|

काठमाडौं : बासँबारीस्थित न्युरो अस्पतालमा सँधै  बिरामीको भिड लाग्ने गर्छ। मस्तिष्क जस्तो संवेदनशिल अंगको विरामी भएपछि उपचारको लागि ल्याइने भएकाले पनि प्राय यो अस्पतालमा बिरामीको आफन्तले बिरामीहरुको आफन्तको बाक्लो भीडभाड हुने गर्छ। तर केही दिनयता अस्पतालमा आफन्तको उपचार गर्न आउने विरामी र उनका आफन्तको मात्र भिड हुने गरेको छैन।

अस्पतालका प्रमुख चिकित्सक  डा. उपेन्द्र देवकोटालाई भेट्न आउने आगन्तुकहरुको समेत बाक्लो उपस्थित हुने गरेको छ।

धेरैलाई मृत्युको मुखबाट बचाएका डा . देवकोटालाई भेट्न परिवारका सदस्य वाहेक धेरै आफूले नै बचाएका बिरामीहरु आउने गर्छन्। गम्भीर स्वास्थ्य अवस्थाको कारण भेटघाटमा पूर्ण निषेध गरिए पनि ती शुभ चिन्तकले अस्पताल परिसरमा रहेको 'भिजिटर बुक' मा आफ्नो सुभेच्छा प्रकट गर्ने गरेका छन्।

अस्पतालको दायाँ भागमा भिजिटर बुक राखिएको छ। त्यही शुभचिन्तकहरुले डा. देवकोटाको शीघ्र स्वास्थ्यलाभको कामना सहित शुभेच्छा प्रकट गर्ने गरेका छन्।  उक्त पुस्तिकामा सबै भन्दा धेरै उनले नै उपचार पश्चात बचाएका बिरामीहरुले ' मेरो टाउकोको अपरेसन गरि मृत्युको मुखबाट बचाउने डाक्टर तपाइ चाँडो सन्चो हुनुस्।' लेखेको भेटिन्छ।

पाचँ महिना अघि अकस्मात् विरामी भए पछि उपचार गर्न बेलायतको किङ्स कलेज अस्पतालमा लामो उपचार पछि आफ्नै देश फर्किएर हाल आफ्नै अस्पतालको वेडमा उपचार सहित आराम र उपचार गराई रहेका छन्।

लामो समयसम्म विदेशमा उपचार गरे पनि डा.देवकोटाले आफ्नो बाँकी उपचार आफ्नै देश र आफ्नै अस्पतालमा गर्ने इच्छा देखाएपछि गत बैशाख १५ गते उनलाई नेपाल ल्याइएको बाँसवारी न्युरो अस्पतालले जनाएको छ।

नेपालमा मात्र नभएर दक्षिण एसियाकै अब्बल न्यूरो सर्जन देवकोटाले बाँसबारीमा न्युरो अस्पताल खोलेका थिए। जसले गर्दा पनि उनले आफ्नै अस्पतालमा गएर उपचार गर्ने इच्छा गरेपछि नेपालमा नै ल्याइएको अस्पताल परिसरमा भेटिएका डा. देवकोटाका परिवारका एक सदस्यले बताए।

हाल उनलाई अस्पतालको आइसियूमाभन्दा पनि पहिला आफै बस्ने अस्पतालको दोस्रो तल्लामा रहेको रुममा  विशेष हेरचाह गरेर राखिएको ती सदस्यले बताए। यही कोठामा बसेर देवकोटाले विरामीहरुका बारेमा थुप्रै अनुसन्धान गरेका छन्। नेपालमा स्नायुरोगको उपचार तथा सो अस्पताललाई कसरी अगाडि बनाउने भनेर योजना भएका छन्। शायद त्यही कोठासँग देवकाटाका धेरै स्मृतिहरु जोडिएकोले उनलाई त्यहाँ राखिएको हो।

उनले भने 'नेपालमा नै गएर उपचार गर्ने इच्छा राखे पछि हामीले यही ल्यायौं उहाँलार्इ आफ्नै अस्पतालको पहिला आफै बस्ने रुममा विशेष केयर गरेर राखिएको छ, अहिले केही आराम छ। अस्पतालमा नै आराम गरिरहनु भएको छ।'

भेटघाटमा पूर्ण निषेध

उनकाे स्वास्थ्य स्थिति कमजोर नै रहेको परिवारले स्रोतले बताएको छ। लामो समय उपचाररत रहेका डा .देवकोटालाई आरामको जरुरत परेका कारण हाल भेटघाटमा पूर्ण निषेध गरिएको छ।  देबकोटालाई पित्त थैलीको क्यान्सर लागेको र उक्त क्यान्सरको उपचार लगभग असम्भव जस्तै भएपछि देवकोटा नेपाल फर्किएको बुझिएको छ।

हाल देवकोटा आफैं बाथरुम जाने, आफै खानेकुरा खाने, ननिदाएको बेलामा पहिलेजस्तै आफन्तसंग गफ गर्ने गरेको समेत परिवारका ती सदस्यले बताए।

उनले भने 'उहाँबाट ल्याएपछि स्वास्थ्यमा अलि सुधार आएको छ। बाथरुम जाने, खानेकुरा खाने लगायतका काम प्राय आफै गर्न सक्छन् तर हामीले सहयोग भने गर्ने गरेका छौँ।'

नेपाल चिकित्सा विज्ञान प्रतिष्ठान वीर अस्पतालमा न्युरोलोजिकल ट्रमा स्थापित गर्ने डा देवकोटाको स्वास्थ्य सुधारको कामना गर्दै केही समयअघि पुजा समेत गरिएको थियो। गोरखामा जन्मिएका डा देवकोटा ६३ वर्ष पुगेका छन्।

देवकोटा नेपालमा स्वास्थ्य मन्त्री पनि बनिसकेका छन्। डा देवकोटा नेपालमा मात्र नभई विदेशमा पनि उत्तिकै परिचित छन्। उनले हालसम्म करिब ३० हजार मानिसको टाउको र नसा सम्बन्धी रोगको शल्यक्रिया गरिसकेका छन् भने १० लाख भन्दा बढी बिरामी जाँच गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.