|

तनहुँ : पर्यटन प्रवर्द्धनका लागि तनहुँमा व्यास नगर प्रथम अल्ट्रा म्याराथन हुने भएको छ। ‘पर्यटन, धार्मिक एवं ऐतिहासिक क्षेत्रको पहिचान व्यास नगरपालिकाको अभियान’ भन्ने नाराका साथ प्रतियोगिता आयोजना गरिएको बिहीबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो। 

यही वैशाख २९ गते हुने प्रतियोगिता आदिकवि भानुभक्त आचार्यको ससुराली गाउँ ऐतिहासिक पर्यटकीय मानुंगकोटबाट सुरुवात हुने व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए। न्यौपानेका अनुसार मानुंगकोट सिद्धमार्ग अलैचे, चापाघाट, पृथ्वी राजमार्ग, अनसन चौतारी, भोर्लेटार चोक व्यास मार्ग, बैरेनी, कुमालटारी, दुम्सी खहरे, कलेस्ती, पाथ्रा, सत्रसय कालिका मार्ग, बानियाडिही, बर्लाची, बगुवा रिस्ती, बाहुन पोखरा हुँदै पुलिमराङ पुगी अल्ट्रा म्याराथनको समापन हुनेछ। 
व्यास नगरपालिकाको पर्यटकीय क्षेत्र, विभिन्न जातका होमस्टे, जातीय संस्कृति तथा परम्परागत स्वागत सत्कारको लगायत प्रचार प्रसार र प्रवर्द्धनका लागि अल्ट्रा म्याराथुन गरिने भएको न्यौपानेले बताए। उनका अनुसार तनहुँमा ४४ किलोमिटरको दुरीको अल्ट्रा म्याराथुन हुने लागेको हो।

‘नेपालको लोकतान्त्रिक आन्दोलनमा सहिद भएकाहरूको सम्झना र उच्च स्थान तथा गुरुङ्ग बस्ती पुलिमराङ्गको प्रवर्द्धनका लागि प्रतियोगिता उक्त स्थानमा समापन गरिनेछ।’ उनले भने ‘प्रतियोगिता सफल पार्न करिव १० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ र प्रतियोगितामा ८ जनालाई पुरस्कारको व्यवस्था गरिएको छ, पुरस्कारको लागि मात्रै सवा दुई लाख खर्च लाग्नेछ।’

प्रथम पुरस्कार नगद रु.७५ हजार ७५, द्वितीय पुरस्कार रु. ५५ हजार ७५, तृतीय पुरस्कार रु. ३५ हजार ७५ र ५ जनालाई सान्त्वना पुरस्कार रु. १० हजार ७५ का दरले प्रदान गरिने न्यौपानेले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.