स्टार बन्ने ठूलो सपना

|
फोटो क्रेडिट: मेरो फिल्म

काठमाडौं : सपना सबैले देख्छन्। कत्तिको सपना सजिलै पूरा हुन्छन् त कत्तिको सपना अधुरै रहन्छन्। कतिपय मानिस आफ्नो सपना पूरा गर्न दिनरात मिहिनेत गर्छन्।

बेलुका ६ बजेको समय थियो, कवीर खड्काको मोबाइलमा रिङ बज्यो। एकान्तमा एक्लै बसिरहेका कवीरले फोन रिसिभ गरे। ‘अन नोअन’ नम्बरबाट आएको फोनमा कुरा सकिन नपाउँदै उनीमा खुसीको सीमा रहेन। खुसी हुनुको कारण थियो, उनको सपना पूरा भएको थियो। उनी फिल्म ‘लम्फु’मा अनुबन्धित भए। 

फिल्म खेल्ने ठूलो सपना

दमकमा जन्मिएका कवीरको सपना नै फिल्म खेल्नु थियो। सानैदेखि फिल्ममा चासो दिन्थे। फिल्म हेर्थे र फिल्ममा कलाकारले गरेजस्तै नक्कल गर्न खोज्थे। उनी भन्छन्, ‘म सानैदेखि फिल्ममा चासो दिन्थेँ। फिल्म हेरेर म कलाकारको जस्तै एक्टिङ गर्न खोज्थेँ।‘

एसएलसीपछि उनीमा झनै फिल्मको भूत चड्यो। फिल्म क्षेत्रमा आउने माध्यम उनलाई केही थाहा थिएन। उनी भन्छन्, ‘फिल्म क्षेत्रमा छिर्नका लागि के गर्नुपर्छ, कसरी अभिनय गर्ने केही थाहा थिएन। तर, सपना फिल्म क्षेत्र नै थियो।'

छोरालाई इन्जिनियर बनाउने सपना बोकेका उनका बुबाआमालाई भने यो कुरा स्वीकार्य थिएन। कवीरले बुबाआमाकै करकापमा परेर १० जोड दुईमा विज्ञान विषयमा भर्ना भए। उनी भन्छन्, ‘घरमा मम्मी बुबाले एकदमै जिद्दी गरेपछि मैले साइन्स पढेँ।‘ +२ मा विज्ञान पढिरहँदा पनि उनको सोच इन्जिनियर बन्ने कहिल्यै नभएको कवीर बताउँछन्।

फिल्मसम्बन्धी अध्ययन गर्न काठमाडौं

+२ सकिएसँगै उनले काठमाडौंमा फिल्मसम्बन्धी अध्यापन गराउने स्कुल भएको थाहा पाए। उनी घरमा जिद्दी गरेर बुबाआमालाई फकाएर फिल्म पढ्न काठमाडौं आए। काठमाडौं आएर उनी, ‘ओस्कार कलेज अफ फिल्म स्टडिज’मा भर्ना भएर फिल्मबारे पढ्न थाले।

उनले फिल्मबारे धेरै कुरा सिक्ने अवसर पनि पाए। भन्छन्, ‘त्यहाँ भर्ना भएपछि फिल्म क्षेत्रका धेरै मान्छेहरूसँग घुलमिल हुन पाएँ। उहाँहरूबाट पनि फिल्मबारे थप बुझ्ने अवसर मिल्यो।'

कलेजको अन्त्यतिर ‘लम्फु’को अडिसन

कवीरको फिल्म पढाइ सकिन लागेको थियो। कलेजले धेरै प्रोजेक्ट वर्क गराउथ्यो। उनी पनि त्यसमा समावेश हुन्थे। उनले धेरै सर्ट फिल्ममा अभिनय गरिसकेका थिए। त्यहीवेला उनले फिल्म लम्फुको अडिसन खुलेको थाहा पाए।

‘भए पास नभए अभ्यास’। यही सोचसहित उनी अडिसनमा गए। अडिसन दिएर आए। तर, पाँच महिनासम्म पनि उनलाई केही रेस्पोन्स आएन। भन्छन्, ‘त्यत्रो समय केही खबर नआउँदा त म आउट भएजस्तै लागेको थियो।'

कवीरलाई पाँच महिनापछि पुन: अडिसनमा डकियो। उनी गए, फेरि अडिसन दिए। त्यसको केही दिनपछि उनलाई आफू सेलेक्ट भएको फोन आयो, कवीर एकान्तमा थिए। उनीमा खुसीको सीमा थिएन। उनी सम्झिन्छन्, ‘म त्यहाँ एक्लै ठूलो स्वर निकाल्दै कराएँ पनि।'

पैसा हालेर फिल्म खेलेको आरोप

धेरैले उनलाई फिल्ममा पेसा हालेर खेलेको आरोप लगाए। तर, कवीर यो कुरा गलत भएको बताउँछन्। उनी भन्छन्, ‘मैले फिल्म खेल्न पैसा हालेको छैन। म अडिसनबाट सेलेक्ट भएको हुँ, पैसा तिरेर हैन।'

पैसा हालेको आरोप लागिरहँदा पनि एक रमाइलो घटना भएको कवीर सम्झिन्छन्। भन्छन्, ‘सुटिङको पहिलो दिन मलाई स्पोट म्यान भाइ आएर कति पैसा हाल्नुभयो दाइ भनेर सोध्यो पनि। आफू अकमक्क परेका उनी सम्झन्छन्।' उनी आफू पैसा हालेरभन्दा पनि ट्यालेन्ट देखाएर र फिल्मको क्यारेक्टर फिट हुने भएर नै फिल्ममा अनुबन्धित भएको बताँउछन्।

पहिलो फिल्ममा नै ‘लम्फु’

हाम्रो समाजमा लम्फु शब्दलाई खासै राम्रो मानिँदैन। कवीर यस फिल्ममा लम्फु बनेका छन्। तर, यसलाई पनि उनी आफ्नो भाग्य ठान्छन्। भन्छन्, ‘पहिलो फिल्ममा नै मेजर क्यारेक्टर पाएर डेब्यु गर्नु भनेको त मेरो भाग्य हो नि।‘

आफू लम्फु बनेको भन्दा पनि फिल्मको मेजर क्यारेक्टर बनेर डेब्यु गर्न पाएकोमा निकै खुसी भएको उनी बताउँछन्। भन्छन्, ‘मलाई लम्फु बनेकोमा दु:खभन्दा पनि एकदमै खुसी लागेको छ।‘

मिहिनेत बढी, आस पनि उत्तिकै

फिल्ममा आफूले निकै मिहिनेत गरेको कवीर बताउँछन्। भन्छन्, ‘यो फिल्ममा मैले धेरै नै मिहिनेत गरेको छु। १४ महिना त दाह्री नै पालेँ।'

फिल्ममा गरेको मिहिनेतअनुसार फिल्मबाट सफलता पाउने आस कवीरमा छ। ‘मलगायत मेरो टिमले फिल्ममा धेरै नै मिहिनेत गरेका छौँ,’ उनी भन्छन्, ‘फिल्ममा गरेको मिहिनेतअनुसार दर्शकले फिल्मलाई रुचाउने आशा छ।‘  

स्टार बन्ने चाहना

कलाकार कसलाई स्टार बन्ने चाहना नहोला र! हो, कवीरलाई पनि स्टार बन्ने ठूलो धोको छ। ‘प्राय: कलाकार सबैको स्टार बन्ने चाहना त हुन्छ नै,’ उनी भन्छन्, ‘त्यो चाहना मलाई पनि छ।'

अहिले भर्खर फिल्म क्षेत्रमा प्रवेश गरेकाले पनि पहिलो फिल्मबाट नै स्टार हुने आशा उनीमा छैन। आगामी दिनमा पनि फिल्म गर्दै जाने र कुनै दिन स्टारको दर्जा पाउने उनको विश्वास छ। उनी भन्छन्, ‘पहिलो फिल्मबाट नै स्टार बन्छु भन्ने छैन, तर आगामी दिनमा फिल्म गर्दै जाँदा एकदिन स्टार भइन्छ होला।'

प्रतिक्रिया बुझेर मात्र अबको योजना

कवीरलाई फिल्म क्षेत्रमा नै काम गर्नुछ। फिल्म लम्फुपश्चात् केही फिल्मको अफर पनि आए। तर, उनी आफ्नो पहिलो फिल्मको दर्शक प्रतिक्रिया बुझेर मात्र अन्य फिल्ममा काम गर्ने सोचमा छन्। भन्छन्, ‘पहिला दर्शकको प्रतिक्रिया लिन्छु अनि मात्र अन्य फिल्मबारे सोच्छु।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.