|

गोरखा : भूकम्पले घरबास गुमाएका र केही सुकुम्बासीलाई समेत राख्ने गरेर पालुंटारमा निर्माण सुरु भएको संयुक्त आवास गृहको काम रोकिएको छ। पुननिर्माण प्राधिकरणमार्फत निर्माण सुरु भएको आवास गृह निर्माणको काम पनि प्राधिकरणले नै रोकेको हो। 

आवास भवन बनाउन नाप नक्सा गरी निर्माणको पहिलो चरणको काम भइरहँदा आफैँले थालनी गरेको काम प्राधिकरणले रोकेको पालुंटार नगरपालिकाकी उपप्रमुख पम्फा बसेलले जानकारी दिइन्। ‘पुननिर्माणले नै काम सुरु गरेको हो,’ बसेलले भनिन्, ‘अहिले उसले माथिबाटै रोकेको जनाएको छ। पहिले निर्णयबिना नै काम सुरु भएको रहेछ। अहिले कानुनी प्रक्रिया अनुसार भएन भनेर रोकिएको भनेर जानकारी आएको छ।’  

दुई करोड रुपैयाँ खर्चेर जग खन्ने काम समेत भइसकेको आवास भवनको काम रोकिएपछि नगरपालिकाले उक्त काम र ठाउँको सदुपयोग गर्ने निर्णय गरेको छ। ‘दुई करोड रुपैयाँ खर्च गरेर निर्माण सामग्री झारेको छ। जग खनेको छ,’ उनले भनिन्, ‘आवास भवन नबन्ने हो भने यहाँ निकट भविष्यमा बन्ने कृषि क्याम्पसले प्रयोग गर्ने गरेर उक्त कामको सदुपयोग गर्न हामीले निर्णय गरेर प्राधिकरणलाई जानकारी गराएका छौँ।’ 

१५ करोड ५१ लाख रुपैयाँ खर्चेर बन्न लागेको उक्त भवन ३० महिनाभित्र सम्पन्न गर्ने भनेर सम्झौता भएको थियो। पुननिर्माण  प्राधिकरणले २०७३ साउन २४ मा स्वीकृत गरेको बहुवर्षीय खरीद गुरुयोजना अनुसार आवासगृह निर्माणका लागि श्यामसुन्दर निर्माण सेवासँग सम्झौता गरेको थियो। प्राधिकरणले गतवर्षको फागुनको पहिलो हप्ता पत्र लेख्दै काम रोक्न निर्देशन दिएपछि दुई करोड रुपैयाँ खेर गएको छ। ‘काम रोक्न भन्ने व्याेहोराको पत्र अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइबाट आयो,’ शहरी विकास तथा भवन डिभिजन कार्यालय गोरखाका प्रमुख रोशन श्रेष्ठले भने, ‘सोही पत्र अनुसार हामीले ठेकेदारलाई काम रोक्न भनेर भनेका छौँ।’  

काम रोकिएपछि भुक्तानी माग 

काम रोकिएको जानकारी पाएपछि निर्माण कम्पनीले अहिलेसम्म भएको कामको मूल्यांकनको आधारमा भुक्तानी माग गरेको छ। ‘काम रोक्ने निर्देशन आएपछि हामीले पनि काम रोक्न भनेर निर्माण कम्पनीलाई भन्यौँ’ प्रमुख श्रेष्ठले भने, ‘उसको लगानी भइसकेको छ। उसले अहिलेसम्म कति लगानी भएको छ। त्यो रकम भुक्तानी दिनुपर्ने भनेर माग गरेको छ।’  

संयुक्त आवास भवन दुई वटा क्लस्टरमा निर्माण सुरु भएको थियो। दुई वटा आवास गृह बनाउने याेजना बनाइएको थियो। दुई वटा भवनमा १३० परिवार बस्न मिल्ने गरी निर्माण सुरु भएको आवास भवनको निर्माणको काम रोकिएको हो। भवन निर्माणका लागि १२ रोपनी जग्गा पालुङटार नगरपालिका च्याङ्लीमा उपलब्ध गराएको छ।   

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.