|

सिन्धुपाल्चोक : विनाशकारी भूकम्प गएको तीन वर्ष बितिसक्दासमेत जिल्लाभरका पर्यटन क्षेत्र अझै तंग्रिन सकेका छैनन्। जिल्लामा पर्यटकीय आकर्षण बनेका क्षेत्र र मार्गको पुनर्निर्माणमा सरकारले चासो नदेखाकै कारण सिन्धु पर्यटनले अझै गति लिन नसकेको हो।

ऐतिहासिक र पुरातात्विक महत्व बोकेका मठमन्दिर, गुम्वा र क्षतिग्रस्त पर्यटकीयस्थल अहिले क्रमशः खण्डहर बन्ने क्रममा छन्। पुनर्निर्माण र संरक्षण नगरिएकाले पर्यटकीय गन्तव्य पूर्णरुपमा ओझेलमा छ। निजी क्षेत्रबाट पनि पर्यटकीय विकासका लागि कुनै कदम नचालिएकाले नामुद क्षेत्र सुक्ने अवस्थामा पुगिसकेका छन्।

जिल्लामा बाह्य पर्यटकको आगमन ठप्प रहेको छ। यो वर्ष न्यून आन्तरिक पर्यटकले मात्रै तातोपानीलगायत क्षेत्रको भ्रमण गरेका छन्। भूकम्पपछि अहिलेसम्म तातोपानी क्षेत्रमा एकजना विदेशी पर्यटक नआएको अध्यागमन कार्यालयले जनाएको छ।

तातोपानीको बाटो प्रयोग गरेर वार्षिक ५० हजारभन्दा बढी विदेशी पर्यटक आउने/जाने गर्थे। जसमध्ये ४० हजारभन्दा बढी पर्यटक चीनका हुन्थे। तातोपानी नाका बन्द भएपछि सो बाटो भएर भारतलगायत मुलुकका तीर्थयात्रीले चीनको स्वशासित क्षेत्र तिब्बतको कैलाश मानसरोवर भ्रमण गर्न पाएका छैनन्।

वर्षेनी ठूलो संख्यामा तातापोनी धारा नुहाउन आउने आन्तरिक पर्यटकको संख्यामा भारी गिरावट आएको छ। यो वर्ष पाँच हजार आन्तरिक पर्यटकले तातोपानी धारामा नुहाउन आएको तातोपानी धारा संरक्षण समितिका अगुवा अमृत खड्काले बताए। 

‘भूकम्पको विनाशले यहाँको पर्यटन शून्य बनाएको छ,’ खड्काले भने, ‘नाकाबन्द भएपछि चर्चित पर्यकीय महत्व ओझेलमा पर्‍यो।’ उनले सीमा क्षेत्रको भूकम्प, बाढी र दैनिक पहिरोले क्षतिग्रस्त सडक, भौतिक संरचनाको मर्मत नगरिएको कारण पर्यटक नआएको बताउँछन्।
तातोपानी–६ दुगुनामा रहेको ऐतिहासिकस्थल दुगुनागढीमा भूकम्पपछि कोही पुगेका छैनन्। दुगुनागढी हुँदै ४२ सय मिटर उचाइमा रहेको भैरवकुण्डसम्म जाने पर्यटकीय पदमार्ग क्षतिग्रस्त भएकोले भूकम्पपछि स्थानीय समेत जान छाडेका छन्। तर, दुगुनागढी गाउँ सुधार समितिका अध्यक्ष सोनाम शेर्पाका अनुसार पर्यटन बोर्डबाट विनियोजित रकमले लार्चादेखि भैरवकुण्ड पुग्ने पैदलमार्गमा सिँढी निर्माण भइरहेको छ। शिलालेखको संरक्षणका लागि सरकारले तत्काल चासो दिनुपर्ने
स्थानीयको माग छ ।

पहिला होमस्टे संचालन गरेका दुगुनागढी माथिका यार्मासिंह, खाम्गेक बिक टोल, भूमाचौर पाटीकुना, भेकासिंह, थांमाछे र ढिसिङ टोलका एकसय ४५ घर भूकम्पपछि पूरै विस्थापित छन्। सरकारले सो क्षेत्रको भौगर्भिक अध्ययन नगरेकोले स्थानीय गाउँ फर्किन सकेका छैनन्। बाह्य पर्यटकलाई लक्षित गरी ३० रोपनी जग्गामा स्थापना गरिएको दुगुनागढीस्थित ‘बज्र इको रिसोर्ट’ भूकम्पपछि बन्द छ। उक्त होटेल २० करोड मूल्यमा निर्माण गरिएको पर्यटन व्यवसायी रामकाजी पौडेलले जानकारी दिए। 

‘लार्चा सुख्खा बन्दरगाहदेखि दुगुनागढीसम्म मोनोरेल राख्ने तयारी अन्तिम चरणमा पुगेको थियो,’ पौडेलले भने, ‘भूकम्पले पर्यटकीय क्षेत्रको सपनामाथि बज्रपात भएको छ।’ तर, तातोपानी र लिस्तीको रमणीय क्षेत्र पर्यटकका लागि राम्रो गन्तब्य भएको उनको भनाई छ।

२०७४ बैशाखदेखि बज्र इको रिसोर्ट संचालनमा ल्याउन लागेको उनको भनाई छ । भूकम्पअघि वार्षिक पश्चिमा मुलुकका दुई हजारभन्दा बढी नागरिक दुगुनागढी र भैरवकुण्ड भ्रमणमा आउने गरेका थिए। अहिले आन्तरिक पर्यटक आगमनमा समेत शून्यता छाएपछि भूकम्पबाट बचेका होटेल पुनःसंचालनमा आएको छैन।

पर्यटकका लागि खोलिएका अरनिको राजमार्ग किनारका होटेल धमाधम बन्द हुन थालेको छ। एसियाकै ठूलो साहसिक बन्जी जम्प गरिने नयाँ पुलस्थित ‘द लास्ट रिसोर्ट’मा विदेशी पर्यटक आधा घटेको रिसार्टे सञ्चालक कुमार राउतले जानकारी दिए। ‘अहिले बन्जी जम्पमा समेत पर्यटक घटको छन,' राउतले भने ‘बन्जी जम्प गर्न साता दिनमा सय बढी पुग्थे, अहिले बढीमा ५० जना हुने गरेका छन्।’

सदरमुकाम चौतारा र मेलम्चीबाट भोताङ हुँदै पाँचपोखरी पुग्ने पदमार्गको अवस्था पनि उस्तै छ। न्युन आन्तरिक पर्यटक यस क्षेत्रमा आएपनि विदेशी पर्यटक आएका छैनन्। हेलम्बू, पाँचपोखरी, तातोपानी र जुगल हिमाली क्षेत्र जिल्लाका पर्यटकीय क्षेत्र हुन्। यो वर्ष हेलम्बूसम्म धेरै कम मात्रामा विदेशी पर्यटक आएको स्थानीय लनाम ह्योल्मो बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.