|

इलाम : २०७५ सालको सिजनको पहिलो प्रतियोगिता चौथो अन्तर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकपको उपाधिका लागि सोमबार थ्री स्टार र मनाङ मस्याङदीबीच प्रतिस्पर्धा हुँदैछ। लामो समय फुटबल खेलबाट टाढा रहेको थ्री स्टार तीन महिना अघि मात्र फुटबलमा पुनरागमन भएको हो। 

तीन महिनाको अवधिमा थ्री स्टारले विराट गोल्डकप, तिलोतमा गोल्डकप, बुढासुव्वा गोल्डकप, मदन भण्डारी स्मृति इटहरी गोल्डकप, मदन भण्डारी गोल्डकप रुपन्देहीको उपाधि जितेको थियो भने मनाङले २०७४ को सिजनमा दोस्राे मनमोहन दुहवी गोल्डकपमा त्रिभुवन आर्मीलाई २–१ ले पराजित गर्दै उपाधि जितेको थियो। दुवै टिम सिजनको सुरुवातमा माइभ्याली जितेर ट्रफी क्वाविनेट सुरु गर्ने दाउमा छन्। आइतबार आयोजित प्रि-म्याच कन्फ्रेन्समा दुवै टोलीले उपाधिका लागि सक्षम रहेको दाबी गरे। 

हेड टु हेडमा थ्री स्टार अगाडि

नेपाली फुटबलमा थ्री स्टार कमव्याक भएपछि मनाङसँग भेट भएका पाँचवटै प्रतियोगितामा विजय हासिल गरेको छ। थ्री स्टारले तिलोतमा गोल्डकपको सेमिफाइनलमा २–१,मदन भण्डारी स्मृति इटहरी गोल्डकपको फाइनलमा १–०, विकास रनिङ शिल्डको सेमिफाइनलमा सडनडेथ, विराट गोल्डकपको क्वाटरफाइनलमा २-१ र मदन भण्डारी गोल्डकपको फाइनलमा २-१ ले विजय हासिल गरेको थियो।

मनाङका प्रशिक्षक फुजा टोपेले मनाङका खेलाडीहरू सवै रुपमा उपाधि जित्नको लागि सक्षम भएको बताए। उनले भने, ‘मैले भारतको मोहम्मदिन क्लबमा हुँदादेखि नै नेपालको खेल हेरेको थिए। मनाङ युवा खेलाडीले भरिएको अव्वल टिम हो। विपक्षी थ्री स्टार पनि निकै राम्रो टिम छ उनले भने, ‘तर हामी अहिलेसम्म भएका सबै कमी-कमजोरी सुधारेर फाइनलमा प्रदर्शन गर्नेछौँ।’

मनाङका कप्तान विराज मर्हजनले थ्री स्टारको बारेमा केही हदसम्म जानकारी भएकाले खेल्नलाई सहज हुने बताए। उनले भने, ‘थ्री स्टारसँग धेरै प्रतियोगितामा प्रतिस्पर्धा गरेका कारण खेल कौशल थाहा छ। एक महिना अघि प्रशिक्षक टोपे आएपछि खेलाडीहरू उत्साहित छन्।’

मनाङले एक महिना अघि मात्र मछिन्द्र तथा भारतीय बी डिभिजन लिगको क्लब मोहम्म्मदेनका पूर्व प्रशिक्षक फुजा टोपेलाई प्रमुख प्रशिक्षकको रुपमा नियुक्त गरेको थियो। बिराजले फाइनल खेल्नका लागि आफ्ना प्रमुख खेलाडी अन्जन बिष्ट फिट रहेकाले शंका नगर्न आग्रह गरे।अन्जन त्रिभुवन आर्मी विरुद्धको सेमिफाइनल खेलमा इन्जुर्ड भएका थिए। 

थ्री स्टारका प्रशिक्षक मेघराज केसीले इतिहासले खेलको आधार तय नगर्ने भएको बताए। उनले भने, ‘फुटबल खेलमा इतिहासले हुन्न एउटा गल्तीले पनि खेलको नतिजामा प्रभाव पर्न सक्छ। त्यसैले शतप्रतिशत हामी जित्छौँ भन्दिन। मनाङ युवा खेलाडीले भरिएकाले खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा छ।’ उनले माइभ्याली गोल्डकपमा समेत रेफ्रीहरूमा परिपक्वता नदेखिएको टिप्पणी गरे। उनले भने, ‘माइभ्याली गोल्डकपमा मात्र होइन पछिल्लो चरणमा नेपालमा आयोजना हुने खेलहरूमा रेफ्रीहरूमा परिपक्वता नदेखिँदा खेलहरूमा विवाद निम्तियो।’ थ्री स्टारका कप्तान निराजन खडकाले शारीरिक र मानसिक रुपमा आफ्नो टिम तयार भएको बताए। 

फाइनलसम्म पुग्नका लागि मनाङले विभागीय टिम त्रिभुवन आर्मी र आयोजकलाई समान १-० ले हराएको थियो भने थ्री स्टारले एपिएफलाई २-० र नेपाल पुलिसलाई ट्राइब्रेकरमा ३-४ गोल अन्तरले हराएको थियो। माइभ्याली गोल्डकपमा दोस्राे पटक सहभागिता जनाएको थ्री स्टार पहिलो संस्करणमा विभागीय टिम आर्मीसँग सडनडेथमा ६-७ गोल अन्तरले पराजित बन्दै उपविजेता बनेको थियो। मनाङ माइभ्याली गोल्डकपको पहिलो पटक फाइनल पुगेको हो। 

मनाङ राष्ट्रिय टोलीका कप्तान विराज मर्हजनको कप्तानीमा बिशाल श्रेष्ठ, कमल श्रेष्ठ, सुजल श्रेष्ठ, अन्जन बिष्ट, हेमन गुरुङ, विशाल राई बी सहित मैदान उत्रदैछ भने थ्री स्टार राष्ट्रिय खेलाडी निराजन खडकाको कप्तानीमा बिमल घर्तीमगर, सुनिल बल, अनन्त तामाङ, रजिन धिमाल, एलन न्यौपाने, बुद्ध चेम्जोङ लगायतका खेलाडी सहित मैदान उत्रने तयारी गरेको छ। 

माइभ्याली गोल्डकपको विजेता टिमले नगद ६ लाख ६६ हजार ६६७ रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले नगद ४ लाख रुपैयाँ प्राप्त गर्नेछ। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले यमाहाको मोटरसाइकल प्राप्त गर्नेछ। प्रतियोगिताको सर्वाधिक गोलकर्तालाई २५ हजार, उदियमान खेलाडीलाई २० हजार र अन्य विधामा १५ हजारका दरले प्राप्त गर्ने छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.