पदाधिकारीका लागि यी नेताको चर्चा

|

काठमाडौं : चुनावी समीक्षाको लागि बोलाइएको नेपाली कांग्रेस केन्द्रीय समिति बैठक विवादका बीच सम्पन्न भएको छ। गुटगत विवादले उग्ररूप लिएको बैठक शनिबार दिनभर बस्न सकेन। तर, नेताहरूको लामो समयकोे प्रयासपछि आइतबार साँझ बैठक बस्यो। करिब एक घण्टामा सहमति गर्दै कैनद्रीय मिति बैठकले पत्रकार सम्मेलनमार्फत निर्णय सार्वजनिक गर्‍यो।

पत्रकार सम्मेलनमा पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले सहमतिकै आधारमा निर्णयहरू सार्वजनिक गर्दै बैठक सकिएको बताए। तर, बैठक सकिएको केहीबेरमै पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवाले बहुमतको आधारमा जवरजस्ती विभिन्न निर्णय गरेको भन्दै आपत्ति जनाए।

आफू निकट केही केन्द्रीय सदस्यलाई पार्टी कार्यालयको एउटा कोठामा बोलाएर बैठकको निर्णयप्रति उनले आपत्ति जनाएका हुन्। वरिष्ठ नेता पौडेलले विशेष गरेर सभापति देउवाले पदाधिकारी मनोनयनका लागि बोलाएको सोमबारको बैठकप्रति आपत्ति जनाएका थिए।

उनी निकट एक केन्द्रीय सदस्यले थाहाखबरसँग भने,‘उहाँ(पौडेल)ले सभापति देउवाले सहमति र सल्लाहबिनै पदाधिकारी बैठक बोलाउनु भएकोमा आपत्ति जनाउनुभयो।’ यस्तै, चुनावमा हारको जिम्मा केन्द्रीय समितिले लिइने बन्ने निर्णयप्रति पौडेलको आपत्ति छ। उनले सभापति देउवाले नै हारको जिम्मा लिनुपर्ने अडान राखेका छन्।

निर्वाचित कन्द्रीय सदस्य तथा पदाधिकारीको बैठक भोलि बस्दै

कांग्रेसले महाधिवेशनपछि तीन पदाधिकारी अझैसम्म मनोनयन गर्न सकेको छैन। महाधिवेशन भएर सभापतिमा देउवा निर्वाचित भएको दुई वर्ष बितिसक्दा पनि मनोनित गर्नुपर्ने उपसभापति, महामन्त्री र सहमहामन्त्री मनोनित गर्न सकेको छैन।

पार्टीको विधानअनुसार दुई महिनामा तीन पदाधिकारी मनोनित गर्नुपर्छ। तर, गुटगत विवादका कारण सभापति देउवाले अहिलेसम्म मनोनित गरेका छैनन्। दुई वर्षपछि बल्ल सोमबार बैठक बोलाएर मनोनित गर्ने तयारी गरिएको छ।

पदाधिकारीमा को-को मनोनित हुन्छन् भन्ने पत्रकारको प्रश्नमा पार्टीका महामन्त्री डा. शशांक कोइरालाले सभापतिको निर्णयअनुसार मनोनित हुने बताए। निर्णय सार्वजनिक गर्न गरिएको पत्रकार सम्मेलनमा उनले भने, ‘सभापतिको बहुमत छ उहाँले कसलाई गर्नुहुन्छ। हामीसँग सल्लाह लिनुभयो भने सल्लाह दिन्छौँ।’

निर्वाचित सदस्यले मात्र पदाधिकारी मनोनित गर्न पाउने कांग्रेसको विधानमा उल्लेख छ। निर्वाचित केन्द्रीय सदस्यमा सभापति देउवाको बहुमत छ। सोमबार बोलाइएको बैठकमा पार्टी विभिन्न गुट\उपगुटबाट पदाधिकारीका लागि सिफारीस आउने सम्भावना रहेको छ।

उपसभापतिमा पार्टी सभापति देउवा गुटका विमलेन्द्र निधिलाई मनोनित गर्ने निश्चित जस्तै रहेको पार्टी स्रोतले जनाएको छ। यस्तै, महामन्त्रीमा पनि पार्टी सभापतिकै वर्श्चस्व रहने निश्चित छ। जसका लागि देउवा गुटका पूर्णबहादुर खड्का र ज्ञानेन्द्रबहादुर कार्कीको नाम चर्चामा छ। खड्का पार्टीका स्वर्गिय नेता खुमबहादुर खड्काको पूर्वगुटका नेता मानिन्छन्। उनी अहिले सभापति गुटमा छन्। यस्तै, सभापति देउवा पत्नि आर्जुराणाले कार्कीलाई महामन्त्री बनाउन सभापतिलाई दबाब दिइरहेको स्रोतको दाबी छ।

यस्तै, सहमहामन्त्रीमा भने देउवा गुटबाट मानबहादुर विश्वकर्मा र डा. प्रकाशशरण महतको नाम चर्चामा छ। यस्तै, पौडेल पक्षबाट महेश आचार्य, नवीन्द्रराज जोसीको नाम चर्चामा छ। महामन्त्री डा. शशांक कोइराला गुटबाट डा. मिनेन्द्र रिजालको नाम चार्चामा छ।

तर, विश्वकर्मा र डा. रिजालको सम्भावना धेरै रहेको बताइएको छ। स्रोतका अनुसार दलित समुदायका भएका कारण विश्वकार्मलाई बनाउदा कसैले विरोध नगर्ने देखिन्छ। यस्तै रिजालप्रति पौडेल पक्ष पनि सकारात्कम देखिएको छ। 

 युवा नेताले यसकारण लेखेनन् ‘नोट अफ डिसेन्ट’

चुनावमा हारको कारण वाम गठबन्धन र टिकट वितरणमा ढिलाई भएको उल्लेख गरेपछि पार्टीका युवा नेताहरू असन्तुष्ट थिए। उनीहरूले पार्टीको बैठकबाट 'नोट अफ डिसेन्ट' लेखेर बाहिरिने निर्णय नै गरेका थिए। पटक-पटक हारको जिम्मा नेतृत्वले लिनुपर्ने  माग गर्दै आएको भएता पनि  नेतृत्वले जिम्मा लिन नमानेपछि युवा नेताहरू असन्तुष्ट भएका थिए।

तर, अन्तिम समयमा आएर युवा नेताहरूले ‘नोट अफ डिसेन्ट’ लेखेनन्। पार्टी एक भएको सन्देश दिने उद्देश्यले त्यसो नगरेको पार्टी एक युवा नेताले जानकारी दिए। उनले थाहाखबरसँग भने,‘ हामीले नोट अफ डिसेन्ट लेखे पार्टी झनै कमजोर हुन्छ, जस्तो लाग्यो त्यसकारण सहमति गरेर अघि बढेका हौँ।’

यसकारण हार्‍यो कांग्रेस

कांग्रेसले लामो समयसम्म संघर्ष गरेको उपब्धिको फल लिन नसकेको बताएको छ। पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आफूहरूकै नेतृत्वमा शान्ति सम्झौता भएको, जनताको लामो संघर्षपछि संविधान बनेको तथा कांग्रेसकै नेतृत्वमा तीनै तहको निर्वाचन सम्पन्न हुँदा पनि त्यसको फल आफूहरूले लिन नसकेको बताएका छन्।

उनले नेकपा एमाले र माओवादी केन्द्र एक भएका कारण पनि निर्वाचनमा हार्नुपरेको बताए। उक्त कुरा पार्टीको निर्णयमा पनि समावेश गरिएको छ। यसैगरी मधेशकेन्द्रित दलकको गठबन्धनका कारण पनि आफूहरूले हार्नु परको कांग्रेसको निर्णयमा उल्लेख छ।

यस्तै, पार्टीले उम्मेदवार चयन गर्दा समयमा उम्मेदवार टुंगो लगाउन नसक्नु, तीनै तहमा पार्टीभित्रबाटै अन्तर्घात हुनु र नेता तथा कार्यकर्ताले अनुशानिहीन क्रियाकलाप गर्नु हारको मुख्य कारण भएको कांग्रेसले स्वीकार गरेको छ। यस्तै, भारतको नाकाबन्दीको समयमा कांग्रेसले बोल्न नसक्नु अर्को हारको कारण भएको जनाइएको छ। त्यसबेला एमालेले चर्को विरोध गरेकाले चुनावमा समेत राम्रो परिणाम ल्याएको कांग्रेसको निष्कर्ष छ।

गच्छदारका कार्यकताको व्यवस्थापन कसरी हुन्छ?

पार्टीभित्रै गुटगत विवादले हैरान बनाएको कांग्रेसलाई अर्को समस्या हो चुनाव अघि मात्रै कांग्रेसमा मिसिएका विजयकुमार गच्छदारको लोकतान्त्रिक फोरमका कार्यकर्तालाई व्यवस्थापन गर्नु। तर, कांग्रेसले एकता गर्नेबेला भएको सहमतिअनुसार नै समायोजन प्रक्रियालाई पूर्णता दिने जनाएको छ।

लोकतान्त्रिक फोरममा रहेका सबै कार्यकर्तालाई कांग्रेसले सबै गतिविधिमा क्रियाशील बनाउने जनाएको छ। गच्छदारसँग आएका सबै कार्यकर्ताको मूल्यांकन गरेर उचित जिम्मेवारी दिइने कांग्रेसले निर्णय गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.