|

काठमाडौं : सत्तारुढ नेकपा माओवादी केन्द्रले नयाँ सांगठनिक संरचना निर्माणको तयारी थालेको छ। महाधिवेशन आयोजक समितिको आकार ठूलो हुँदा संगठन विस्तारमा कठिनाइ भएको निष्कर्ष निकाल्दै माओवादी केन्द्रले सानो आकारको सांगठनिक संरचना निर्माण गर्न लागेको हो।

गत जेठ ६ गते विभिन्न १० माओवादी घटकको एकतापछि गठन भएको माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको आकार २१ सय सदस्यीय पुगिसकेको छ। सुरुमा ६९९ जनाको समिति बनाएको माओवादीले त्यसलाई थप गर्दै एक हजार ९९, चाैध सय ९९ हुँदै २१ सय पुर्‍याएको थियो।

आकांक्षीको संख्या अझ बढ्दै गएपछि भद्रगोल बनेको संरचना कसरी घटाउने भन्ने विषयमा छलफल गर्न शनिबार पार्टी मुख्यालय पेरिसडाँडामा माओवादी केन्द्रको केन्द्रीय सचिवालय बैठक बसेको थियो। बैठकमा महाधिवेशन आयोजक समिति भंग गरेर चुस्त केन्द्रीय समिति बनाउने विधिबारे छलफल भएको माओवादी प्रवक्ता पम्फा भुषालले जानकारी दिइन्। 

‘पार्टी अध्यक्षले सरकारको नेतृत्व गरिरहेको बेलामा पार्टी सांगठनमा भद्रगोल बढ्दै जाँदा संगठन विस्तारमा असर परेको देखिएकाले हामीले त्यसलाई घटाउने विषयमा छलफल थालेका छौँ,’ प्रवक्ता भुसालले भनिन्, ‘महाधिवेशन आयोजक समितिलाई भंग गरेर चुस्त, दुरुस्त र सीमित केन्द्रीय समिति बनाउँदा कुन विधिलाई आधार मान्ने भन्ने विषयमा छलफल भइरहेको छ।’

शनिबार बसेको केन्द्रीय सचिवालय बैठकमा बोल्ने सचिवालय सदस्यहरुले विधिको खोजी गरेर चुस्तदुरुस्त संगठन बनाउनुपर्नेमा जोड दिएका थिए।

मतभेद- कसलाई समेट्ने, कसलाई छोड्ने?

माओवादीभित्र सांगठनिक संरचना निर्माण गर्दा कुन विधिलाई आधार मान्ने भन्ने विषयमा मतभेद छ। प्रवक्ता भुसालका अनुसार एकतामा प्रक्रियामा सहभागी हुनुपूर्वका विभिन्न पार्टीका केन्द्रीय सदस्य, अहिलेका सचिवालय सदस्य वा पोलिटब्युरो सदस्यमध्ये कुनचाहिँलाई आधार मानेर केन्द्रीय समिति निर्माण गर्ने भन्ने विषयमा छलफल केन्द्रित छ। 

शनिबारको बैठकमा माओवादी केन्द्रका सचिवालय सदस्य लेखनाथ न्यौपाने, झक्कु सुवेदी, डिलाराम पौडेल सहित डेढ दर्जन नेताहरुले बोलेका थिए।

बैठक आइतबार दिउसो ३ बजे बस्नेगरी स्थगित भएको छ। त्यसअघि बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालय समितिको बैठक बोलाइएको छ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार बनेलगत्तै माओवादी केन्द्रले छोटो अवधिमा उपलब्धिमुलक काम गर्नुपर्ने चुनौती रहेको निष्कर्ष निकाल्दै आगामी पुस तेस्रो सातामा गर्ने भनिएको पार्टीको महाधिवेशन स्थगित गरिसकेको छ।

सम्बन्धित समाचारः 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.