|

गुल्मी : गुल्मीको सदरमुकाम तम्घासकै सडकमा व्यापक रुपमा खाल्डाखुल्डी भएपनि सम्बन्धित निकायले मर्मतका लागि चासो नदेखाएको स्थानीय वासिन्दाले गुनासो गरेका छन्।

रेसुंगा नगरपालिका भित्र पर्ने सदरमुकाम तम्घासकै पक्की सडक खाल्डाखुल्डीमय भएको छ। हरेक वर्ष कालोपत्रे गर्ने गरिएपनि तम्घासको सडकमा खाल्डाखुल्डी परिरहन्छ। गुणस्तरीय काम नहुँदा नगरवासीलाई समस्या भएको हो।

सडक भत्किएको धेरै समय बितेपछि सदरमुकामको सडकमा पानी पर्दा हिलाम्य र घाम लाग्दा धुलाम्य हुने गरेको छ। कतिपय स्थानमा पक्की भत्क्याएर खानेपानीको पाइप लाइन लैजाने र राम्रोसँग मर्मत नगर्नाले पनि सडक थप जीर्ण बनेको छ।

तम्घास बजार क्षेत्रमा रहेको पक्की बाटो भत्किएसँगै सवारी साधानहरुलाई आवत जावत गर्न जोखिम बढ्नुका साथै बजार क्षेत्रको सुन्दरता समेत हराउँदै जान थालेको स्थानीय वासिन्दाले गुनासो गर्न थालेका छन्।

सडक भत्किएका ठाउँमा पैदल हिड्न समेत समस्या पर्ने गरेको छ। खाल्डा खुल्डी भएको स्थानमा सवारी साधनहरु तर्काएर हिँड्दा पैदल हिँड्नेहरुलाई पनि जोखिम बढने गरेको हो।

तम्घास बजार क्षेत्रको मुख्य बजार क्षेत्र उदिनढुंगादेखि बसपार्क हुँदै भगवती मन्दिरसम्मको सडकमा ठाउँठाउँमा पक्कीबाटो भत्किनुका साथै खाल्डा खुल्डी बन्दै गएपछि सडक जीर्ण बन्दै गएको हो। बजारमै साना मोटरसाइकलहरु निकै जोखिम मोलेर यात्रा गर्नुपर्ने अबस्था रहेको स्थानीय वासिन्दा मनोज कार्कीले बताए ।
सडक भत्किएको लामो समय हुँदा समेत सम्बन्धित निकायले ध्यान नदिनु दुखद रहेको उनले बताए। सदरमुकाम समेत रहेको बजार क्षेत्र जिल्लाको लागि ऐना जस्तै रहेकाले यस बजार क्षेत्रमा रहेका भत्किएका पक्की सड्कहरु मर्मतमा सम्बन्धीत पक्षको ध्यान जान जरुरी रहेको उनले बताए।

बजार क्षेत्रमा रहेको पक्की सडक, बिद्युत अनियमिता र खानेपानीको समस्याहरुलाई समाधान गर्न नगरपालिकालाई ध्यानकर्षण गराएको गुल्मी उद्योग वाणिज्य संघका सदस्य चेतनारायण पाण्डेले बताए। नगरपालिलाई वाणिज्य संघ सहित, सुशासन अभियान, नागरिक समाज सहितको टोलीले बजार क्षेत्रमा भत्किएका पक्की सडक यथाशीघ्र मर्मत गर्न आग्रह गरिएको  पाण्डेले जानकारी दिए।

अनियमित बिद्युत हुँदा खानेपानीमा समेत समस्या पर्ने हुँदा नियमित बिद्युत आपुर्तिको लागि पनि नगरलाई ध्यानकषर्ण गराईरहेको  पाण्डेको भनाई छ। बजारमै धेरै ठाउँ सडक भत्किँदा स्थानीयले धेरै गुनासो गरेको  पाण्डेको भनाई थियो।

नगरपालिकालाई छिटो मर्मत गर्न भन्दै गएको टोलीलाई नगरप्रमुखले ४० लाख बिनियोजन गरेर ठेक्का गरिएको जवाफ दिएका छन्। रेसुङ्गा नगरपालिका भित्र पर्ने बजार क्षेत्रमा भत्किएको सडक बारे नगरपालिकाको ध्यान गएको नगर प्रमुख डिल्लीराज भुसालले बताए।

‘नगरपालिकाको तर्फबाट तत्कालै काम गर्ने गरी बजेट छुट्याइएको छ,’ नगर प्रमुख भुसालले भने, ‘बैशाख अन्तिम साता सम्म काम सम्पन्न गर्ने तयारीमा छौं ।’ 
तम्घास बजार सुन्दर सफा सहर बनाउनको लागि अरु धेरै कामहरु पनि हुने उनले बताए। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.