|

जनताले स्थानीय तहको निर्वाचनमा मतदान गरी आफूले चाहेको जनप्रतिनिधि चुनेको एक वर्ष हुन लाग्यो। जनताले गाउँमै सरकार आएको अनुभूति गरे त? कसरी अघि बढ्दै छ जनप्रतिनिधिको विकासको गतिविधि? चुनावी नाराहरू पूरा भए भएनन्? 

१३१.८६ वर्ग किलोमिटर क्षेत्रफल, १४ वटा वडा र ५० हजार ६६४ जनसंख्या रहेको गोरखा नगरपालिकाको विकासका चुनौतीहरू केके छन्? नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गरेका राजनराज पन्त अहिले गोरखा नगरपालिकाका निर्वाचित नगर प्रमुख हुन् । यिनै विषयवस्तुमा केन्द्रित रहेर गोरखा नगरपालिकाका नगर प्रमुख राजनराज पन्तसँग थाहाखबरका लागि सन्तोष अधिकारीले गरेको कुराकानी। 

कसरी बिते ११ महिना? आफैँले गरेको चुनावी घोषणा र प्रतिवद्धता कतिको पूरा गर्नुभएको छ?

चुनावमा घोषणा गरिएका नगर सुधारका योजनाहरूलाई प्राथमिकीकरण गरेर कार्ययोजना तयार गरेको छु। सबै वडामा समानुपातिक विकासको अवधारणा अघि सारेको छु। अल्पकालीन र दीर्घकालीन दुवै योजना एकै साथ जनप्रतिनिधिहरूसँग समन्वय गरी अघि बढेका छन्। शिक्षा क्षेत्रको सुधार, स्वास्थ्यमा सबैको पहुँच, नगरमा एक घर एक धारा, सडक विस्तारसँगै स्तरोन्नति, कृषिमा व्यावसायीकरण, सम्भाव्यता अध्ययन गरी पशुपालनमा जोड, त्यस्तै आयआर्जनमा कसरी वृद्धि गर्ने भन्ने विषयमा केन्द्रित भएको छु। 

चुनावी घोषणापत्र र स्थानीयको आवश्यकता दाँज्दै मैले काम अगाडि बढाएको छु। गोरखा नगरपालिकाले पर्यटनलाई उद्योगकै रूपमा अघि सारेर लैजाने योजना बनाएको छ। त्यसका लागि नगरभित्र र जिल्लाकै पनि पर्यटकीय क्षेत्रको सम्भाव्यता अध्ययनको काम गरेर अघि बढ्ने तयारी भइरहेको छ। 

चुनावी घोषणा पूरा भए त?

चुनावी घोषणामा मैले पूरा गर्नै नसकिने कुराहरू समेटेकै थिइनँ। मैले घोषणा गरेका अल्पकालीन योजनाहरू पूरा हुने चरणमा छन् भने दीर्घकालीन योजनाहरू मेरो कार्यकालको अवधि पाँच वर्षभित्र पूरा गर्ने र जनताले बाहिरी रूपमै अनुभूति गर्न पाउने विश्वासका साथ काम गरिरहेको छु। पाँच वर्षभित्र विकास र समृद्धिको दह्रो खम्बा उभ्याउनका लागि सफल हुने ढंगबाट अगाडि बढिएको छ। 

निर्वाचित भएको एक वर्ष बित्न लाग्यो, किन पूरा गर्न सकिएनन् प्रतिवद्धता?

ठूलो कुरा इच्छाशक्ति र ‘टिम स्पिरिट’ हो, जो मसँग छ। इस नगरलाई पर्यटकीय नगरीको रूपमा स्थापित गर्ने, कृषि क्षेत्रको व्यावसायिकीकरणमा सुधार गर्ने, जनतालाई आत्मनिर्भर बनाउँदै आर्थिक समृद्धितर्फ नगरलाई उन्मुख गराउनु नै मेरो लक्ष्य हो।

१८ वर्षसम्म जनप्रतिनिधिविहीन भएको स्थानीय तहमा नयाँ संरचनाका साथ अगाडि बढ्दै गर्दा विविध कानुन, नियम बनाउँदै नगरमा भएका अभावलाई पूर्ति गरेर अगाडि बढ्ने प्रयास गरिएको छ। सबै कुरा एक वर्षमै उथलपुथल हुने होइन। प्रयास  र योजना कसरी अगाडि बढाइएको छ भन्ने महत्त्वपूर्ण हो। हाम्रो लक्ष्य पनि एक वर्षमै सबै पूरा गर्ने थिएन। पाँच वर्षभित्र केके पूरा गर्न सकिन्छ, त्यही योजनाका साथ लागेका छौँ। 

जनतालाई म यति विश्वास दिलाउन चाहन्छु– गोरखा नगरपालिकाले केही न केही काम भने सम्झनलायक काम गर्नेछ। 

जनप्रतिनिधि भएको हिसाबले गोरखा नगरपालिकाका मुख्य समस्या केके देख्नुभएको छ? 

भूगोलको हिसाबले समथर फाँट र पहाडी क्षेत्र रहेकाले सबै क्षेत्रमा एकै प्रकारका नीति लागू गर्न सकिने अवस्था छैन। धेरै ग्रामीण इलाकाहरू रहेकाले धेरैखाले चुनौती छन्। शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, बिजुली, बजारीकरणको विकास, विद्युतमा काठेपोल, साथै जनताको चेतनाको स्तर पनि उकास्नुपर्ने अवस्था विद्यमान छ यहाँ। 

कसरी समाधान गर्न सकिन्छ ती समस्यालाई? 

अहिलेसम्म गोरखा नगरपालिकाले दुईवटा नगरसभा सम्पन्न गरिसकेको छ। समस्याको समाधान नगरपालिका एक्लैले गर्न सक्ने विषय हुँदै होइन। यहाँका समस्यालाई समाधान गर्नका लागि प्रदेश र संघ सरकारसँग सहकार्य गरेर अगाडि बढ्ने साथै निजी क्षेत्र, विभिन्न राष्ट्रिय, अन्तर्राष्ट्रिय संघसंस्था र नगरवासीहरूकै साथ सहयोगबाट समाधान गर्ने लक्ष्यका साथ अगाडि बढेका छौँ। समस्याहरूलाई मिलेर समाधान गर्न हामी लागिपरेका छौँ। 

स्थानीय तह संचालनमा नीतिगत वा व्यावहारिक केही समस्या छन् कि?

समस्याहरूको त चाङ नै छ। प्रदेश, केन्द्र र स्थानीय तहबीचका अधिकारको सम्बन्धमा रहेका जटिलताहरू पनि छन्। आफ्नै कानुन निर्माण गरेर अगाडि बढ्नुपर्ने अवस्था छ। पाँचवटा ऐन र सातवटा कार्यविधि पास गरेर कार्यान्वयनको चरणमा छौँ। अन्य ऐन, नियम र कार्यविधिसमेत छिटै निर्माण गरेर अगाडि बढ्ने चरणमा छौँ। 

ती समस्यालाई समाधान गर्न कसले के गर्नुपर्छ? 

यो वर्ष आवश्यक ऐन बनाउने र अर्काे वर्षदेखि विकासका कार्यलाई मुख्य स्थानमा राखेर काम गर्ने नगरले तयारी थालेको हो। सोहीअनुसार भइरहेको छ। समस्या समाधानका लागि प्रयास त सबैले गर्नुपर्छ नि! सामूहिक प्रयास भए मात्रै समाधान सम्भव छ। 

तपाईंका अबका पाँच वर्षे विशेष योजना के छन्? ती योजना पूरा गर्ने आधार के हुन्? 

ठूलो कुरा इच्छाशक्ति र ‘टिम स्पिरिट’ हो, जो मसँग छ। इस नगरलाई पर्यटकीय नगरीको रूपमा स्थापित गर्ने, कृषि क्षेत्रको व्यावसायिकीकरणमा सुधार गर्ने, जनतालाई आत्मनिर्भर बनाउँदै आर्थिक समृद्धितर्फ नगरलाई उन्मुख गराउनु नै मेरो लक्ष्य हो। लक्ष्य पूरा गर्ने आधार भनेकै मैले अहिले थालनी गरेका कामहरू हुन्।

नेपालकै एक मात्र गोरखकाली रबर उद्योग चलाउँछु भन्नुभएको थियो? के भयो प्रगति? 

यसको विषयमा उद्योग मन्त्रालयलाई मैले पटक पटक भनेको छु। अहिले फाइल मन्त्रालयमा पुगेर केही कामका लागि अगाडि बढेको जानकारी आएको छ। अब केही समयमै एउटा टुंगोमा पुग्नेछ भन्ने विश्वासका साथ केन्द्रीय सरकारबाट लिनुपर्ने दायित्व लिएपछि हामीले प्रस्तुत गरेका विकासका मार्गदर्शनका साथ नयाँ ढंगबाट रबर उद्योग चलाउनुपर्छ भनेर निरिन्तर लागिरहेका छौँ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.