|

बाँके : सिण्डिकेट पक्षमा यातायात व्यवसायीले यातायात सेवा बन्द गरेपछि नेपालगन्ज–कोहलपुर सडक खण्डमा अटोरिक्साले यात्रुबाट चर्को शुल्क उठाउन थालेका छन्। यातायात व्यवसायीले सेवा बन्द गरेपछि भारतबाट नेपाल फर्किएका नेपालीहरू प्रत्यक्ष मारमा परेका छन्। 

बन्दको फाइदा उठाउँदै अटोरिक्सा व्यवसायीले नेपालगन्ज–कोहलपुरसम्म दुई सयदेखि तीनसय रुपैयाँ भाडा लिने गरेका छन्। कोहलपुरबाट नेपालगन्जसम्मको १६ किलोमिटर दूरीमा दुई सय रुपैयाँ भाडा तिरेको नेपालगन्ज उपमहामनगरपालिका–१२, बेलासपुरकी सीता पौडेलले बताइन्।

उनले अन्य सवारी साधन नपाएका कारण महँगो भाडा तिर्न बाध्य भएको बताइन्। ‘नआइ नहुने भएकोले महँगो भाडा नै सहि भनेर अटोरिक्सामा नेपालगन्ज आएँ,’ उनले भनिन्, ‘बस, माइक्रो र किया बस बन्दले अटोरिक्साको भाउ निकै बढेको छ,’ उनले भनिन्। 

सिण्डिकेट पक्षमा यातायात व्यवसायीले बाँकेलगायत देशभर ठूला तथा साना यातायातका साधन बन्द गरेपछि अटोरिक्सा चालकले ठगी धन्दा सुरु गरेको कोहलपुरका श्रीमणी खनालले बताए। उनले अटोरिक्साले चर्को शुल्क अशुल्न थालेको बताए। ‘बन्दको फाइदा अटोरिक्साले उठाउन थालेका छन्, अटोरिक्सा छोई नसक्नु भएको छ,’ उनले भने । 

स्थानीयस्तरमा ठूला सवारी साधन नचलेपछि निर्विकल्प बनेको अटोरिक्साले दोब्बर–तेब्बर भाडा असुली गरेर यात्रुलाई ठगी गरेको उनले बताए। ‘नदिउँ भने चढाउँदैनन्, चर्को भाडा तिरेर भए पनि नचढी सुख छैन,’ उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.