|
फाइल फाेटाे

काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्रले जवज र एमालेले जनयुद्धलाई स्वीकार गरेर अघि बढ्ने सहमति भएको बताएका छन्।

पेरिसडाँडास्थित माओवादी पार्टी कार्यालयमा बसेको हेडक्वाटर बैठकपछि पत्रकारहरुलाई ‘ब्रिफिंग’ गर्दै अध्यक्ष दाहालले एकता संयोजन समितिले टुंग्याउन नसकेको जवज र जनयुद्धमा सहमति भएको बताएका हुन्। 

सहमति हुन बाँकी विषयमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष दाहालबीच बिहीबार बैठक बसेर टुंग्याउने निर्णय भएको माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले जानकारी दिइन्।

‘एमाले जनयुद्धलाई स्वीकारेको छ, हामीले एमालेको जबजाई पनि स्वीकारेका छौं,’ भुसालले भनिन्, ‘बाँकी विषयमा दुबै अध्यक्षहरुको भोलिको विशेष बैठकले टुंगो लगाउँछ।’

पार्टी एकता प्रतिशतको आधारमा नभइ न्यायोचित रुपमा हुनु पर्ने समेत बैठकले निर्णय गरेको प्रवक्ता भुसालले जानकारी दिइन्। ‘प्रतिशतको कुरा होइन, न्यायोचितको कुरा गरेका छाैँ।’ भुसालले भनिन्।

मंगलबार मजदुर दिवसको अवसर पारेर आयोजना गरिएको एउटा कार्यक्रममा माओवादी अध्यक्ष प्रचण्डले २२ गतेसम्म एकताले सार्थक रुप लिने बताएका थिए। उनले २२ गते नै पार्टी एकता हुन सक्ने संकेत समेत दिएका थिए।

त्यसको भोलिपल्टै बुधबार माओवादीको हेडक्वाटर बैठकबाट यस्तो कुरा सार्वजनिक भएको हो। सम्भवत विहीबारको बैठकमा ओली र प्रचण्डले एकता प्रक्रियालाई ‘फाइनल टच’ दिनेछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.