थाहा संवाद : स्थानीय सरकार

जनप्रतिनिधिबाट भाग खोसिएको ठानेका छन् कर्मचारीले : सिस्ने गाउँपालिका अध्यक्ष बराल
SHARES

बैशाख २२, २०७५

    रुकुम पूर्व छुटै जिल्ला बनेपछि त्यसअन्तर्गत ३ वटा गाउँपालिका बनेका छन्। सिंगो रुकुम हुँदा ९ स्थानीय तह रहेको जिल्लामा रुकुम पश्चिममा ६ र पूर्वमा ३ वटा स्थानीय तह बाडिए। रुकुम पश्चिमको तुलनामा रुकुम पूर्व भौगोलिक विकटता र पूर्वाधारका हिसावले पनि निकै पछि छ। प्रदेश ५ मा पर्ने यस जिल्लामा बेलाबेला हिमपात र चिसोले सताउने गरेका कारण रुकुम पूर्वलाई सरकारले हिमाली जिल्लाको रुपमा सूचिकृत समेत गरिसकेको छ।

    रुकुम पूर्वका ३ स्थानीय तहमध्ये सिस्ने गाउँपालिका अग्रस्थानमा आउँछ। यो गाउँपालिकामा जिल्ला सदरमुकाम रुकुमकोटमा पर्ने भएका कारण अन्य दुई गाउँपालिकाको भन्दा महत्त्वपूर्ण छ। स्थानीय तहका लागि आवश्यक कानुन निर्माणदेखि संघीय सरकारबाट प्राप्त अनुदान रकमको खर्च प्रगति अनि विकास गुरुयोजना बनाउने जस्ता काममा सिस्ने गाउँपालिका पनि जुटेको छ। त्यस क्षेत्रको आवश्कयता र संभावनालाई अध्ययन गरेर गाउँगाउँमा सडक, कृषि, पर्यटन, युवा स्वरोजगारमा जोड दिँदै गाउँपालिकाका र जनताको आन्तरिक आय बढाउन बिभिन्न कार्यक्रमहरू तय पनि गरेको छ। यसै बिषयमा गाउँपालिकाको पछिल्लो गतिविधि, आर्थिक तथा भौतिक प्रगति र आफ्नो कार्यकालका लागि बनाएको गुरुयोजनाको बिषयमा सिस्ने गाउँपालिकाका अध्यक्ष कुमारी बरालसँग थाहा संवाददाता मेगराज खड्काले गरेको कुराकानीको संक्षेप:

    गाउँपालिकाले के कस्ता गतिविधि गरिरहेको छ?

    शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रलाई प्रथामिकता दिएर विकास गतिविधि भैरहेका छन्। अहिले गाउँपालिकाले ६० प्रतिशत आर्थिक तथा भौतिक प्रगति गरेको छ। सम्झौता भएका विकासका कामहरूलाई तीब्रता दिने, तालिम संचालन र स्वास्थ्य शिविर गरेर जनतालाई गाउँमै सेवा दिने काम भैरहेको छ। केही साताअघि पाठेघर समस्या भएका महिलाहरूको लागि शिविर गरेर रोग लुकाएर घरमै बसिरहेका एक हजारभन्दा बढी महिला दिदिबहिनीहरूलाई सहयोग गरिएको छ।

    त्यस्तै माटो परीक्षण शिविर पनि हामीले गरिसकेका छौं। जसबाट सबै वडाका किसानहरूलाई प्रत्यक्ष राहत पुगेको छ। सिस्ने गाउँपालिकाका विभिन्न क्षेत्रलाई कृषि पकेट क्षेत्र घोषणा पनि गरेका छौं। जस अनुसार वडा १ मा स्याउ खेती, २ र ५ मा बाख्रा पालन र सुन्तला खेती, ३ र ४ मा केरा र मौरीपालन, ६ मा अलैची तथा ७ र ८ लाई सुन्तला पकेट क्षेत्र तय गरेका छौं।  हामीले विकासको एकीकृत गुरुयोजना बनाएका छौं। हाम्रो कार्यकाल ५ वर्षको लागि मात्र हो तर आगामी २० वर्षका लागि अनकूल हुने गुरुयोजना बनाएका छौं।

    सदरमुकाम रुकुमकोटको विकास चित्र कोर्न छुट्टै शहरी विकास गुरुयोजना पनि बनाएका छौं। रुकुमकोट सदरमुकामको बस्ती, विकास, खेतीयोग्य जमिन नमासेर बस्ती विकास गर्नेसँगै यस क्षेत्रको सडक सञ्जालको पनि योजना त्यसमा छ। शिक्षाको विकास गर्न सामुदायिक विद्यालयहरूलाई प्रोत्साहन गर्न जनप्रतिनिधि र सरकारी कर्मचारीका बालबालिकाहरू अनिवार्य सामुदायिक विद्यालयमै भर्ना गर्ने योजना बनाएका छौं। जसअनुसार मैले नै मेरा दुई छोरीहरूलाई यहाँकै सामुदायिक विद्यालयमा भर्ना गरेकी छु। त्यस्तै कृषि क्षेत्रमा लगानी गर्ने सहकारीलाई ५० लाखसम्म अनुदान दिने र त्यसमार्फत नै जनताले  उत्पादन गरेका कृषि सामग्रीहरूको बजारीकरण गर्ने हाम्रो नीति छ ।

    बनबाट पनि स्थानीयतहलाई राम्रो आम्दानी गर्न सकिने संभावना भए पनि संघ र प्रदेशको अधिकार पनि बाँझिएका कारण काम गर्न समस्या छ। हालसम्म करिव १० लाख जति जम्मा भएको छ। सबै वडाहरूको विवरण आउन बाँकी छ भने ४५ लाख आम्दानी गर्ने लक्ष्य राखेका छौं।

    स्थानीय कानुनहरू कति बनाउनुभयो?

    हामीले हालसम्म २० वटा कानुन बनाएका छौं। केही केन्द्रबाट आएका नमुना र केही स्थानीय आवश्यकताका आधारमा कानुन निर्माण गरिएको छ। आवश्यकता अनुसार थप कानुन बनाइने छ।

    चुनावअघि जनतामाझ गरेका बाचा कति पूरा भएका छन्?

    निर्वाचनको बेला भनेका धेरैजसो बाचा पूरा भएका छन्। हामीले धेरै महत्वकांक्षी योजना पनि भनेका थिएनौं। खानेपानी, सडक, शिक्षा, कृषि र स्वास्थ्य जस्ता बिषयमा केन्द्रित गरेर विकास निर्माणको कुरा गरेका थियौं। सोहीअनुसारको सडक संचालन निर्माण प्रकृयामा छौं। वडा १ र २ का केही गाउँबाहेक अन्य ६ वटै वडामा सडक सञ्जाल जोडिएको छ। सल्लेखोला खोपिचार खण्ड, रुमालबारादेखि घट्टेखोला सडक, बालुकादेखि लुस्पा, चिसापानीदेखि सानचौर कौछे, झिमखोला बैंसपानी सडक, स्यालापाखा मोहडाँडादेखि भुरुंगा हुँदै रावलबारा सडकलगायतका धेरै निर्माण भएको छ। गाउँपालिकामा पछिल्लो समय करिब ४५ किलोमिटर बाटो खनिएको छ। खानेपानीको लागि एक घर एक धारा नारालाई साकार पार्ने काम भैरहेको छ।

    युवालाई सिलाइकटाइ, ब्युटीपार्लर, पत्रकारिता, नेतृत्वविकाससहितका तालिमहरूमा पनि संचालन गरिरहेका छौं। दक्ष जनशक्ति उत्पादन गर्न युवालाई तालिम दिएर स्वयमसेवकको रुपमा विकासमा खटाउने निर्णय पनि गाउँसभाले गरेको छ। पहिलो चरणमा विभिन्न क्षेत्रका करिब १२ हजार स्वयमसेवकहरूलाई तालिम दिने योजना छ। यसलाई बढाउँदै लानेछौं। सिस्ने गाउँपालिका सबै क्षेत्रमा विद्युतीकरण गर्ने काम करिवकरिव अन्यतिर पुगेको छ। वडा १ बाहेक अन्य अधिकांश क्षेत्रमा विद्युत पुगेको छ। पुराना विद्युत आयोजनाहरूलाई मर्मत संभार गर्ने र नयाँ विद्युत आयोजनाको संभावना खोजी जारी छ।

    विकास निर्माणमा के कस्ता समस्या छन्?

    छन्। हामीसँग पर्याप्त आर्थिक श्रोत छैन। पहिलो वर्ष भएका कारण पनि जनताका धेरै विकास चाहनाहरू छन्। त्यसलाई सम्बोधन गर्न नसक्ने अवस्थामा छौं। जनप्रतिनिधिहरूको विकास चित्रमा कर्मचारी जगतबाट सहयोग भएको छैन। वडा सचिवहरूबाट बढी असहयोग छ। यसले स्थानीय जनताको सेवाप्रबाहमा पनि समस्या छ।

    जनप्रतिनिधि आएपछि आफ्नो भाग खाइदिए जस्तो कर्मचारीले ठान्ने गरेका छन्। त्यस्तै न्याय समितिको सन्दर्भमा पनि हाम्रो गाउँपालिकामा प्रभावकारी काम गर्न सकिएको छैन। सबैको नयाँ अनुभव भएका कारण पनि जसरी स्थानीय सरकारको अधिकार न्याय समितिमा छ त्यो प्रयोग गरेर जनतालाई न्याय दिन सकिरहेका छैनौं। अब कानुनी सल्लाहकार राखेर उपाध्यक्षको अध्यक्षतामा हुने न्याय समितिलाई छिटै प्रभावकारी बनाउने छौं।

    रुकुम पूर्वको सदरमुकाम अहिले कहाँ हुने भनेर अन्योल छ। पहिले रहेको सिस्ने गाउँपालिकाको रुकुमकोटबाट पुथाउत्तरगंगा गाउँपालिकाको गोल्खाडामा सार्ने सरकारले निर्णय गरेको छ तर सर्वोच्चमा मुद्दा परेका कारण अहिले विचारधीन अवस्थामा छ।

    हाल सदरमुकाम कहाँ हुने भन्ने अन्योलको अवस्था छ। सरकारले अदालतले अन्तिम फैसला गरे हुन्थ्यो जस्तो र अदालतले हाम्रो फैसला अघि नै निर्णय गरे हुन्थ्यो जस्तो आशा गरेको जस्तो हामीले बुझेका छौं। अदालतबाट भए पनि राजनीतिक नेतृत्वबाट भए पनि छिटै समाधान गर्नुपर्छ।

    सदरमुकामबारे गाउँपालिकाको धारणा के छ?

    सरकारले औपचारिक रुपमा शुरुमा सिस्ने गाउँपालिकाको रुकुमकोटमा उद्‍घाटन गरेका कराण पनि जिल्ला सदरमुकाम यही हुनुपर्छ। तत्कालीन गृहमन्त्री जनार्दन शर्माले सदरमुकाम रुकुमकोटमा उद्‍घाटन गरिसकेकोमा कामचलाउ हैसियतको देउवा सरकारले अर्को ठाउँमा निर्णय गरेर समस्या मात्र निम्त्याएको हो। रुकुमकोटमा प्रशासन, समन्वय समितिसँगै प्रधानन्यायधीश समेत आएर जिल्ला अदालत समेत उद्‍घाटन गरिसकेको अवस्थामा जिल्ला सदरमुकाम सार्ने निर्णय गरेर जनतालाई दु:ख दिने र लडाउने काम गर्न आवश्यक थिएन।

    संविधानमा जिल्लाको संरचनासमेत समन्वयकारीको रुपमा भएको अवस्थामा कार्यकारी संयन्त्र जस्तो गरी यताउता सार्नु राम्रो होइन। हाल सदरमुकाम कहाँ हुने भन्ने अन्योलको अवस्था छ। सरकारले अदालतले अन्तिम फैसला गरे हुन्थ्यो जस्तो र अदालतले हाम्रो फैसला अघि नै निर्णय गरे हुन्थ्यो जस्तो आशा गरेको जस्तो हामीले बुझेका छौं। अदालतबाट भए पनि राजनीतिक नेतृत्वबाट भए पनि छिटै समाधान गर्नुपर्छ। लामो समय अन्योलमा राखेर जनता एकआपसमा लडाउने र भिडाउने काम गराउनु हुन्न।

    अन्यत्र स्थानीयतहमै केन्द्रको विवाद चुलिएको देखिन्छ। सिस्ने गाउँपालिकामा त्यस्तो समस्या के छ?

    गाउँपालिकाको केन्द्रबारे विवाद छैन। समस्या आएको वडा ४ र ७ मा हो। त्यो पनि समाधान भैसकेको छ। वडा ४ को झाक्रिपोले र ७ को माईकाथान कार्यालयमा राख्ने निर्णय भएर कार्यान्वयन भैसकेको छ।

    गाउँ तथा नगरपालिकाहरू केन्द्रीय अनुदानमा चलिरहेको देखिन्छ। सिस्ने गाउँपालिकामा आन्तरिक आम्दानी तथा कर संकलनको योजना के छ? 
    स्थानीय तहले संकलन गर्ने करको दायरा अझै निश्चित भएको छैन। सिस्ने गाउँपालिकामा जडिबुटि तथा खनिज पदार्थको पनि राम्रो संभावना छ। तर पनि यहाँको कर संकलन गर्ने कार्यमा संघीय तथा प्रदेश सरकारको पनि अधिकार बाँझिएका कारण योजना बन्न सकेको छैन। सामान्यतया सिफारिस र सानातिना कर संकलनको सुरुवात गरेका छौं।

    हाम्रो गाउँपालिकामा पर्ने कमलतालबाट यस वर्षदेखि नै आम्दानी गर्न सुरु गरेका छौं। कमलको डाँठको टेन्डर गरेर ८० हजार रुपैयाँ आम्दानी गरेका छौं। तालको आम्दानी राज्यको मातहतमा आएको यो पहिलोपटक हो। त्यस्तै कमल ताल हेर्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरूबाट पनि आम्दानी गर्ने गाउँपालिकाकाले योजना छ।

    त्यसका लागि हाल भौतिक निर्माणका काम भैरहेका छन्। सिस्ने गाउँपालिकाको जडिबुटीलाई बजारीकरण गरियो भने मात्र लाखौंको श्रोत छ। घरबहाल कर व्यवस्थित गर्न पनि विशेष योजना बनाउँदै छौं। हाल बालुका कर जिल्ला समन्वय समितिमार्फत संकलन भैरहेको भए पनि नयाँ आर्थिक वर्षदेखि हामीले नै उठाउँदै छौं। बनबाट पनि स्थानीयतहलाई राम्रो आम्दानी गर्न सकिने संभावना भए पनि संघ र प्रदेशको अधिकार पनि बाँझिएका कारण काम गर्न समस्या छ। हालसम्म करिव १० लाख जति जम्मा भएको छ। सबै वडाहरूको विवरण आउन बाँकी छ भने ४५ लाख आम्दानी गर्ने लक्ष्य राखेका छौं।

    रुकुम पूर्व संचार विकासको दृष्टिकोणले कमजोर देखिन्छ। सूचना प्रविधिको विकासमा के छ योजना?

    हो, तपाईंले प्रश्न गरेजस्तै यहाँ संचार प्रविधिको समस्या पक्कै पनि छ। सिस्ने गाउँपालिकाले आफ्नो बजेटले यी सबै काम गर्न सक्ने अवस्था छैन। हाल गाउँपालिकाका कतिपय ठाउँहरूमा कामचलाउ संचार भैरहेको भए पनि प्वांग र सिस्ने गाउँहरू संचारबाट बञ्चित नै छन्। वडा २ को सुध्रिमा टेलिफोन टावर निर्माणको काम भैरहेको छ। त्यो पूरा भएमा केही हदसम्म संचार सुविधा पुग्नेछ। पुरानो सेपेधुरीमा रहेको टावरलाई व्यवस्थित गर्न र नयाँ स्थापनाका लागि हामीले नेपाल टेलिकमलाई अनुरोध गरिरहेका छौं। वडा स्तरमा इन्टरनेटलगायतका डिजिटल प्रविधि प्रयोगको नीति बनाएका छौं।
    त्यस्तै हाल रुकुम पूर्वमा एउटा पनि एफएम रेडियो संचालन नभएको हुँदा कम्तीमा रुकुम पूर्वको एउटा प्रभावशाली रेडियो स्थापनाको लागि पनि पहल गरिरहेका छौं। त्यसका लागि स्थानीय तहहरू नै अग्रसर भएर गर्ने वा संचार सहकारी मार्फत संचालन हुने रेडियोलाई अनुदान दिने भन्नेबारे छलफल गर्दैछौं।

    रुकुम पूर्वमा एयरपोर्ट, जिल्ला अस्पताल र प्राविधिक शिक्षालय जस्ता संरचनाहरू छैनन्। यसतर्फ के कस्ता योजना छन्?

    हो, अहिले समस्या छ। तर हामी प्रकृयामा छौं। यसमा सिस्ने गाउँपालिका मात्र नभएर भूमे र पुथाउत्तरगंगा गाउँपालिकासँग पनि सहकार्य गरेर अघि बढ्नुपर्छ। हामीले जिल्ला अस्पताल स्थापनाका लागि जग्गा ब्यवस्थापन गरिदिएका छौं। जिल्ला जनस्वास्थ्य कार्यालय स्थापना भैरहेको छ। २ जना डाक्टरहरू पनि आउनुभएको छ। नयाँ जिल्ला भएका कारण स्वभाविक रुपमा समस्या त छ तर काम पनि भैरहेको छ। विमानस्थल अहिले हाम्रो जिल्लामा छैन। हामी पश्चिम रुकुम गएर नै हवाइजहाज चढ्नुपर्ने अवस्था छ। तर हामीले विमानस्थल बनाउन पहल गरिसकेका छौं। वडा २ चामराजा थलोमा एयरपोर्टको अध्ययन गर्ने योजना छ। त्यस्तै भूमे गाउँपालिकाको महतमा पनि एयरपोर्ट स्थापनाको लागि पहल भैरहेको छ।

मेगराज खड्का

मेगराज खड्का थाहाखबरका रुकुम सम्वाददाता हुन्। इमेल : sancharkarmi.megraj@gmail.com

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]