|

पर्वतः  पानीको अभावमा समस्यामा बस्दै आएका बागलुङको ढोरपाटनबासीलाई नेपाली सेनाले खानेपानी आयोजना निर्माण गरिदिएको छ।

गाउँमा खानेपानीको प्रबन्ध गर्न भन्दै सयौँ पटक सदरमुकाम धाउँदा पनि कसैले वास्ता पास्ता नगरेको ढोरपाटनमा सेनाले खानेपानीको योजना सम्पन्न गरिदिएपछि गाउँलेहरुमा खुसीयाली छाएको छ। सदरमुकामबाट खानेपानीको योजनाको लागि कुनै पहल नभएपछि ढोरपाटनबासीले स्थानीय उत्तरगंगा खोलाको पानी कपडाले छानेर पिउनका लागि प्रयोग गर्दै आएका थिए।

पटक–पटक सदरमुकाम पुगेर योजना माग गर्दा धेरै खर्च भएको तर काम नपाएका स्थानीय यो योजनाबाट लाभान्वित भएका छन्। 

‘नेपाली सेनाको हनुमानध्वज गुल्मले हामीलाई पानी ल्याईदिएर धर्म गरेको छ। खोलाको पानी छोडेर धाराको पानी खाने सपना  बल्ल पूरा भयो,’ ढोरपाटनका होमबहादुर बि.क.ले भने, ‘यो योजनाले दैनिक दुई तीन घण्टाको समय बचाएर अन्य काममा लगाउन पाईने भयो।’ खानेपानी आयोजना निर्माणका लागि जिल्लाका विकासे कार्यालयदेखि खानेपानी डिभिजनमा धेरै पटक धाए पनि कसैले वास्ता नगरेको बि.क.को भनाई छ। उनका अनुसार कतैबाट सहयोग नपाएपछि त्यहाँका ८० घरधूरीले उत्तरगंगा खोलाको पानी खाएर जीवन कटाउन बाध्य भएका थिए। 

कसैलेपनि वास्ता नगरेपछि ढोरपाटनबासीहरुले नेपाली सेनालाई योजना निर्माणको लागि सहयोग गरिदिन आग्रह गरेका थिए। आवश्यक सामाग्रीमा खरीदका लागि केही आर्थिक सहयोग र आप्mनै श्रममा खानेपानी योजनाको सबै काम पूरा गरिदिएको हो। १० लाख रुपैयाँको ट्यांकी र धाराका लागि सामाग्री खरीदबाहेक निर्माणको सबै काम सेनाले श्रमदानबाट बनाईदिएको हो । 

‘हामी यहाँ आएको दुई बर्ष पुग्नै लाग्यो, धेरै मानिसले दुःख पाएको देखेपछि सहयोग गरेका हौं,’ ढोरपाटन शिकार आरक्षको  सुरक्षार्थ बसेको हनुमानध्वज गुल्मपति अमरजंग बस्नेतले भने, ‘नियमित सरसफाई, स्वास्थ्य उपचार लगायतमा पनि स्थानीयलाई सहयोग गरेका छौं।’ 

आयोजनाले लामाथान, थापाटोल र स्यालपाखेका ८० घरलाई खानेपानी सुविधा पुगेको छ। सेनाले फिल्टर प्रणाली समेत बनाईदिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.