|

दार्चुला : यातायात व्यवसायीहरूले यातायात बन्दको घोषणा गरेपछि दार्चुलाबाट अन्यत्र जाने र अन्यत्रबाट दार्चुला आउने कुनै पनि सवारी साधान सञ्चालनमा आएका छैनन्।

यातायातका साधनहरु नहुँदा नागरिकहरुले सास्ती त खेप्नु परेको छ तर केही दिनका लागि त हो भन्दै नागरिकमा निराशा भने देखिएको छैन। यातायात बन्दको जानकारी पाएकाले बस काउन्टरहरूमा यात्रुहरु समेत सम्पर्कमा नआएको यातायात व्यवसायीहरुले बताएका छन्। लामो तथा छोटो दुरीका सवारी साधन नचलेपछि नागरिकहरुले मोटर साइकल र ट्याक्टरमा समेत आवत जावत गर्न थालेका छन्। 

कुनै समिति दर्ता छैन

यातायात सम्बन्धी काम गर्ने कुनै पनि समिति जिल्ला प्रशासन कार्यालय दार्चुलामा दर्ता नभएको जिल्ला प्रशासन कार्यालय स्रोतले जानकारी दिएको छ।

गृह मन्त्रालयले यातायात व्यवसायीहरुलाई नियन्त्रणमा लिन पत्राचार गरे पनि जिल्ला प्रशासनका कुनै पनि यातायात व्यवसायी दर्ता भएकाले यातायात व्यवसायीसँग छलफल गर्ने जमर्को गरिएको सहायक प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले जानकारी दिए। ‘गृह मन्त्रालयको पत्राचारपछि प्रहरीसँग समन्वय गरेर यातायात व्यवासायीसँग छलफल गर्ने प्रयासमा छौं।’ सहायक प्रजिअ जोशीले भने। प्रहरीको सहयोगमा यातायात व्यवसायीहरूका प्रतिनिधिहरूलाई खोजेर छलफल गरिने उनको भनाइ छ।

गृह मन्त्रालयको पत्राचारपछि यातायात व्यावसायीहरूसँग सम्पर्क गर्न खोजिएको भए पनि यातायात व्यवसायीहरू सम्पर्कमा नआएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी जनकबहादुर शाहीले जानकारी दिए। ‘जिल्लामा समिति दर्ता छैन, व्यवसायीसँग छलफल गर्न खोजेका हौं तर कोही पनि भेटिएका छैनन्।’ डिएसपी शाहीले भने।

नागरिक ट्याक्टरमा

यातायात व्यवसायीहरूले यातायात बन्द गरेपछि दार्चुला सदरमुकाम वरपर यात्रा गर्नेहरुले मोटर साइकलमा लिफ्ट मागेर यात्रा गरेका छन् भने टाढा जानेहरूले ट्याक्टरको प्रयोग गरेका छन् । यार्सागुम्बा संकलनका लागि लेकतिर जाने स्थानीय ट्याक्टर चढेर मार्मा गाउँपालिकाको केन्द्र लटिनाथ पुगेका छन्। कोही गोकुलेश्वरबाट, कोही गन्नाबाट ट्याक्टरमा लटिनाथ पुगेको स्थानीय केशव बिष्ट बताए।

जिपहरू सञ्चालनमा नआएपछि खलंगा–काँटै सडकमा पनि यात्रुहरूले ट्याक्टरमा यात्रा गरेका छन्। दुई पटकसम्म ट्याक्टरले यात्रु ओसारेको महाकाली नगरपालिका वडा नम्बर ३ काँटैका धनसिह भण्डारी बताउँछन्।

देशलाई राजश्व शून्य !  

जिल्लामा महाकाली लोकमार्गसहित गोकुलश्वर–पारिबगड, खलंगा–दल्लेक–धुलिगडा–देथला,खार–सिप्टी, खलंगा–हिकिला क्षेत्रमा दैनिक दर्जनौं सवारी साधानहरु चल्ने गर्दछन्।

महाकाली यातायातका मात्रै पाँच दर्जन जति जिपहरू यी सडकमा गुड्न गर्दछन् भने दुई दर्जन बसहरू दार्चुलाबाट अन्त्रय सेवा दिइरहेका छन्। त्यसैगरी, सुदूरपश्चिम र पवनदूत यातायात व्यवसायीहरूका पनि आधा दर्जन बसहरूले यातायात सेवा दिने गर्दछन्।

साना ठूला गरेर एक सय सवारी साधनहरू सञ्चालनमा आउने भएता पनि कुनै समिति आधिकारिक रुपमा दर्ता छैनन् । जस कारण यातायात सञ्चालन गरे बापतको राजश्व सरकारी धुकुटीमा जानबाट बञ्चित भएको छ। ट्राफिक र अन्य प्रहरी कारवाहीमा उठेको रकम बाहेक दार्चुलाका यातायात व्यवसायीहरुले सरकारलाई प्रत्यक्ष कर बुझाउँदैनन्। केन्द्रीय कार्यालयबाट नै कागजी कारवाही हुने भएकाले दार्चुलाबाट कर नतिरेको यातायात व्यवसायीहरू बताउँछन् । सवारी धनीहरूले भने यातायात व्यवसायीको कार्यालयमा सवारी दर्ता र रुट परमिटका लागि ठूलो धनराशी बुझाउने गरेका छन्। 

साना गाडीलाई समितिमा दर्ता गराउन नै साढे ३ लाख रुपैयाँ लाग्ने गाडीधनीहरू बताउँछन्। चार महिनाको रोड प्रमिटबापत सात सय र छ महिनाको जाँचपास बापत तीन सय रुपैयाँ लिने गरेको एक गाडीधनीले बताए। बसका लागि भने यो रकम झनै दोब्बर हुने गरेको छ। यसरी गाडीधनीहरूबाट लाखौँ रुपैयाँ तथा यात्रुबाट भाडासमेत उठाउने यातायात व्यवसायीहरूले सरकारलाई भने यसबाफत कुनै पनि राजश्व बुझाउने गरेका छैनन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.