|

ललितपुर : वर्षा र सहकालका देवताका रूपमा पूज्य रातो मच्छिन्द्रनाथको रथयात्राका बेला किन वर्षा हुन्छ? धर्म संस्कृतिमा विश्वास गर्नेहरू यसलाई दैवीशक्तिका रूपमा व्याख्या गर्छन् भने वैज्ञानिकहरू नियमित मौसमी चक्रलाई कारण देखाउँछन् । 

मच्छिन्द्रनाथ र वर्षासँगको तादात्म्य के छ ? यो अलौकिक हो वा प्राकृतिक वा वैज्ञानिक प्रणाली यसमा अध्ययन अनुसन्धान हुन आवश्यक देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलले प्रायः मच्छिन्द्रनाथको रथयात्रा ‘प्री मनसुन’को समयमा हुने गरेको बताए। 

पौडेलका अनुसार ‘प्री मनसुन’को बेला खण्डवृष्टि हुने, चट्याङ् पर्ने एकैछिन घाम लाग्ने त्यसपछि पानी परिहाल्ने गर्छ। मार्च अप्रिल हुँदै मेसम्म मनसुनको सक्रियता बढ्दै जाने र यो अवधिमा वर्षा हुने समेत उनले बताए। 

महाशिवरात्रिका बेला, पखेटा भएका कमिला देखा परेमा र चराचुरुङ्गीले पखेटा फिँजाएर सुत्दा पानी पर्छ भनिन्छ। यस्तै मच्छिन्द्रनाथको रथयात्रा हुँदा पनि पानी पर्छ भनिन्छ यसका विषयमा ज्योतिषीय आधारमा आफ्नै कथन होला तर यी विषय वैज्ञानिक तवरबाट मान्य नभएको जानकारहरूको भनाइ छ। मौसमविद् पौडेलले यी विषयमा अध्ययन अनुसन्धान हुनुपर्ने बताए। 

नेपाल पञ्चांग निर्णायक समितिका सदस्यसचिव एवं पञ्चांगकार ज्योतिष सूयप्रसार्द ढुङ्गेल मच्छिन्द्रनाथको शक्तिले वर्षा हुने गरेको दाबी गर्छन्। ‘मच्छिन्द्रनाथको रथयात्रामा जहिल्यै पानी परेकै हुन्छ', उनी भन्छन्, 'देवताको शक्तिको यथार्थ आजका नवपुस्ताले पनि अनुभव गर्न पाएका छन् यो अलौकिक हो । ’ 

'रथयात्रामा पानी पर्ने नै भएकाले मच्छिन्द्रनाथलाई वर्षा र सहकालका देवता भनेर स्तुति गरिएको हो', उनले भने, 'रथयात्रा गरिएको हो पानी पर्ने मौसम भनेर यात्रा गरिएको होइन।' जाउलाखेल जात्रा व्यवस्थापन समितिका अध्यक्ष बालकृष्ण महर्जन १२ वर्षसम्म वर्षा नभएर अनिकाल लागेपछि भारतको आसामबाट मछिन्द्रनाथलाई नेपालमा ल्याइएको बताउँछन्। त्यसपछि जात्राका बेला वर्षा हुन थालेको उनको भनाइ छ। 

मौसमविद् पौडेलले पृथ्वीको परिक्रमा, आकाशगङ्गा र सौर्यमण्डल लगायतको अध्ययन अनुसन्धानपछि मात्रै मच्छिन्द्रनाथको रथयात्राका समयमा किन पानी पर्छ भनेर भन्न सकिने बताए। हामीले जानेअनुसार यो हावापानीको हिसाबले प्री मनसुनको समय हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.