|

छिमेकी मुलुक चीन, भारतको विकास र उन्नतिको पछाडि भाषा नै रहेको छ। त्यहाँका विद्यार्थीहरू शब्‍दकोषका ठेलीहरू नपल्टाई आफ्नै भाषामा ज्ञान विज्ञानका क्षेत्रमा अगाडि बढेका छन्। जति पनि समृद्ध मुलुकहरू हेर्ने हो भने पनि उनीहरू आफ्नै भाषाबाट विकास गरिरहेका छन्। कतारदेखि कोरियासम्म चीनदेखि जापानसम्म सबै विकसित देशहरूका आफ्ना भाषा छन्। उनीहरूका विद्यार्थीहरू तिनै भाषाबाट ज्ञान विज्ञानका क्षेत्रमा अगाडि बढिरहेका छन्।

अतिक्रमण भूगोलमा मात्र होइन भाषा र संस्कृतिमा पनि हुन्छ। भूगोलको अतिक्रमण जति असह्‍य हुन्छ भाषा र संस्कृतिको अतिक्रमणमा पनि त्यति नै असह्‍य छ। झुक्दै नझुक्ने नेपालको छोरो अब फेरि आफ्नो भाषा, कला र साहित्य जोगाउन जुरमुराउने बेला आएको छ।

कुनै समय अंग्रेजी, नेपाली गणितजस्तै स्कुलस्तरमा अनिवार्य रूपमा पढाइ हुने संस्कृत अहिले कहाँ पढ्न पाइन्छ भनेर खोज्दै हिँड्नुपर्ने भएको छ

जनयुद्धको समयम संस्कृत भाषालाई विथोल्ने कोसिस गरियो। कुनै समय अंग्रेजी, नेपाली गणितजस्तै स्कुलस्तरमा अनिवार्य रूपमा पढाइ हुने संस्कृत अहिले कहाँ पढ्न पाइन्छ भनेर खोज्दै हिँड्नुपर्ने भएको छ। समयक्रमसँगै नेपालमा नेपाली भाषालाई विलय बनाउने चेष्टा भइरहेको छ। विविध जातजाति, संस्कृतिको बसोबास रहेको नेपालमा नेपाली भाषा सबैलाई जोड्ने साझा पहिचान हो। भाषा, कला र पहिचान मात्र होइन देशलाई समृद्धि बनाउने माध्यम पनि हो।

तर, नेपालमा भने शैक्षिक क्षेत्रमा नेपाली विषयलाई कम महत्व दिइएको छ। शिक्षाको निजीकरणसँगै नेपाली भाषा उपेक्षामा परेको छ भने नेपाली पढ्ने विद्यार्थीलाई कम योग्यताको रूपमा चर्चा गर्दा नेपाली पढ्ने विद्यार्थीहरूको संख्या दिनप्रतिदिन घटिरेहको छ। उच्च माध्यामिक शिक्षापरिषद् र त्रिभुवन विश्वविद्यालयलेसमेत पाठ्यक्रममा भाषा समूह अलग्‍गै नगरी सामाजिक विषय वा सोसरह राखेको छ। 

यता, कक्षा ११ र १२ को पाठ्क्रमबाट अनिवार्य नेपाली विषय हटाउने वा  ५०/५० पूर्णा‌ंकमा खुम्च्याउने बहस भइरहेको छ। पाठ्यक्रम विकास केन्द्रले नेपाली भाषा र नेपाली विषय खुम्च्याउन लागेको भन्दै भाषा प्रेमीहरूले त्यसको विरोध गरेका छन्। 

नेपाली भाषाबारे बुझाइ

पछिल्लो समय नेपालमा नेपाली भाषाको प्रयोग निकै कम हुन थालेको छ। जसले अंग्रेजी जान्दछ उसैलाई नेपालमा बुद्धिमानी ठानिन्छ। कुनै सम्मेलनमा सचिव, सहसचिवले अंग्रेजीमा बोल्न नजान्दा आफूलाई लज्जा मान्नुपर्छ।

युवाहरू फिल्म , महिलाहरू सिरियल जे होस् सबैको आफ्नै रौनक छ। जे होस् भाषाका विषयमा कसैलाई रहर छ फेरि कसैलाई बाध्यता पनि, दश जोड दुईपछि अधिकांश विद्यार्थीहरू भाषा पढ्न भाषा पढाउने विभिन्न संस्थाहरू धाउन थाल्छन्

कुनै पत्रकारले अंग्रेजीमा सोधिएको पश्नको उत्तर अंग्रेजीमा नबोल्दा घृणाको पात्र बन्नुपर्छ। भनौँ यहाँ अंग्रेजी जान्ने सबैभन्दा जान्ने बुझ्‍ने मान्छेको श्रेणीमा पर्छन्। त्यसपछि हिन्दीमा बोल्‍नैपर्ने अर्को जमात  छ। सा-साना नानीहरू हिन्दी कार्टुनबाट रमाइरहेका हुन्छन्।

युवाहरू फिल्म, महिलाहरू सिरियल जे होस् सबैको आफ्नै रौनक छ। जे होस् भाषाका विषयमा कसैलाई रहर छ फेरि कसैलाई बाध्यता पनि, दश जोड दुईपछि अधिकांश विद्यार्थीहरू भाषा पढ्न विभिन्न संस्थाहरू धाउन थाल्छन्।

कोही कोरियन भाषा पढछन्। कोही जापानिज। कोही अष्ट्रेलियन, कोही अमेरिकन, कोही फ्रान्सेली। तर, हामी अन्य देशको भाषा जति नै सिकौँ जति नै अगाडि बढौँ, अन्य भाषामा जति नै पसिना चुहाऔँ, तर सारा प्रयास आफ्‍नो वर्ग समुदायलाई नभई अरूलाई खर्च भइरहेको हुन्छ। अरू भाषाको क्षेत्रमा हामी जति नै योगदान पुर्‍याऔँ उसले खेतालो नै सम्झिरहेको हुन्छ। अंग्रेजी वा अन्य भाषा सिक्नु हुँदैन, यो नेपाली भाषाको दुस्मन हो भन्न खोजिएको होइन।

अन्तराष्ट्रिय रूपमा आफूलाई स्थापित गर्न, देश विदेशको अवस्था, समाजको अध्ययन अनुसन्धान गर्न अंग्रेजी भाषाको अतुलनीय भूमिका आफ्नो ठाउँमा त  छँदै छ, तर पनि विद्यालय प्रशासन, शिक्षकशिक्षिका र विद्यार्थी पनि नेपाली भाषाको अस्तित्व मेट्न जानीजानी या अन्जानमा लागिरहेका छन भन्ने कुरा सबै सरोकारवाला निकायले ध्यान दिन जरुरी छ। भाषिक विकृति र अतिक्रमणको अन्त्य गर्न उचित नीति ल्याई नेपाली भाषाको महत्वको बारेमा सम्बोधन गर्नु पर्ने समय आएको छ।

यता, अधिकांश बोर्डिङ स्कूलहरूले नेपाली भाषालाई नर्सरीदेखि नै पठाउन सुरु गरेता पनि नेपाली भाषालाई जुन गतिमा अगाडि बढाउनुपर्ने हो त्यो देखिएको छैन। नेपाली भाषा नजान्दा पनि हुने रैछ भन्ने भावना विद्यार्थीहरूमा पर्न गएको पाइन्छ जसबाट विद्यार्थीहरूमा नेपाली भाषाको महत्वबारे प्रभाव पर्न सकेको छैन। त्यसकारण नेपाली भाषाको पढाइ विद्यार्थीहरूका लागि उपलब्धिपूर्ण बन्न सकेको छैन। नेपाली विषयप्रति नकारात्मक धारणा बनाउन निजी विद्यालयले बालबालिकालाई सहयोग गरि यस भाषाको अवमूल्यन भएको भान हुन्छ।

विद्यालय परिसरमा नेपाली शब्द बोल्ने विद्यार्थीलाई विद्यालय प्रशासन, शिक्षकशिक्षिका र विद्यार्थीले नै शारीरिक, मानसिक र आर्थिक दण्ड गर्छन्। बिर्सेर पनि नेपाली भाषा बोल्दा पाउने दण्डको कारण नेपाली सिक्नु र बोल्नु गलत कार्य भएकोे अवधारणा कलिला बालबालिकामा मस्तिष्कमा विकास हुँदै गएको छ। नेपाली भाषा बोलेबापत दिइने याताना कारण विद्यार्थीमा नेपाली भाषा पढ्ने, बोल्ने र सिक्ने गतिविधितर्फ खासै चासो देखाएको पाइँदैन। यसकारण नेपाली विषयको परीक्षामासमेत अन्य विषयको तुलनामा धैर कम अंक ल्याउने गरेको पाइन्छ। साथै नेपाली विषयको शैक्षिक गुणस्तर खस्कँदै गएको छ।

सरकारी कामकाजी भाषा नेपाली 

नेपालमा बोलिने सबै भाषाहरू राष्ट्रिय हुन् यद्यपि, नेपाली भाषा कामकाजी भाषा बनेको छ। भारोपेली भाषा परिवारमा पर्ने नेपाली भाषा  खस जातिहरूले बोल्ने भाषा भएको  हुनाले यसलाई खस भाषा पनि भनिन्छ। यो भाषा उत्पत्तिताका पश्चिम नेपालको कर्णाली क्षेत्रमा विकसित हुँदै देशका अन्य क्षेत्रमा फैलँदै गएको हो। सूचना र सञ्चारको रूपमा प्रयोग गरिने यो भाषा विद्यालयको पाठ्यक्रमसँग मात्रै सीमित छैन विश्वका अन्य देशहरू भारत, भुटान, म्यानमारजस्ता मुलुकहरूमा पनि बोल्ने गरिन्छ।

नेपाली कला, साहित्य र पहिचानसँग जोडिएको नेपाली भाषाको उत्थानमा सबै नेपाली जुट्न आवश्यक छ। दश जोड दुईको पाठ्यक्रममा नेपाली भाषाको अंकभार घटाउने प्रक्रिया गतल मात्र नभई नेपाली भाषीहरूको अपमान पनि हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.