|

सुर्खेत : क्षेत्रीय अस्पताल सुर्खेतमा भर्ना गरिएकी एक आमा र बच्चाको अस्पतालको लापरबाहीका कारण मृत्यु भएको आफन्तले आरोप लगाएका छन्। महाबु गाउँपालिका ५ कालिकोटकी ३२ वर्षीया मनिसरा सिंहको शुक्रबार बिहान मृत्यु भएको क्षेत्रीय अस्पताल कालागाउँ सुर्खेतले घोषणा गरेपछि अस्पतालको लापरबाहीका कारण मृत्यु भएको आफन्तले आरोप लगाएका हुन्। 

सामान्य अवस्थामै रहँदा जाँच गराउन अस्पताल आएकी मनिसराको योनिबाट पानी बगेको भनी हात हालेर बिरामीलाई झन् सिकिस्त बनाएको उनका आफन्तले आरोप लगाएका छन्। बिहीबार बिहान ११ बजे अस्पताल पुगेकी उनलाई दिनभरि सुत्केरी व्यथा नै नलागेको मृतककी दिदी गोमा शाहीले बताएकी छन्।

उनले अस्पतालमा दिनभरि मनसराले आफूलाई बचाइदिन भन्दै हार गुहार गर्दा राती एक बजेसम्म पनि डाक्टर नआएको मृतकका श्रीमान् जगत सिंहले बताए। आवश्यक स्याहार सुसारको लागि बिरामीसँग बस्न पनि नदिएको दिदी गोमाको गुनासो छ। 

बिरामीलाई भेट्न नदिएको गुनासो

क्षेत्रीय अस्पताल प्रशासनले बिरामीलाई भेट्नका लागि आफन्तहरूलाई भित्र पनि जान नदिने बिरामीका आफन्तहरूले गुनासो गर्दै आएका छन्। बिरामीलाई आफन्तले भेटेमा ५०० रुपैयाँ जरिवाना तिराउने भन्दै चेतावनी दिएको पनि गुनासो गरेका छन्। सुत्केरी व्यथा नै नलागेकी मनसरीलाई त्यही समयमा सुई लगाइदिएको र जबरजस्ती छातीमा थिचेको पनि मनसराकी दिदी गोमाको आरोप रहेको छ।

मनसराकी आमा कौशिला शाहीले पनि अस्पतालको लापरबाहीले नै आफ्नो छोरीको मृत्यु भएको आरोप लगाएकी छन्। ‘बरु उपचार गर्न नसक्ने भए अन्तै रिफर गरिदिएको भए हुन्थ्यो। हामी अन्त लिन्थ्यौँ आमाको ज्यान त बच्थ्यो,’ दिदी गोमाले भनिन्।

अस्पतालले जानी-जानी लापरबाही गरेको भन्दै मृतककी आमा कौशिलाले भनिन्, ‘दोषीलाई कडा कारबाही गर्नुपर्छ।’ ‘मनसराको एक छोरा र छोरीको सम्पूर्ण जिम्मा पनि अस्पतालले लिनुपर्छ।’ आमा कौशिलाले आक्रोश पोखिन्।

मृत्यु हुनुमा हाम्रो दोष छैन : अस्पताल

यता, अस्पतालले भने मृतकका आफन्तले लगाएको आरोप अस्वीकार गरेको छ। अस्पतालका कारण नभई फोक्सोमा जमेकाे पानीको फोका आफैँ फुटेर मनसराको मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर डम्मर खड्काले बताए।

पाँच दिनदेखि मरेको बच्चा पेटमा, अप्रेसन भएन

त्यसरी नै दैलेखको ठाँटी काँध गाउँ पालिकाकी चाकुरी विक तीन दिनदेखि पेटमा दुईवटा मृत बच्चाका साथ अस्पतालमै उपचारका लागि भर्ना भएकी छन्। वैशाख १७ मा दैलेख मै जाँच गराएर १८ गते चाकुरी र उनका श्रीमान हरि विक क्षेत्रीय अस्पताल सुर्खेतमा भर्ना भएकी हुन्। १९ गते भिडियो एक्सरे गर्दा दुईवटै बच्चा मृत भएको जानकारी अस्पतालले हरिलाई दिएको थियो।

तर, चाकुरीको अप्रेसन हुनसकेको थिएन। अस्पतालले बेवास्ता गरेको भन्दै श्रीमान हरिले गुनासो गरे। ‘अस्पताल प्रशासनलाई अप्रेसनबारे सोध्दा समय लाग्छ भन्दै हप्काए,’ हरिले भने। अस्पतालले भने, अवस्था हेरेर मात्र अप्रेसन गरिने बताएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.