|

भक्तपुर : चाँगुनारायण नगरपालिका झौखेलको पीके इँटाभट्टामा इँटा बोक्ने काम गर्ने १५ वर्षीया दिलकुमारी परियारलाई मजदुर दिवस के हो थाहा छैन। चार वर्षदेखि इँटा बोक्ने काम गर्दै आएकी दिलकुमारीले एक हजार इँटा बोकेबापत २५० रुपैयाँ पाउँछिन्। उनी दैनिक तीन हजार इँटा बोकेर दैनिक ७५० रुपैयाँ कमाउँछिन्।

उनी रोल्पाबाट इँटा भट्टामा काम गर्न बर्सेनि आउँछिन्। उनीहरु पैसा कमाउन उनी गाउँकै केही साथीहरुसँग आएकी रहेछिन्। गाउँमै कक्षा ४ सम्म पढेकी परियारले घरपरिवारको स्थिति एकदमै कमजोर भएकाले यो काममा लागेको बताइन्। उनीसँगै उनका दिदी र बहिनी पनि इँटा बोक्ने काममै छन्।

सिजन सकिएपछि घर गएर बुबाआमालाई पैसा दिई उनी पुनः कामको खोजीमा सहर आउँछिन्। उनले अर्काको घरमा लुगा धुने, सरसफाइ गर्ने कामदेखि शौचालय सफा गर्ने काम समेत गरेको बताइन्।

दिलकुमारीले सुरुमा जगातीस्थित एक होटलमा काम गरेकी रहेछिन्। त्यहाँ भाँडाकुडा पखाल्ने काम गर्दा साहुले पेटभरी खान नदिने, कुट्ने, घरको सबै काम लगाउने, कहिलेकाही गिलास फुटायो भनी भोकै राख्ने गरेकाले त्यो काम छाडेर भट्टामा गएको बताइन्।

दिलकुमारीजस्तै सोही भट्टामा काम गर्ने रोल्पाकै अर्का मजदुर दिवस ओली इँटा बोकेरै दैनिक ५÷६ सय कमाउँछन्। १४ वर्षीय दिवसले दुई वर्षदेखि उक्त काम गरेको बताए। जेठा छोरा दिवस घरको आर्थिक स्थिति कमजोर भएकाले पढ्ने रहर हुँदाहुँदै ५ कक्षामै पढाइलाई बिसाएर काम गर्न आएको बताउँछन्। 

‘म घरको ठुलो छोरा हुँ। बा हुनुहुन्न। आमा बिमारी छन्,’ उनले भने, ‘भाइबहिनीलाई कसरी पढाउने, भविष्य कसरी बनाउने, त्यसैले म जे काम गर्न पनि तयार छु।’ उनलाई मजदुर दिवस भनेको के हो भन्ने थाहा नभएको बताए। उनले भने, ‘यो दिवस आएर के हुन्छ?’

त्यस्तै, दैलेख घर भई भक्तपुर भाटेढिकुरस्थित आरके इँटा उद्योगमा काम गर्ने कान्छी तामाङलाई पनि मजदुर दिवसबारे थाहा छैन। पाँच वर्षदेखि इँटा उद्योगमा इँटा बोक्ने काम गर्दै आएकी कान्छीले भनिन्,  ‘मजस्ता गरिब मजदुरलाई मजदुर दिवस भन्दा पनि वर्षदिन हातमुख जोड्ने पैसा कसरी कमाउने त्यतातिर मात्र ध्यान जान्छ, अहिलेसम्म मजदुर दिवस आएको थाहा छैन।’

गरिबीकै कारण मजदुरी गर्न बाध्य यी मजदुरले पाउने ज्यालामा विभेद हुँदा समेत कसैले बोल्ने हिम्मत गर्दैन। घरेलु कामदारको अवस्था त अझै दयनीय छ। यस्ता कामदारको काम गर्ने समयलाई ख्याल गरिएको पाइँदैन। उनीहरुलाई थोरै पैसामा धेरै काम गराइन्छ।

‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ भन्ने नारासहित शुरु भएको मजदुर आन्दोलनको सम्झनामा मे १ लाई विश्व मजदुर दिवसको रुपमा विश्वका मजदुरहरुले विविध कार्यक्रमका साथ मनाउने गरेको छ। तर, दिलकुमारी, दिवस र कान्छीमायाजस्ता काम नगरी हातमुख नजोडिने मजदुर भने दिवसले छोएको पाइँदैन।

भट्टामै काम गर्ने एक जना मजदुरले नाम नबताउने शर्त भने, ‘ज्यालामा गरेको विभेदको विषयमा बोल्यो भने कामबाट हात धुनुपर्ने अवस्था आउने डरले मदजुरहरु जति पैसा दिए नि काम गनुपर्ने बाध्यता छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.