|

काठमाडौं : माघ ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कर्मचारी र प्रहरीसँगको सेटिङमा भित्रिएर पनि हराएको ३३ केजी सुन प्रकण र सनम शाक्यको हत्या रहस्यमय बन्दै गएको छ। घटनाको अनुसन्धानका क्रममा प्रहरीकै उच्च अधिकृतहरु भटाभट पक्राउ पर्न थालेपछि घटनाले नाटकीय रूप लिएको हो।

तर, ३३ किलो सुन तस्करका मालिक भनेर चिनिएका मोरङ, उर्लाबारीका चुडामणि उप्रेती ‘गोरे’ र हराएको ३३ किलो सुन कहाँ पुग्यो र गोरे कहाँ छन्? अझैसम्म पनि प्रहरीले उनको भेउसम्म पाएको छैन। घटनाको अनुसन्धान गर्न गठित गृह मन्त्रालयको सहसचिव ईश्वर पौडेल नेतृत्वको छानबिन समितिले हालसम्म २५ जनाभन्दा बढी व्यक्ति पक्राउ गरिसकेको छ। पक्राउ पर्नेमा आधा दर्जन बहालवाला प्रहरी र उच्च प्रहरी अधिकारी रहेका छन्। तर, तस्कर गोरे अझै प्रहरीको फरार सूचीमै छन्। 

छानबिन समितिले आइतबार मात्रै विराटनगर पुगेका अपराध महाशाखाका प्रहरी नायव उपरीक्षक प्रजित केसीलाई पक्राउ गरेको छ। यसअघि, पूर्वप्रहरी नायव महानिरीक्षक (डिआईजी) गोविन्द निरौला, मनवानपुर जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक विकासराज खनाल, इटहरीमा कार्यरत प्रहरी नायव उपरीक्षक सञ्जय राउत, प्रहरी नायव निरीक्षक बालकृष्ण सञ्जेल र प्रहरी जवान विष्णु खड्का पक्राउ परिसकेका छन्। यस्तै, सुन व्यवसायी आरके ज्वेलर्सका मालिक राजेन्द्र शाक्य, जयमातादी डोल्डका सञ्‍चालन पवन अग्रवालसमेत पक्राउ परिसकेका छन्।

केही प्रहरी अधिकारीमाथि समेत छानबिन प्रक्रिया थालिएको छानबिन समितिले जनाएको छ। यसरी सोही घटनामा प्रकाउ हुनेको सख्या २५ जनाभन्दा बढी पुगेको र चूडामणि उप्रेतीको खोजी भएको प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक मनोज न्यौपानेले बताए। तर, उप्रेती भने भारततिर लुकेर बसको प्रहरीको आशंका छ।

तीनको मृत्यु

तस्करीको ३३ किलो सुन विमानस्थलबाट बाहिर ल्याएका थिए थाई एयरवेजमा वरिष्ठ प्राविधिक सानु वनले। वनले ल्याएको सुन एयरपोर्टबाट निस्किएपछि सम्बन्धित व्यक्तिसम्म नपुगी गायब भएको थियो। २२ माघमा सुन गायब भएपछि सुनका मालिन गोरेलगायतको समूहको टर्चर सहन नसकेर उनले गुड्दै गरेको ट्याङ्करमा ठोक्किएर आत्महत्या गरेका थिए।

वनपछि उर्लाबारीका सनम शाक्यको हत्या भएको थियो। उनी गारेको नजिकको सहयोगी थिए। उनीबाट हराएको सुनको सूचना फुत्काउने कोसिसका क्रममा करेन्ट लगाएर टर्चर दिँदा शाक्यको मृत्यु भएको प्रहरी अनुमान छ। शाक्यको शव अपराध महाशाखाको प्रहरी टोलीले इटहरीबाट बरामद गरेको थियो। त्यसलगत्तै पक्राउ परेका बर्दियाको राजापुर नगरपालिका-७ का प्रेमराज चौधरीले महानगरीय प्रहरी वृत्त अनामनगरको हिरासतमा आत्महत्या गरेका थिए।

को हुन् ३३ किलो सुनका मालिक गोरे?

तस्करीको ३३ केजी सुनका मालिक हुन्,मोरङ, उर्लाबारीका चूडामणि उप्रेती। ‘गोरे’ उपनामले चिनिने ‘गोल्ड डन’। प्रहरी उच्च अधिकारीहरूसँगको सम्बन्धले उनी सुन तस्करीको अपराधमा मौलाएका हुन्।

यसअघि पनि उनको नाम पटकपटक सुन तस्करीसँग नजोडिए आउने गरेको थियो। योपटक ३३ किलो सुन हराउनु र सनमको हत्या भएपछि उनी अझ चर्चामा आएका हुन्।

यसरी सार्वजनिक भएको थियो घटना

माघ ९ गते दुबईबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै आएको तस्करीको ३३ केजी सुन सम्बन्धित व्यक्तिसम्म नपुगी गायव भएको हल्ला चलेको थियो। त्यसको करिब एक महिनापछि उर्लाबारीका सनम शाक्यको हत्यासँगै सुन हराएको पुष्टि भयो। सुरुमा सुन तस्कर र शाक्यको हत्या लुकाउन प्रहरीले भूमिका खेलेको आरोप छ। आरोपलगत्तै गृह मन्त्रालयले गृहका सहसचिव ईश्वर पौडेल नेतृत्वको छानबिन समिति बनायो।

छानबिनका क्रममा महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमख वरिष्ठ प्रहरी उपरीक्षक दिवेश लोहोनी, प्रहरी नायव उपरीक्षक प्रजित केसी, र प्रहरी नायव निरीक्षक बालकृष्ण सञ्जेल हेडक्वाटर तानेर अनुसन्धान सुरु गरेको थियो।

यसरी सुरु गरेको छानबिन समितिले आधा दर्जन उच्च प्रहरी अधिकारी र अन्य गरी २५ जनाभन्दा बढी पक्राउ गरिसकेको छ। र अझै घटना अनुसन्धान प्रक्रियामै रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.