|

दार्चुला : भारतीय बिमा कम्पनीहरूले नेपाली नागरिकको लाखौं रुपैयाँ फिर्ता गर्न बाँकी रहेको पाइएको छ। प्रदेश ७ का दार्चुला, बैतडी, डडेल्धुरा र कञ्चनपुर सीमा क्षेत्रका नागरिकको रकम फिर्ता गर्न समस्या भएको भारतीय जीवन बिमा निगम पिथौरागढले बताएको छ।

बिमा गरिएको रकम अहिलेसम्म रकम फिर्ता नहुँदा रकम डुब्ने चिन्ता नेपाली नागरिकलाई पर्न थालेको छ। भारतीय बैंकमा खाता भएकाले बिमा गरिएको रकम फिर्ता पाइरहेको पनि खाता नहुनेलाई समस्या भएको बिमाकर्ता महाकाली नगरपलिकाका–६ का दानसिंह ठगुन्नाले बताए। उनले भने, ‘भारतीय बैंकमा खाता छैन, हुलाकमार्फत चेक कहिले आउने हो।’ नेपाली नागरिकलाई भारतीय बैंकहरूमा खाता खोल्ने सुविधा छैन। भारतीय बैंकमा खाता सञ्चालन गर्न आधार कार्ड वा रासन कार्ड आवश्यक पर्दछ।

बिमाकर्ताको नाममा रहेको बैंक खातामा मात्रै बिमा कम्पनीले रकम पठाउने, खाता नभए हुलाकमार्फत नेपालमा चेक पठाउने गरेको जीवन बिमा निगम शाखा पिथौरागढका शाखा प्रबन्धक जिएस धानिकले बताए। उनले भने, ‘नेपालीहरूको भारतीय बैंकमा खाता नहुँदा बिमाबापतको रकम फिर्ता गर्न समस्या भएको हो।’ पत्र पठाउँदा देहरादुन, दिल्ली हुँदै काठमाडौं पठाउने र काठमाडौंबाट सम्बन्धित व्यक्तिसम्म पुग्ने पिथौरागढका पोष्टमास्टर हिरासिंह दानुले बताए। 

हुलाकमार्फत चेक आइपुग्दा चेक साट्ने म्याद नै सकिने भएकाले पुनः चेक पठाउनुपर्ने बाध्यता रहेको शाखाका प्रबन्धक जिएस धानिकले बताए। चेक समय मै पुगे पनि दार्चुलामा रहेका बैंकहरूले अन्तर्राष्ट्रिय चेक भन्दै साट्न नमान्ने स्थानीय बिनोदसिंह कुवँरले बताए। भारतीय बिमाको चेक साट्न दार्चुलामा रहेका बैंकले चेक काठमाडौंमा रहेको राष्ट्र बैंकमा पठाउने गरेकाले बिमाको रकम पाउने नपाउनेमा बिमाकर्ताहरू ढुक्क हुन नसकेको  बिमाकर्ता बिनोदसिंह कुवँरले बताए।

यस क्षेत्रका अधिकांश नेपाली कामको सिलसिलामा भारतको विभिन्न ठाउँमा जाने गरेकोे र उनीहरूलाई बिमा कम्पनीहरूले विभिन्न प्रलोभन देखाएर बिमा गर्न लगाउने गरेका छन्। तर, बिमाबापतको रकम पाउन कानुनी झन्झटले पैसा डुब्ने हो कि भन्ने चिन्ताले उनीहरुलाई सताएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.