|

काठमाडौं :  मंगलबार मे १ अर्थात अन्तराष्ट्रिय मजदुर दिवस। विश्वका अधिकांश श्रमिकले विभिन्न कार्यक्रम आयोजना गरेर मनाउदै छन्। पसिनाको एक-एक थोपा बगाएर जिन्दगीलार्इ केहि मात्रामा सहज बनाउने ति तमाम मजदुरहरुको उत्सवको रुपमा आजको दिनलाई लिँदा पनि अतिउक्ति हुँदैन। नेपाल लगायत विश्वका ८० देशमा सार्वजानिक बिदा हुने गरेको छ। श्रमिक दिवसको अवसरमा राजधानी लगायत देशका बिभिन्न भूभागमा विभिन्न कार्यक्रम आयोजना गरिएका छन्।सन् १८८९ मा फ्रान्सको  पेरिस शहरमा सम्पन्न विश्वका श्रम सङ्गठन एवम् श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको थियो। त्यस यता सन् १८९० देखि हरेक वर्ष अङ्ग्रेजी महिनाको मे १ तारिखमा श्रमिक दिवस मनाउन सुरु भएको हो।

 

काठमाडौंकाे आर आर कलेजको छेउँमा बिहान देखि बालुवा बोकेर एकछिन थकान मारेर बस्दै गरेका गंगाराम सादालाई भने आज श्रमिक दिवस भन्ने थाहा छैन। केही दिन यता बालुवा ठेक्कामा लिएर बोक्दै आएका उनी छिटो भन्दा छिटो काम सकेर पैसाको भर्जिन गन्ध सुघ्न आतुर छन्। उनी भन्छन, 'खै हजुर आज के हो कुन्नि आज जसरी पनि यो काम सक्नु छ।' निधारको पसिना पुछ्दै उनले थपे, 'यति काम सक्न छिट्टै पाए घरमा श्रीमतीलाई पैसा पठाउन पाइन्थ्यो।' उमेरले भर्खर २२ मा हिँडेका उनी बच्चैमा बाबु आमा गुमाए। उनका बुबालाई क्यान्सरले थियो। उनी भन्छन, 'गाउँमा हामीलाई कसैले ऋण पत्याएनन्,औषधि उपचार गर्न नपाएर बाबुको मृत्यु भयो।'

बाबुको मृत्युको घाउ सेलाउन नपाउँदै तराईको चर्को गर्मीले आमालाई पनि लगेर त्यही घाउको पत्रा उप्कायो। सर्लाही मंगलवा स्थायी घर भएका उनी विगत १२ वर्ष देखि राजधानीमा भारी बोक्ने काम गर्छन्। देशको राजनीतिक आर्थिक तथा सामाजिक  परिवर्तनका  बारेमा उनलाई खास चासो छैन। उनी भन्छन्, 'मैले पढ्न पाइन्, बच्चैमा बाबु आमा गुमाए। अब दुइवटा भाइ छन्, उनीहरुलाई पढाएर ठूलो मान्छे बनाउने रहर मात्र  छ।'

दुइ भाइको लागि उनी आमा र बाबु दुवै हुन्। सबै उनी जस्तै अभागी  हुदैनन् ,जस्तो की उनका दुई भाई भाग्यमानी छन्, जसले बाबु आमा गुमाए पनि अभिभावक गुमाएनन्। उमेर भन्दा पहिले अभावले उनलाई परिपक्क बनायो। परिपक्कता पैसा कमाउनु मात्र पनि हैन तर समयले दिएको जिम्मेवारी उनले दु:खसुख गरेरै बहन गर्दैछन्। उनी भन्छन, 'त्यो पैसा जम्मा गर्ने ठाउँ(बैंक)मा पैसा गन्ने मान्छे हुन्छन् नि त्यही ठाउँमा पुग्ने गरी भाइहरुलाई पढाउँछु।'

उज्यालो मुख पारेर उनले थपे, 'अनि म बिरामी भए भने ऋण पाउछु नि।' आफ्ना बाबा बिरामी हुँदा ऋण नपाएको त्यो घटना आज पनि उनको मस्तिष्कमा अझै ताजा छ। 'सायद बेलैमा पैसा भएको बाबा बच्नु हुन्थ्यो होला, मैले पढ्न पाउँथे कि !' उनले आशाका केहि सम्भावना प्रस्तुत गरे।

बाबु आमाको मृत्यु पश्चात उनका मामाले उनको विवाह गरिदिए सरिता सादासंग। 'के गर्नु घरमा भाइहरु साना-साना, कोही नभएसी मेरो विवाह भएको हो।' अहिले उनका दुइ छोरा र एक छोरी छन्। 

महिना पुगेपछि उनले काठमाडौं महंगी संग लडेर २०/२५ हजार जोगाएर घर पठाउँछन्। त्यो पैसा परिवारको लगाई खुवैमा खर्च गर्छन्। 'पढ्ने मेरो भाग्य रहेनछ।' उनी भन्छन, 'तर भाइहरु र छोराछोरीलाई जसरी भएपनि पढाएर ठूलो बनाउने ठूलो इच्छा छ।'  रत्नपार्कमा लेवर चोक छ। उनी फुर्सदका दिनमा त्यहाँ पुग्छन्। कामका लागि ठेक्दारहरु कामदार खोज्दै आउछन्। अनि ज्यालामा काम गर्न ठेकदारले जहाँ बोलाउछन् उनी त्यहीँ पुग्छन्। भारी बोक्नु, इट्टा बोक्नु, लगायतको काम गर्न थालेकै वर्षौ भयो।

उनी भन्छन्, '१२ वर्ष अघि कामको खोजीमा साथीसंग आएको हुँ  काठमाडौं।'  उनी संगै आएका साथी सपनाको  ठूलो जहाज चढेर  विदेश गए। तर उनी विदेश गएनन्। उनी भन्छन, 'बिदेशमा त धेरै गर्मी हुन्छ रे। गर्मीले मान्छे मर्छन् रे, मेरी आमा जसरी।' उनले निर्दोस पाराले आफ्नो डर सुनाए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.