|

इलाम : मनाङ मस्याङदी क्लबलाई पराजित गर्दै थ्री स्टार क्लबले सिजनको पहिलो प्रतियोगिता चौथो अन्तर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकपको उपाधि उचालेको छ।

निकै संर्घषपूर्ण बनेको खेलको अतिरिक्त समयको तेस्रो मिनेटमा गोल गर्दै  थ्री स्टारले उपाधि चुमेको हो। निर्धारित समयमा गोलरहित बराबरीमा खेल टुङ्गिएपछि थपिएको समयको तेस्रो मिनेटमा थ्री स्टारका सुनिल बलले गरेको गोल नै निर्णायक बन्यो। जीतसँगै थ्री स्टारले कर काटेर नगद पाँच लाख र ट्रफी पायो।

मनाङले भने तीन लाख रुपैयाँमा चित्त बुझाउनुपर्‍यो। फाइनलको ‘म्यान अफ द म्याच’ उपविजेता मनाङ मस्र्याङ्दीका हेमन गुरुङ घोषित हुँदै नगद १० हजार र चाँदीको मेडल प्राप्त गरे। प्रतियोगिताको उत्कृष्ट खेलाडी उपविजेता मनाङका विराज महर्जन घोषित भए। उनले १५० सिसीको यामाहाको स्कुटर प्राप्त गरे। प्रतियोगिताको सर्वाधिक गोलकर्ता आयोजक माइभ्यालीका मनिस थापा, नेपाल पुलिसका क्लबका रेजिन सुब्बा तथा सशस्त्र प्रहरीको एपिएफका युवराज खड्का र नवीन लामा घोषित भए।

खेल अवधिभर २\२ गोल गरेका उनीहरूले जनही ७ हजार रुपैयाँ प्राप्त गरे। प्रतियोगिताको उत्कृष्ट गोलरक्षक विजेता थ्री स्टार क्लबका एलन न्यौपाने घोषित भए। उनले नगद १५ हजार रुपैयाँ प्राप्त गरे। 

उत्कृष्ट डिफेन्डर विजेता थ्री स्टारका विदेशी खेलाडी पिटर सेगुन, उत्कृष्ट मिडफिल्डर थ्री स्टारकै सुनिल बल, उत्कृष्ट फरवाड थ्री स्टारकै विदेशी खेलाडी अजय मार्टिन र उत्कृष्ट प्रशिक्षक थ्री स्टारकै मेघराज केसी घोषित भए। उनीहरूले जनही नगद १५ हजार प्राप्त गरे। 

त्यसैगरी उदयीमान खेलाडी आयोजक माइभ्यालीका दर्शन गुरुङ घोषित भए। उनले नगद २० हजार प्राप्त गरे। गत ६ बैशाखबाट सुरु भएको प्रतियोगितामा तीन विदेशी सहित नेपालका ‘ए’ डिभिजन क्लब र विभागीय गरी १२ टिमको सहभागिता थियो।  माइभ्याली फुटबल क्लबको आयोजनामा प्रतियोगितामा सञ्चालन गरिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.