|

पर्वत : अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा सरकारले नेपाली श्रमिकहरुको सम्मानमा सार्वजनिक बिदा दिएको छ। आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम मजदुरको हक हो।

तर कास्कीको अन्नपूर्ण गाउँपालिकाको घान्द्रुक घर भएकी ७५ वर्षीया मशान्ति बिकलाई न मजदुर दिवसले छोएको छ न आराम र मनोरञ्जनको नाराले। सबै दाँत झरेका, बुढ्यौलीले कुप्रिएको शरीर भए पनि उनको पिठ्यूँमा बोरा कहिल्यै टुट्दैन। उनी गाउँघरमा पाइने सागसब्जी, कन्दमुल खोजी गरी बोरामा लगाएर बजारमा बेच्न पुग्छिन्। त्यसबापत आएको पैसाले बिहान–बेलुकाको छाक टार्छिन्। 

उनी सधैं झै मंगलबार पनि पर्वत सदरमुकाम कुश्मा बजारमा बोराभरी निगुरो बोकेर डुलाउँदै र ‘न्युरो आयो न्युरो’ भन्दै डुल्दै थिइन्। लौरीको साहरामा जसोतसो हिँडेकी उनले करिब ३० वर्षअगाडिबाट यसरी नै गाउँठाउँमा पाइने निगुरोे, सतुवा, अम्बा, सुन्तला, सखरखण्ड बजारमा डुलाउँदै आएकी छन्। 

आफ्नो काममा निकै खुसी देखिने मशान्ति भन्छिन, ‘मजदुर सजदुर त मलाई थाहा छैन, आराम गर्ने हो भने त मुखले नि आराम पाउँछ नि फेरि। पेट पाल्नै पर्‍यो, साहुले चामल त्यसै दिए त मलाई पनि बोरा बोक्न के को रहर थियो र’ उनी काम नगरी खान नपाइने भएकाले सधैँ काम गर्दै आएको उनको भनाइ छ।

उनी कम्तीमा पनि सातामा दुई पटक दुई घण्टा लामो समय बसको यात्रा गरेर पर्वत आइपुग्छिन्। त्यसबाहेकका समय उनी गाउँघरमै केही न केही खोजी गरेर बिक्रीका लागि ल्याउँछिन्।

उनी निगुरो प्रतिमुठा ४० रुपैयाँमा बिक्री गर्छिन। एक पटक बजार आउँदा दुई हजार देखि २५ सय रुपैयाँसम्म कमाइ हुने उनी बताउँछिन्। निगुरो आफैले खोजेको भएपनि सतुवा भने साहुबाट खरिद गरेर ल्याउने गर्छिन्। ‘न्युरो बेचेको सबै पैसा त मेरै हो। सतुवा साहुको हो। एक तोलाको एक सय रुपैयाँका दरले बिक्री गर्छु। सतुवाको पैसा साहुलाई बुझाउनुपर्छ।’ उनले भनिन्, ‘सतुवा खोज्न वनमा जान पाइँदैन, वनभरि फोटो खिच्ने क्यामरा राखेको छ अरे। यो त साहूले आफ्नो घरमा लगाएको सतुवा हो।’  

पर्वतकै मोदी गाउँपालिकाको बाजुङमा माइतीघर भएकी मशान्तिको घान्द्रुकमा रहेको घरमा छोरा–बुहारी र तीन जना नातिनातिना छन्। परिवारका सबै सदस्यभन्दा उनकै कमाइ धेरै हुने गरेको सुनाउँदै उनले भनिन्, ‘घरमा ५० वर्षका छोरो छ। छोराबुहारीले गाउँघरमै काम गर्छन्। ती सबैभन्दा त मैले नै धेरै कमाउँछु।’ सरकारले दिएको सामाजिक सुरक्षा भत्ताले मात्र परिवार नपालिने भएपछि सकुन्जेल यसरी नै दुःख गर्ने उनको भनाइ छ। 

मशान्तिका श्रीमानको २२ वर्षअघि नै मृत्यु भएको हो। कास्कीको नयाँपुलदेखि घान्द्रुकसम्मको बाटोमा पर्यटकहरुको भारी बोक्ने काम गर्दागर्दै श्रीमानको मृत्यु भएको मशान्तिले सुनाइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.