|

काठमाडौं : केन्द्रीय समितिको आकार घटाउने विषयमा नेताहरु एकमत भए पनि अब बन्ने केन्द्रीय समितिमा कसलाई राख्ने भन्ने विषयमा माओवादी केन्द्रभित्र विवाद देखिएको छ। सानो आकारको केन्द्रीय समिति बनाउन  लागेको सत्तारुढ माओवादी केन्द्रमा केन्द्रीय समिति सदस्यको संख्या घटाउँदा अपनाउने 'विधि' का विषयमा विवाद भएको हो।

अहिले माओवादी केन्द्रको केन्द्रीय समितिमा २५ सय भन्दा बढी सदस्य छन्, जसलाई महाधिवेशन आयोजक समिति नाम दिइएको छ। तर पुस तेस्रो साता गर्ने भनिएको महाधिवेशन स्थगित भएपछि महाधिवेशन आयोजक समिति भंग गरी चुस्त, दुरुस्त र सीमित केन्द्रीय समिति बनाउने तयारी उसको छ।  

आइतबार प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निजी निवास लाजिम्पाटमा बसेको कार्यालय समिति बैठकमा भएको छलफलमा स्पष्ट दुई धार देखिएको छ। आइतबार बिहान र दिउँसो गरी दुईपटक बसेको बैठकमा तत्कालीन एमाओवादीका नेता र अन्य नेताका फरकफरक धारणा आएपछि बैठक सोमबारका लागि सरेको छ। 

आइतबारका बैठकमा तत्कालीन एमाओवादीका नेताहरुबाहेककाले गत जेठ ६ मा पार्टी एकता हुँदा संयुक्त एकता अधिवेशनले पारित गरे बमोजिम नै ४ सय ९९ जनाको केन्द्रीय समिति बनाउन प्रस्ताव गरेका छन्। केन्द्रीय समितिको संख्या घटाउँदा संयुक्त एकता अधिवेशनले पारित गरेको निर्णयलाई आधार मान्नुपर्ने उनीहरुको भनाई छ।

‘४ सय ९९ जनालाई आधार मानेर अघि बढ्नु नै सबैभन्दा उत्तम विकल्प र विधि हो, हामीले त्यसैअनुसार कुरा राखेका छौँ’, माओवादी केन्द्रका कार्यालय समितिका सदस्य तिलक परियारले भने।

तर तत्कालीन एमाओवादीका नेताहरु भने उक्त संख्यालाई आधार बनाउँदा आफ्ना धेरै नेताहरु छुट्ने भएकोले त्यसलाई स्वीकार्ने पक्षमा छैनन्। माओवादी केन्द्रका एक कार्यालय समिति सदस्यले उक्त विधि (प्रस्ताव) मा असहमति जनाएका हुन्।

संयुक्त अधिवेशनलाई आधार मानेर ४ सय ९९ जनाको केन्द्रीय समिति बनाउँदा समस्या थप जटिल बन्ने यो पक्षको बुझाइ छ। ‘संयुक्त एकता अधिवेशनले तोके बमोजिम ४ सय ९९ जनालाई आधार मानेर जाँदा हाम्रा प्रभावशाली र सिनियर नेता पाखा लाग्छन्, त्यस्तो तरिकाले हुँदैन, अर्को विधिका आधारमा केन्द्रीय समिति बनाउनुपर्छ’ एक नेताले बैठकमा भनेका थिए। ती नेताले ४ सय ९९ लाई आधार मानेर संख्या घटाउँदा एकताबाट आएका समूहका जुनियर नेता पनि केन्द्रीय सदस्य हुने र त्यसले संगठन विस्तारमा झन् समस्या ल्याउने बताए।  

पुरानो एमाओवादीबाट आएका नेताहरु बाहेकका भने संयुक्त एकता अधिवेशनको निर्णय अनुरुप ४ सय ९९ जनालाई आधार मान्ने बाहेकका अरु विधि आफूहरुलाई स्वीकार्य नहुने स्पष्ट पारेका छन्।

विभिन्न १० माओवादी घटकको एकतापछि गठन भएको माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको आकार २१ सय सदस्यीय पुगिसकेको छ। सुरुमा ६९९ जनाको समिति बनाएको माओवादीले त्यसलाई थप गर्दै एक हजार ९९, चौध सय ९९ हुँदै २१ सय पुर्‍याएको थियो। प्रवक्ता भुसालका अनुसार एकतामा प्रक्रियामा सहभागी हुनुपूर्वका विभिन्न पार्टीका केन्द्रीय सदस्य, अहिलेका सचिवालय सदस्य वा पोलिटब्युरो सदस्यमध्ये कुनचाहिँलाई आधार मानेर केन्द्रीय समिति निर्माण गर्ने भन्ने विषयमा छलफल केन्द्रित छ।

सम्बन्धित समाचारः सानो आकारको केन्द्रीय समिति बनाउन 'विधि खोज्दै' माओवादी केन्द्र

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.