लाग्नुपर्नेमा जोड दिए। यसैगरी, जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका अध्यक्ष उद्धव केसीले गुर्दुमडाँडा आन्तरिक पर्यटकहरुका लागि उपयुक्त ठाउँ भएकाले नगरको मात्रै नभई सिंगो जिल्लाको नै सान भएको बताए।

कार्यक्रममा पनौती नगरपालिकाका प्रमुख भीम न्यौपानेले गुर्दुमडाँडा व्यवसायिक प्याराग्लाइडिङ उडानको उपयुक्त ठाउँ भएको बताए। ‘अहिले महोत्सव अवधीभर परीक्षण उडानको लागि मात्रै अनुमति लिएका छौं, त्यसपछि व्यवसायिक उडान गर्न संस्था दर्ता भएपछि यो अगाडि बढ्छ’ प्रमुख न्यौपानेले भने। 

दूई हजार सात सय मिटरको उचाईमा रहेको उक्त डाँडाबाट हिमालका दृश्यहरूसमेत अवलोकन गर्न सकिन्छ। सो क्षेत्र महाभारत श्रृंखलामा पर्ने भएकाले २८० प्रजातिका चराचुरुंगी, वन्यजन्तुको वासस्थान रहेको छ। 

महोत्सवको उद्घाटनमा झाँक्री नाच, लामा नाच, लगातयका स्थानीय बाजागाजा सहित कुशादेवी बजारदेखि गुर्दुमडाँडासम्म पैदल यात्रा गरेका छन्। त्यससंगै विहावर महोत्सवमा स्थानीय सामग्रीहरु कृषि उत्पादन, स्थानीय जडिबुटी, घरेलु उत्पादनका स्टलहरु राखिएका छन्।

महोत्सवको दोस्रो दिन पनौती नगरपालिका वडा नं. ३ पशुपति मन्दीरबाट सिमलबोट, रानीकोट, लाकुरी भञ्ज्याङ, मानेदोभान हुँदै कुशादेवी मन्दीरसम्म हाल्फ म्याथुन हुने भएको छ भने तेस्रो दिन वडा – २ को कुशादेवी मन्दीरबाट पर्खालचौर, मानेदोभान, खानीडाँडा, लठ्ठाभञ्ज्याङ, लाँकुरीभञ्ज्याङ, रानीकोट, पाँचकन्या, पशुपति मन्दिर हुँदै कुशादेवीसम्म साइकल यात्रा हुने आयोजकले जनाएको छ।

महोत्सवमा परीक्षण उडानको लागि १५ जना प्याराग्लाइडिङ पाइलटहरू सहभागिता जनाएका छन्। एक लाखभन्दा बढीले महोत्सवको अवलोकन गर्ने आयोजकको अनुमान छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.