|

धनकुटा : देशमा बेरोजगारी समस्या बढेको भन्दै वैदेशिक रोजगारमा जाने युवाको संख्या दैनिक बढिरहेको छ। तर, प्रदेश १ को पर्यटकीय क्षेत्र धनकुटाको भेंडेटारमा सञ्चालित होटलहरुमा एक हजार जनाभन्दा बढी युवाले रोजगार पाएका छन्। होटलसम्बन्धी तालिम प्राप्त युवाहरूले यहाँका होटलमा आकर्षक तलबमा रोजगारी पाइएको छ।

साना तथा ठूला गरी करिब डेढ सय होटल रहेको भेंडेटारका प्रत्येक होटलमा कम्तीमा पाँचदेखि दश जनाले रोजगारी पाइरहेको होटल एसोसियसन अफ भेंडेटारका सचिव जितेन्द्र रुम्दालीले बताए। ‘रोजगारीका लागि युवा विदेशिने क्रम बढिरहेका बेला भेंडेटारले मात्र एक हजारभन्दा बढीलाई रोजगारी दिनु ठूलो कुरा हो,’ उनले भने, ‘सरकारले यस क्षेत्रमा शिक्षा, स्वास्थ्य, सञ्चार, विद्युत्, पानीलगायतका पूर्वाधारको विकास गरिदिए थप टेवा पुग्थ्यो।’

होटल व्यवसायका लागि प्रदेश १ को राजधानी भनेर चिनिन थालेको भेंडेटारमा नयाँ होटल खुल्ने क्रम जारी छ। यस क्षेत्रमा बर्सेनि १० देखि १५ को संख्यामा नयाँ होटल खुल्ने गरेका छन्। तालिम प्राप्त युवाले यहाँका होटलबाट १८ हजार रुपैयाँसम्म तलब पाउने गरेका छन्। नयाँ होटलहरु रोजगारी अवसर प्रदान गर्दै आएको भेंडेटारको अरुण टप होटलका सञ्चालक रमेश श्रेष्ठले बताए। केही समयअघि मात्रै सञ्चालनमा आएको श्रेष्ठको होटलमा ११ जनाले रोजगारी पाएका छन्।

गर्मी हुने तराई विराटनगर, इटहरी, धरानलगायतका क्षेत्रका सबैभन्दा नजिकको दूरीमा हिमाली वातावरण पाइने भेंडेटारमा गर्मीको समयका पर्यटकको संख्या पनि बाक्लिने गर्छ। अहिले दैनिक छ सयको हाराहारीमा पर्यटक घुम्न आउने गरेको होटल एसोसियसन अफ भेंडेटारका अध्यक्ष लिलाराज लावतीले बताए। पर्यटक बाक्लिएसँगै होटल व्यवसायमा लगानी समेत बढ्दै गएको छ। 

भेंडेटारका होटल तथा रिसोर्टमा बाँस, काठ र बाँसका जराबाट बनेका कलात्मक वस्तुको अवलोक पनि गर्न पाइन्छ। पुराना र कामै नलाग्ने टायर, काठ, र फलामका डण्डी प्रयोग गरेर बनाइएका टेबल र कुर्सीले समेत ग्राहकको मन तान्ने गरेको छ। रिसोर्टहरुमा प्रयोग भएका अधिकांश टेबल र कुर्सी बाँसबाट बनेका छन्। 

बढ्दैछन् ठूला होटल

तराई क्षेत्रको नजिकको मुख्य गन्तव्य मानिने भेंडेटारमा पर्यटकको संख्या बाक्लिँदै जाँदा होटलहरुको संख्यामा पनि बढ्दै गएको छ। सुनसरी र धनकुटा जिल्लाको सीमानामा भेंडेटार रहेको छ। 

आन्तरिकका साथै भारतीय पर्यटकको गन्तव्य स्थलका रूपमा स्थापित भेंडेटारमा चिसो मौसममा रात बिताउने तथा विभिन्न गोष्ठी, सेमिनार र तालिमहरु यहाँ आयोजना हुन थालेपछि ठूला होटल थपिने क्रम तीव्र बनेको हो। सुविधायुक्त होटल बनेकाले विराटनगर, इटहरी र धरानमा सञ्चालन गर्नुपर्ने गोष्ठी, सेमिनार र तालिमहरु अहिले भेंडेटारमा सञ्चालन हुन थालेका छन्। यस्ता कार्यक्रमका लागि एक साताअघि नै बुकिङ नगरे पाउन कठिन हुने होटल एसोसियसन अफ भेंडेटारका सचिव रुम्दालीको भनाइ छ।

धरानबाट आधा घण्टाको यात्रापछि चिसो मौसमको अनभूति गर्न पाइने भएकाले पनि धरान तथा तराईका मानिस चिसोको रमाइलो लिन भेंडेटार पुग्ने गरेका छन्। वनभोजको मौसममा त यस क्षेत्रमा मानिसको पाइलो राख्ने ठाउँ नै हुँदैन। भेंडेटारमा रहेको भ्यू टावरमा गएर चिसो आनन्दसँगै पूर्वी तराईका हरियाली फाँटसँगै पूर्वी पहाडी क्षेत्रमा रहेका पहाडी दृश्यका साथै हिमश्रृङ्लाको दृश्यावलोकन गर्न सकिन्छ। 

पछिल्लो समयमा यहाँ ठूला र सुविधा सम्पन्न २५ वटा होटल थपिएका छन्। एक करोड रुपैयाँभन्दा बढी लगानीमा निर्माण भएका यस प्रकारका होटलले आगन्तुक पाहुनालाई आवश्यकताअनुसारका सुविधा प्रदान गर्दै आएको होटल एसोसियसन भेंडेटारका सचिव रुम्दालीले दाबी गरे। निर्माण भइसकेका होटलमध्ये ग्रीन हेभन, होटल भेंडेटार भ्यू, अरुण भ्यालीलगायका होटल ठूला होटलका रूपमा परिचित छन्।

भेंडेटारमा आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढ्न थालेपछि होटलहरु खुल्ने क्रम तीव्र भएको होटल एसोसियसन अफ भेंडेटारका अध्यक्ष लावतीले बताए। उनले भने, ‘बाह्रै महिना चिसो हावा चल्ने भेंडेटारमा पहिले पहिले त पर्यटकहरु घुम्न आएर फर्कने गर्थे, तर अहिले यतै वास बस्न थालेपछि होटलको संख्या पनि बढ्न थालेको हो।’ पर्यटक आउन थालेपछि अन्य व्यवसायको तुलनामा होटल व्यवसायबाट आम्दानीसमेत बढेकाले नयाँ होटलहरु खुल्ने क्रम बढिरहेको होटल व्यवसायी गजेन्द्र मणि राईको भनाइ छ। 

पहिले पहिले ५० जनासम्म पर्यटक बास बस्न आउँदा सुत्ने कोठाको अभाव हुने भेंडेटारमा अहिले अढाइ सयभन्दा बढीलाई सजिलै सुत्ने कोठाको व्यवस्था हुन्छ। यहाँ खाने बस्ने व्यवस्था भएको होटलको संख्या तीन दर्जनभन्दा बढी छन्। यहाँका होटलमा दैनिक दस लाख रुपैयाँ बराबरको आर्थिक कारोबार हुने व्यवसायीहरुका् भनाइ छ। 

जिल्लाभित्र रहेका पर्यटकीय स्थलहरुको पहिचान र प्रवर्द्धन हुन थालेपछि होटल खुल्ने क्रम बढेको हो। धनकुटाको सदरमुकाममा मात्रै तीन दर्जनभन्दा होटल तथा लज सञ्चालनमा रहेको होटल एसोसियसन अफ धनकुटाका अध्यक्ष खगेन्द्रकुमार विष्टले जानकारी दिए। यहाँ सञ्चालनमा रहेका होटलहरुमा मुर्चुङ्गा, सुरभी, लालीगुराँश, अञ्जुली, गुडविल, दियालो, परिचय, मकालु चर्चित छन्। 

यस क्षेत्रमा आदिवासी जनजातिहरुको बाक्लो वस्ती रहेकाले उनीहरुको भाषा, संस्कार, संस्कृतिले पनि पर्यटकहरु लोभिने गरेको होटल लालीगुराँसका सञ्चालक राजु डंगोलले बताए। धनकुटा बजार र हिले बजारमा २० लाखदेखि दुई करोडसम्मको लगानीमा खुलेका छन्। धनकुटामा साना ठूला गरेर पाँच सयभन्दा बढी होटल सञ्चालनमा रहेको उद्योग वाणिज्य संघका अध्यक्ष उमेश घिमिरे जानकारी दिए।

जिल्ला सदरमुकाम आसपासमा चुलिवन, सल्लेरी वन, ठूलो घर, क्षेत्रीय संग्रहालय, निशानथान देवी मन्दिर, देउराली वन लगायतका पर्यटकीय क्षेत्र रहेका छन्। यी पर्यटकीय क्षेत्रहरुमा पर्यटकको पहुँच बढाउनका लागि भौतिक पूर्वाधार र प्रचारप्रसारको काम भइरहेको पर्यटन पूर्वाधार विकास संस्थाका अध्यक्ष समेत रहेका होटल एसोसियसन अफ धनकुटाका अध्यक्ष विष्टले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.