|

बाँके : आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति तय भएसँगै बाँके खेलमय भएको छ। आठौं राष्ट्रिय प्रतियोगितालाई लक्षित गर्दै यहाँका स्थानीय तह, विभिन्न संघसंस्था र क्लबले धमाधम खेलकुद प्रतियोगिता गर्न थालेपछि बाँके खेलमय भएको हो।

यसअघि फाटफुट मात्र खेलकुद प्रतियोगिता हुने बाँकेमा पछिल्लो समय हरेक दिन एउटा न एउटा प्रतियोगिता भइरहेका छन्। राष्ट्रिय प्रतियोगिताको मिति र स्थान तोकिएपछि मंसिर यता बाँकेमा झण्डै दुई दर्जन प्रतियोगिता भएको मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीले बताए। 

आगामी मंसिरमा नेपालगंजमा हुने आठौं राष्ट्रिय प्रतियोगितालाई लक्षित गरी यहाँका क्लब, संघसंस्था, व्यापारी, व्यवसायी र खेलकुद संघले स्वस्फूर्त रूपमा प्रतियोगिता गर्न थालेको ओलीको भनाइ छ। जिल्ला र क्षेत्रीय स्तरका प्रतियोगिताले राष्ट्रिय प्रतियोगिताको प्रचारप्रसार र आकर्षण बढाउन मद्दत गरेको क्षेत्रीय खेलकुद विकास समितिका उपाध्यक्ष नरेन्द्र थापाले बताए।

यहाँ नेपालगन्ज कप क्रिकेट प्रतियोगिता, नेपालगन्ज मेयर कप रात्रिकालिन कबड्डी, कर्मचारी–जनप्रतिनिधि ब्याडमिन्टन प्रतियोगिता, खजुरा गाउँपालिका स्तरीय भलिबल प्रतियोगिता सम्पन्न भइसकेका छन्।

त्यस्तै, पुरुष खुल्ला भलिबल, बुम रेमिट जिल्ला स्तरीय अन्तर छात्र क्रिकेट, जिल्ला स्तरीय कबड्डी, पिस म्यारथन, प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिता भर्खरै सम्पन्न भएका छन्। क्षेत्रीय खेलकुद विकास समितिका अनुसार गत मंसिरदेखि हालसम्म बैजनाथ गाउँपालिका स्तरीय फुटबुल, न्यु डाँफे कप फुटबल, जुनियर राष्ट्रिय एथ्लेटिक्स, सेतु बिक स्मृति कप क्रिकेट, चौका कप क्रिकेट, पुरुष भलिबल प्रतियोगिता सम्पन्न भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.