|

दमक(झापा) : प्रधानमन्त्रीमा दोस्रोपटक निर्वाचित भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पहिलोपटक मंगलबार गृहजिल्ला झापा आउँदै छन्। दुई दिनका लागि उनी भद्रपुर विमानस्थल हुँदै झापा आउन लागेको एमाले स्रोतले जनाएको छ।

झापा आएपछि उनले जिल्ला समन्वय समिति झापाको जिल्ला सभा उद्घाटन गर्ने छन्। समिति अध्यक्ष सोमनाथ पोर्तेलले प्रधानमन्त्री ओलीले समितिको सभालाई उद्घाटन तथा संवोधन गर्ने कार्यक्रम तय भएको जानकारी दिएका छन्।

यस्तै, उनी मंगलबार दिनभर विभिन्न उद्घाटन र शिलन्यासका कार्यक्रममा व्यस्त हुने छ्न्। ओलीले चारपाने–चैतुबारी–मतिगडा–साधुकुटी–राजगढ साढे १५ किलोमिटर सडकको सडक निर्माण कार्यको शिलन्यास गर्ने कार्यक्रम तय भएको छ।

मध्याह्न १२ बजे लक्ष्मीपुर साधुटार सडक उद्घाटनपछि ओली १ बजे बिरिङ् खोलाको पुल शिलन्यासका लागि पुग्ने छन्। त्यसपछि उनी आफ्नो गृह क्षेत्र झापा क्षेत्र नं. ५ आउने कार्यतालिका नेकपा एमालेले बनाएको छ।

पाडाजुङ्गी–झर्का–गोहाबारी–बालुबथान–चप्रामारी–खजुरगाछी सडकको १० किलोमिटर खण्ड शिलन्यासका लागि अपराह्न ३ बजे कमल गाउँपालिका–५ को पाडाजुङ्गी आइपुग्ने कार्यक्रम रहेको एमाले क्षेत्रीय संयोजक होमबहादुर थापाले जानकारी दिए। पहिलो दिनको अन्तिम कार्यक्रमको रूपमा कमल गाउँपालिकाकै केर्खा चोक पश्चिम ४ बजे पुग्ने ओलीले अमलडाँगी–समयगढ–बाँसबारी–सोलमारी सडकको शिलन्यास गर्ने कार्यक्रम रहेको छ।

गृहनगरमा आधा दर्जन कार्यक्रम

दुई दिने कार्यतालिका बनाएर गृहजिल्ला आएका ओली दोस्रो दिन आफ्नै गृहनगर दमकमा हुने झण्डै आधा दर्जन कार्यक्रममा व्यस्त हुने छन्। उनले नगरपालिकाले घोषणा गरेको पहिलो जाति धिमाल जातिको प्रतिमाको उद्घाटन गर्ने कार्यक्रम छ भने दमक १ मा खानेपानी योजनाको पनि उद्घाटन गर्दै छन्।

यस्तै, दमकको मुख्य बजार क्षेत्रमा निर्माण गरिएको नमुना बजारको पनि ओलीले उद्घाटन गर्ने छन् भने दमक नगरपालिकाको पहिलो नगरसभाबाट निर्णय भएको नगरप्रमुख प्रतिभा सम्मान पनि ओलीले प्रदान गर्दैछन्। 

यो पुरस्कार वरिष्ठ लोकगायक लक्ष्मीप्रसाद जोशीले पाउँदैछन्। पुरस्कारको राशी एक लाख रुपैयाँ छ। यस्तै, दमक नगरपालिका, खेलकुद विकास समितिले आयोजना गरेको दमक गोल्डकपको उद्घाटन समेत प्रधानमन्त्री ओलीलेनै गर्ने छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.