थाहा संवाद : स्थानीय सरकार

प्रतिबद्धताअनुसार काम गर्न विलम्ब भएकै हो : शुक्लाफाँटा नगर प्रमुख ऐर
SHARES

बैशाख १९, २०७५

    कञ्चनपुरको मध्य भागमा अवस्थित छ शुक्लाफाँटा नगरपालिका। साबिक झलारी, पिपलाडी र देखतभुली गाउँविकास समितिका २ र ४ वडा समायोजन गरी नगरपालिका बनाइएको हो।

    यस नगरपालिकामा १२ वटा वडा छन्। नगरपालिकामा सबै जातजाति र धर्मका समुदायको मिश्रित बसोवास छ। ४६ हजार सात सय ७६ जनसंख्या रहेको नगरपालिकामा मणिका धाम, सुनदेउ ताल, कृष्णसार संरक्षित क्षेत्र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण छन्।

    शुक्लाफाँटा नगर प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार दिलबहादुर ऐर छन्। २०३६ सालमा डडेल्धुराको अजयमेरु गाउँपालिकामा रहेको सहस्रलिंग उमाविमा पढ्दै गर्दा राजनीति प्रवेश गरेका ऐर समाजसेवीका रूपमा समेत परिचित छन्।

    ऐर २०५० देखि २०५४ सम्म दुईपटक कांग्रेसको क्षेत्रीय सभापति र २०५६ देखि निरन्तर जिल्ला सदस्य रहँदै आएका छन्। नगर प्रमुख ऐरसँग स्थानीय तह सञ्चालन, चुनावी प्रतिबद्धता कार्यान्वयनलगायतका विषयमा थाहा संवाददाता राजेन्द्र पनेरूले गरेको कुराकानीः 

    चुनावका वेला तपाईंले के कस्ता प्रतिबद्धता जनाउनुभएको थियो?

    चुनावका वेला ३४ वटा प्रतिबद्धता लिएर जनतामाझ गएको थिएँ। सडकको बिग्रँदो अवस्थामा सुधार, भू-क्षय नियन्त्रण, शिक्षाको गुणस्तरमा सुधार, शुद्ध खानेपानी, स्वास्थ्य सेवा सहज पहुँच, युवालाई रोजगारीलगायतका प्रतिबद्धता गरिएका थिए।

    ती प्रतिबद्धता चुनावका लागि मात्र थिए कि पूरा पनि हुन्छन्?

    चुनावमा गरिएका प्रतिबद्धता पूरा गर्न कै लागि हो। त्यसमध्ये केही पूरा भएका पनि छन्। केही पूरा हुने क्रममा छन्। स्थानीय तहले पूरा गर्न नसक्ने योजनाहरू प्रदेश र केन्द्र सरकारसमक्ष पेस गर्दै छौँ। सडकको अवस्था सुधार, खानेपानीका योजनालगायतका सञ्चालन भइसकेका छन्। योजना सञ्चालन हुन नसकेका वडाहरूमा सर्भेको कार्य भइरहेको छ। गुणस्तरीय शिक्षाका लागि सामुदायिक विद्यालय सुधार योजना बढाएका छौँ। नगरवासीलाई सहज रूपमा स्वास्थ्य सेवा दिन २४ घण्टे प्रसूति सेवा र प्रयोगशाला स्थापना गरी सञ्चालनमा ल्याएका छौँ।

    कार्यभार सम्हालेको दश महिना बित्नै लागेको छ। यस अवधिमा कस्ता कस्ता चुनौतीको सामना गर्नुपरेको छ?

    गुणस्तरीय शिक्षाका लागि सामुदायिक विद्यालय सुधार योजना बढाएका छौँ। नगरवासीलाई सहज रूपमा स्वास्थ्य सेवा दिन २४ घण्टे प्रसूति सेवा र प्रयोगशाला स्थापना गरी सञ्चालनमा ल्याएका छौँ।

    निर्वाचित भएर आएपछि जुन ढंगले कार्य अगाडि बढाउने सोच अघि सारेको थिएँ। त्यसमा केही विलम्ब भएकै हो। अगाडि बढ्न केही कानुनी अडचन आएका छन्। त्यसको निराकरणका लागि केही कानुन बनेर कार्यन्वयनमा आएका छन्। केही बन्ने क्रममा छन्। आवश्यक नियमावली, निर्देशिका, कार्यविधि र ऐनले पूर्णता पाएपछि कार्य गर्न सहज हुनेछ।

    यहाँको प्रमुख समस्याको रूपमा रहेको नदी नियन्त्रणका लागि ठूलो योजनाको आवश्यकता छ। यसका लागि प्रदेश र केन्द्र सरकारलाई गुहारेका छौँ। कर्मचारी नहुँदा पनि समस्या भएको छ।

    वडाबाटै जनतालाई सहज रुपमा सेवा दिन कर्मचारी खटाएका छौँ। अझै केही वडामा कर्मचारी पुगेका छैनन्। आरक्ष विस्थापित, बाढी विस्थापित, सुकुम्बासी, मुक्त कमैया र मुक्त हलियाका समस्या छन्। यी समस्या सम्बोधन गर्न घनिभुत रूपमा लागे पनि प्रदेश कानुन नबन्दासम्म पूरा हुन सक्ने देखिँदैन।

    गर्व गर्ने के के काम गर्नुभयो त?

    जनतालाई महसुस हुने गरी विकास गर्न ८० प्रतिशत बजेट वडामा पठाएका छौँ। सडकको अवस्था सुधार गर्न ग्राभेल, सडक चौडा, स्ल्याब कल्भट बनाउने, कालोपत्रे जस्ता काम बढेका छन्। चुनावअघि ७० प्रतिशत घरमा मात्रै विद्युत् थियो। हाल ९९ प्रतिशत जनताको घरमा विद्युत् पुर्‍याएका छौँ।

    झलारी, कलुवापुर र वनसमिति बजार क्षेत्रमा फोहोर व्यवस्थापन नहुँदा नगरबासीले सास्ती खेप्दै आएका थिए। हाल बजार सरसफाइ गरी चिटिक्क बनाएका छौँ। स्वास्थ्य संस्थामा हुने औषधि अभाव हुन दिएका छैनौँ। ज्येष्ठ नागरिक, अपांगता भएका र एकल महिलाले सामाजिक सुरक्षा भत्ता बुझ्न टाढाको बैंकसम्म पुग्नुपर्‍थ्यो। भत्ताको रकम वडामार्फत घर दैलोमै बाडने व्यवस्था गरेका छौँ। तीनवटा वडा कार्यालय भवन निर्माण थालेका छौँ।

    वडाबाटै जनतालाई सहज रूपमा सेवा दिन कर्मचारी खटाएका छौँ। अझै केही वडामा कर्मचारी पुगेका छैनन्। आरक्ष विस्थापित, बाढी विस्थापित, सुकुम्बासी, मुक्त कमैया र मुक्त हलियाका समस्या छन्। यी समस्या सम्बोधन गर्न घनिभूत रूपमा लागे पनि प्रदेश कानुन नबन्दासम्म पूरा हुन सक्ने देखिँदैन।

    खानेपानीका ठूला योजना सञ्चालनका लागि वडा-वडामा काम अघि बढेका छन्। छाडा चौपायाको व्यवस्थापन गरेका छौँ। नगरसभाबाटै बजेट व्यवस्था गरी छाडा चौपायाको समस्या स्थायी रूपमा समाधान भएको छ।

    नगरवासी जंगली जनावरको आतंक सहन बाध्य छन्। यसको निराकरणका लागि केही योजना छन्?

    शुक्लाफाँटा नगरपालिका निकुञ्ज, सामुदायिक वन र राष्ट्रिय वनले घेरिएको छ। जंगली जनावरले यहाँका बासिन्दालाई निकै सास्ती दिने गरेका छन्। जंगली जनावरले बालीनाली नोक्सानी गर्ने त छ नै। ठूलो समस्याका रूपमा जंगली हात्तीको झुण्डले बस्ती छिरेर पुर्‍याउने विध्वंस नै हो। यसको निराकरणका लागि वडा ५ र ३ मा ठूलो क्षमताका विद्युतीय बल्ब राखेका छौँ। निकुञ्ज कार्यालयसँग मिलेर फेन्सिङ गर्ने योजना पनि छ। हात्तीको झुण्डले घर भत्काएका अन्नवालीमा नोक्सानी गरेका सयभन्दा बढी परिवारलाई बिउ खरिदमा सहयोग गरेका छौँ। जंगली जनावर नियन्त्रणका लागि निकुञ्ज, वन र नगरपालिकाको संलग्नतामा पटकपटक छलफल भएका छन्।

    तपाईंले चाहेर पनि दश महिनामा गर्न नसकिएका काम के के हुन्? 

    बर्षौंदेखि चलनभोग गर्दै आएको जग्गाको स्वामित्व जनतासँग छैन। जग्गा नापी गरेर जग्गाधनी प्रमाणपत्र उपलब्ध गराउन चाहेर पनि गर्न सकिएको छैन। यसका लागि प्रदेश र केन्द्रले बनाउने नीति, योजना र कानुनको पखाइमा छौँ। कानुन आएपछि यी समस्यालाई पहिलो प्राथमिकतामा राख्‍नेछौँ।

    अर्को समस्या बेरोजगारी हो। युवालाई रोजगार दिनका लागि पर्याप्त साधन स्रोतको कमी छ। आर्थिक स्रोतको कमीले नदी नियन्त्रणका ठूला योजनालाई मूर्तरूप दिन सकिएको छैन। १० देखि १५ लाखसम्मका तटबन्धका योजना अगाडि बढे पनि ती पर्याप्त छैनन्।

    नगरलाई समृद्धितर्फ डोहोर्‍याउने योजना के के छन्?

    नगर विकासका लागि सडक सञ्जालको काम अघि बढनुपर्दछ। नगरपालिकाका सबै वडालाई समेटने गरी चक्रपथ निर्माणको काम बढेको छ। चक्रपथ निर्माणको सर्भे भएको छ। सडक स्तरोन्नति जारी छ।

    सहज स्वास्थ्य सेवाका लागि ५० शैयाको सुविधासम्पन्न अस्पताल स्थापनाको कागजी प्रक्रिया बढेको छ। शहरी विकास परियोजनाअन्तर्गत दिगो रूपमा फोहोरमैला व्यवस्थापन गर्न बहुउद्देश्यीय फोहोरमैला संकलन केन्द्र, अत्याधुनिक नगरपालिकाको कार्यालय भवन, बजार क्षेत्रमा ढल व्यवस्थापन, अन्तर्राष्ट्रिय मापदण्डका सडक निर्माण गर्ने योजना छन्। त्यस्तै हरेक वडामा खेल मैदान र कभर्ड हल निर्माण गर्ने योजनासमेत अघि सारेका छौँ।

    प्राकृतिक साधन र स्रोतमा आधारित उद्योग स्थापना, भाषा संस्कृति र पर्यटनको प्रवर्द्धनका लागि दिगो योजना बनाउने लक्ष्य राखेका छौँ। पर्यटन प्रवर्द्धनका लागि प्रथम नगरसभाबाटै काम अघि बढाएका छौँ। ताल तलैया संरक्षण गरी आन्तरिक र बाह्‍य पर्यटक भित्र्याउन दोस्रो नगरसभाले बजेट व्यवस्था गर्नेछ।

    उन्नत पशुपालन र आधुनिक कृषिलाई बढावा दिन दीर्घकालीन योजना बनाउने, युवालाई सीपमूलक तालिम प्रदान गरी स्वरोजगार बनाउनेलगायतका कामलाई समेटेका छौँ। नगरलाई समृद्ध बनाउन पाँच वर्षीय रणनीतिक योजनामा शिक्षा, स्वास्थ्य, सञ्चार, विद्युत्, सिँचाइ, पर्यटन, संस्कृति सम्बर्द्धनलगायतलाई समावेश गरिनेछ। यसका लागि चाँडै योजना बनाउँदै छौँ।

राजेन्द्र पनेरु

पनेरु थाहाखबरका कञ्चनपुर संवाददाता हुन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५