लाइन लागेर बुझे माननीयले भत्ता

|

सुर्खेत : संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयको संयुक्त आयोजनामा मंगलबार वीरेन्द्रनगरमा एक कार्यक्रम ग¥यो। ‘स्थानीय तहमा स्वास्थ्य अभिमुखीकरण तथा प्रदेश स्तरीय स्वास्थ्य नीति, कानुन तर्जुमा सम्बन्धी छलफल’ नामक उक्त कार्यक्रम कर्णाली प्रदेशकै सबैभन्दा महँगो सिद्धार्थ रिसोर्टमा गरिएको हो। बिहानको खाजा र ‘लन्च’को पनि व्यवस्था गरिएको कार्यक्रमको ढाँचा हेर्दा एनजीओे, आईएनजीओको आयोजनामा भएको कार्यक्रमभन्दा कम थिएन।

पुरानो संरचनाको  मध्यपश्चिमाञ्चल क्षेत्रीय सदरमुकाम वीरेन्द्रनगरमा कार्यक्रम गर्न सरकारी सभाकक्षको कमी छैन। भर्खरै प्रदेशसभामा विनियोजन विधेयक प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले प्रदेश सरकारले मितव्यतिताको रणनीति अपनाएको बताएका थिए। 

महँगो रिसोर्टमा गरिएको उक्त कार्यक्रममा कार्यक्रममा प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, आर्थिक मामिल तथा योजना मन्त्री प्रकाश ज्वाला, सामाजिक विकास मन्त्री दल रावल, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री बिमला केसी, पर्यटन मन्त्री नन्दसिंह बुढा, भौतिक योजना मन्त्री खड्कबहादुर खत्री उपस्थित थिए। कर्णाली प्रदेश सरकारका सात मन्त्रीमध्ये आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारी मात्र अनुपस्थित थिए। मन्त्रीका साथै प्रदेशका प्रायः सांसद उपस्थित थिए। कार्यक्रम सकिए लगत्तै सांसदहरुले लाइन लागेर भत्ता पनि बुझे। 

विरोध गर्दै, भत्ता बुझ्दै

सरकारले बनाउने प्रदेश स्तरीय नीति तथ कार्यक्रम तर्जुमाका लागि सुझाव माग्न कार्यक्रमको तय गरिएको भनिए पनि सुत्केरीसम्बन्धी प्रवचन र स्वास्थ्यसम्बन्धी सामान्य टिप्स दिएर टारिएको भन्दै कर्णाली प्रदेश कांग्रेस सचेतक हिमबहादुर शाहीले आपत्ति जनाए।

‘कम्तमीा पनि कार्यक्रममा को सहभागी हुन्छन्, कसको के भूमिका हो आयोजकले थाहा पाउनुपथ्र्यो,’ उनले भने, ‘कार्यक्रमको विषयवस्तु राम्रो भए पनि कम्तीमा सांसदको मर्यादा राख्नुपर्ने, खाली भााषण मात्र सुनाउने?’ यति भन्दै उनी कार्यक्रम स्थल छाडेर हिँडे। तर, भत्ता भने छुटाएनन्। कांग्रेसका सांसदहरू पनि उनकै पछि लागे।

सांसद ठम्मर विष्टले कार्यक्रमको व्यवस्थापनप्रति आपति जनाए। ‘यति महत्वपूर्ण कार्यक्रमलाई यस्तो भद्रगोल किन बनाइयो?’ उनले भने, ‘सानातिना प्रस्तुति दिएर हामीलाई तालिम दिन खोजिएको हो कि!’

अर्का सांसद दानसिंह परियारले सांसदहरूबाट सुझाव लिन कार्यक्रम आयोजना भएको जस्तो लागेको बताए। ‘यहाँ त कक्षा दिन पो बोलाइएछ त!’ उनले भने, ‘सुझाव माग्ने भए त्यहीअनुसार कार्यक्रम गर्नुपर्थ्यो।’

सरकारको बचाउ 

सांसदहरुले कार्यक्रमबारे आपत्ति जनाएपनि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कार्यक्रमको उद्देश्य एकदम राम्रो भएको र राम्रो सल्लाह सुझाव आएको बताए। उनले भने, ‘कार्यक्रममा राम्रो सल्लाह सुझाब आएको छ, सरकारले यसलाई सकारात्मक रुपमा लिन्छ।’ 

त्यस्तै, सामाजिक विकास मन्त्री दल रावलले कार्यक्रममा विविध विचार आएको भन्दै सबैलाई आफ्नो धारणा राख्ने अधिकार भएको बताए। उनले भने ‘फूलको आँखामा फूलै संसार, काँडाको आखाँमा काँडै संसार।’ व्यवस्थापनमा केही त्रुटि हुन सक्छन, जसलाई स्वभाविक रुपमा लिनुपर्ने मन्त्री रावलले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.