|

बाँके : भेरी–बबई डाइभर्सन आसपासका बासिन्दा र कार्यरत मजदुरले डाइभर्सनको कार्यालयमा तालावन्दी गरेका छन्। सहमति अनुसार विकास, निर्माणमा नसघाएको भन्दै स्थानीयले भेरीगँगा नगरपालिका–५ स्थित डाइभर्सनको मुख्य कार्यालयमा तालावन्दी गरेका हुन्। 

आयोजनाको एक चौथाई निर्माण कार्य सम्पन्न भइसक्दा पनि निर्माण कम्पनीले सहमति अनुसारका विकास, निर्माण तथा सरसफाइका काम अघि नबढाएपछि डाइभर्सनको कार्यालयमा तालावन्दी गरिएको सरोकार समितिका अध्यक्ष नविन सारुले जानकारी दिए। आफ्नै अगाडि भएका प्राकृतिक सम्पदाको स्थानीयले नै प्रयोग गर्न नपाउने अवस्था हुँदाहुँदै पनि राष्ट्रिय गौरवको योजना भएकोले साथ सहयोग गर्दै आएको बताए। 

उनले सहमति अनुसारको काम निर्माण कम्पनीले अघि बढाए आन्दोलन फिर्ता लिने र निर्माणको काममा सघाउने स्पष्ट पारे। ‘हाम्रै ठाउँमा भएका प्राकृतिक सम्पदाबाट निर्माण भएका योजनाले हामीलाई फाइदा नपुग्ने भएपछि बाध्य भएर आन्दोलित भएका छौँ,’ उनले भने, ‘सहमति अनुसारका विकास, निर्माणका काम अगाडि बढाए काम गर्ने वातावरण मिलाउँछौँ।’

भेरी नदीको पानी बबई नदीमा मिसाएर बनेको योजनाले बाँके र बर्दियाका जनतालाई मात्र फाइदा पुग्ने र उत्पादन भएको विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोड्ने भएपछि आयोजना निर्माण स्थलका नागरिकका लागि धुलो, धुँवा र ध्वनीका साथै प्रदुषित वातावरणमा बस्ने बाहेक अरु केहि नपाउने उनको भनाई छ। ‘सहमति अनुसारका काम नहुने भए हामीले पाउने उही धुलो, धुँवा र ध्वनी प्रदुषणमात्र त हो नी,’ उनले भने। 

आयोजना निर्माण स्थलका नागरिकलाई सिँचाइ सुविधा प्रदान गर्ने र बाटोघाटो मर्मत, खानेपानी, साना सिँचाइ योजना मर्मत तथा निर्माण, विद्यालय भवन एवम् खेल मैदानको व्यवस्था गर्ने सहमति स्थानीयसँग भएको थियो। तर, अहिलेसम्म कुनै पनि निर्माण कायृ अगाडि नबढेको स्थानीयले गुनासो गरेका छन्। ‘निर्माण कम्पनीका प्रमुखहरू काठमाडौँमा बस्ने र सोझासाझा नागरिकलाई झुठा आश्वासनका ललिपल देखाउने र विकासका नाममा काम चलाउ कार्य देखाउँदै आँखामा छारो हाल्ने काम बाहेक अरु केहि भएन,’ मजदुर यूनियनका प्रेम महतराले भने। 

उनले निर्माण कम्पनीले मजदुरलाई उचित ज्याला नदिएको र विरोध गरे कामबाट हटाउने गरेको समेत गुनासो गरे। निर्माण कम्पनीले स्थानीयलाई रोजगारी दिने सहमति गरे पनि विभिन्न बहानामा हटाएर रोजीरोटी खोस्ने गरेको महतराले बताए। ‘निर्माण कम्पनीले शोषण, अत्याचार गरे पनि भेरी–बबई डाइभर्सनले टुलुटुलु हेर्ने सिवाय समस्या समाधानका लागि कुनै पहल नगरेपछि आयोजनाको कार्यालयमा तालाबन्दी गर्न बाध्य भएका हौँ,’ उनले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.