|

धनकुटा : मंगलबार १२९औँ अन्तर्राष्ट्रिय मजदुर दिवस देशभरि विभिन्न कार्यक्रम गरी मनाइँदै छ। विभिन्न राजनीतिक दल आबद्ध मजदुर संगठनहरूले विभिन्न कार्यक्रम आयोजना गर्दै मे १ मनाइरहेका छन्। 

तर, ज्यालादारीमा काम गरेर जीविकोपार्जन गर्ने मजदुरहरुलाई भने मजदुर दिवसले छुन सकेको छैन। मे दिवसका दिन पनि सधैँ झैँ निरन्तर काममा तल्लिन रहे उनीहरु। 

धनकुटाको हिलेमा भेटिएका मजदुरहरु सधैँ झैँ आफ्नो काममा व्यस्त देखिए। हिलेबजारमा मजदुरी गरिरहेका अवस्थामा भेटिएका विकास कटुवाल अरु दिन त परको कुरा मजदुर दिवसका दिन बिहानदेखि बेलुकासम्म काम गर्न बाध्य छन्। 

मजदुरको हक, अधिकार र मजदुरहरुको दुःखको बारेमा कतै कतै सुनेका उनी आर्थिक उपार्जनका लागि सानै उमेरदेखि मजदुरी गर्दै आइरहेको बताउँछन्। उनलाई मजदुर दिवसका बारेमा आफूलाई पूर्ण जानकारी नभएको बताउए। ‘श्रमिक दिवसमा सबैको बिदा हुन्छ भन्छन’ उनले भने ‘खै, हाम्रो त काम गरेपछि मात्रै पैसा आउँछ, नत्र आउँदैन। एक दिन काम नगरे साँझ चुलोे बल्दैन ।’

सानै उमेरबाट मजदुरी गर्दै आएका धनकुटा २ का भगतराम दर्जी अहिले ४० वर्षका भए। उनले पनि मजदुर दिवस भनेको थाहा नै नभएको बताए। विगत लामो समयदेखि अरुको काम गर्दै आएका उनीसँग अहिलेसम्म मजदुर दिवस मनाएको अनुभव छैन।

सदा झैं उनी मंगलबार पनि अरुकोमा मजदुर गरिरहेका थिए। ‘खै कुन चरीको नाम हो मजदुर दिवस? पढ्न लेख्न पाइएन, कसैले भने पछि थाहा हुने हो’ उनले भने।
धनकुटामा विभिन्न राजनैतिक आस्थामा खुलेका मजदुर संघसंगठनहरुले छुट्टाछुट्टै कायक्रम गरे। मजदुरका हक अधिकारका विषयमा चर्का भाषण भए। तर, यिनी जस्ता मजदुरहरुका लागि भने न कहिल्यै मजदुर संघ संगठनहरुले सोचे न त राज्यले नै। 

माओवादी केन्द्र निकट मजदुर संगठन अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य रामप्रसाद बास्तोलाले आफूहरु दुरदराजका मजदुरहरु समक्ष पुग्न नसकेको स्वीकार गर्छन्। त्यस्ता मजदुरहरु समक्ष पहुँच पुर्याउने कार्यक्रम बनाइरहेको र अब चाँडै पुग्ने उनले बताए।

सन् १८८६ मा अमेरिकाको सिकागोमा आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम भन्ने नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर यो दिवस मनाउने गरिएको छ। सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम संगठन एवम् मजदुर नेताको बैठकले विश्व मजदुर दिवस विश्वभर मनाउने निर्णय गरेको हो। 

त्यसयता सन् १८९० देखि हरेक वर्ष अंग्रेजी महिनाको मे १ तारिखका दिन मजदुर दिवस मनाउन सुरु गरिएको हो। विश्वका मजदुरले यस दिवसलाई पर्वका रुपमा लिँदै आफ्ना हकअधिकारको सुनिश्चितताका लागि सरकार वा मालिकलाई दवाव दिने उद्देश्यले विभिन्न कार्यक्रम गरी मनाउने गरेका छन्। नेपालमा भने विराटनगरमा २००७ सालमा मजदुर आन्दोलन भएसँगै यो दिवस मनाउन थालिएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.