|

काठमाडौं : नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरणलाई टुंगो लगाउन बिहीवार एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच दुईपटक भेटवार्ता भएको छ। पार्टी एकतालाई टुंगो दिने विषयमा भएको छलफल सकारात्मक दिशार्फ अगाडि बढेको छ।  

प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्ष ओली-प्रचण्डले बिहीवार बिहान ११ बजे र दिउँसो ३ बजे छलफल भएको थियो। बिहान छोटो भेटघाट गरी छुट्टिएका उनीहरू दिउँसो भने करिब ३ घण्टा छलफल गरे।

पार्टी एकताको विषय टुंगो लगाउने विषयमा ओली-प्रचण्डबीच भएको छलफल सकारात्मक दिशार्फ अगाडि बढेको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी दिए। 'दुई अध्यक्षबीच पार्टी एकताको टुंगो लाग्न बाँकी विषयमा समग्र छलफल भएको छ। छलफल सकारात्मक दिशातर्फ अगाडि बढेको छ', सापकोटाले भने 'यसबारे अध्यक्षहरूबीच थप छलफल हुनेछ। विषय सकारात्मक दिशार्फ अगाडि बढेको छ।'

पार्टी एकता संयोजन समितिले दुई अध्यक्ष ओली र प्रचण्डलाई एकताको अन्तिम टुंगो लगाउने जिम्मा दिएपछि उनीहरूबीच लगातार एकल छलफल भइरहेको छ। तर अहिलेसम्म तार्किक निष्कर्षमा छलफल पुग्‍न सकेको छैन।

एकताबारे ओली-प्रचण्डको अर्को बैठक कहिले बस्ने भन्नेबारेमा भने टुंगो लागेको छैन। शुक्रबार प्रधानमन्त्री ओली चितवन जाने कार्यक्रम रहेकाले दुई अध्यक्ष शुक्रबार भेट्ने सम्भावना कम रहेको सापकोटाले बताए।

एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई भेटेपछि अध्यक्ष प्रचण्ड एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेका थिए। नेता नेपालको निवास कोटेश्वरमा भएको एकल भेटका क्रममा पार्टी एकताबारे छोटो छलफल भएको थियो।  

बुधवार बसेको माओवादी केन्द्रको सचिवालय बैठकमा अध्यक्ष प्रचण्डले एकता संशोजन समितले टुङ्ग्याउन नसकेका विषयहरुमध्ये जनयुद्ध र जवजको विषयमा सहमति भइसकेको ब्रिफिङ गरेका थिए। प्रचण्डले बैठकमा नेतृत्वको विषयमा भने समानता, सहमति र न्यायोचित रुपमा हुने उल्लेख गरेका थिए।

अध्यक्ष प्रचण्डले मंगलवार अन्तराष्ट्रिय श्रमिक दिवसलाई सम्बोधन गर्दै कार्ल माक्स द्विशतवार्षिकीको अवसरमा वैशाख २२ गतेसम्म एकता अन्तिम टुंगो लगाउने गरी काम भइरहेको बताएका थिए।

जबज र जनयुद्धको कुरा मिल्यो, ‘फाइनल टच’का लागि ओली र प्रचण्ड भेट्दै 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.