|

मुलुकमा अहिले सबैभन्दा बढी चर्चामा रहेको विषय हो, सुन। केही महिनाअघि तस्करीको साढे ३३ किलो सुन विमानस्थलबाट बाहिर आउने क्रममा हराएको सन्दर्भबाट सुरु भएको यो विषयले ठूलै रूप लिइसकेको छ। यो घटनाले तीन जनाको ज्यान मात्रै लिएन, ३८ क्विन्टल सुन एउटै समूहले तस्करी गरेको, सुन तस्करीमा प्रहरीका उच्च अधिकारीको मिलेमतो भएकोजस्ता ठूला रहस्यको उद्घाटनसमेत गरेको छ। 

इमानदार भनिएका प्रहरी अधिकृतसमेत धमाधम यो काण्डमा मुछिएपछि मुलुकको सुरक्षाव्यवस्थामाथि गम्भीर प्रश्न खडा भएको छ। ‘लहरो तान्दा पहरो गएको’ भनेजस्तै सुनकाण्डमा संलग्न को को सार्वजनिक हुने हुन् भन्ने प्रतीक्षा र डर छ। यही सेरोफेरोमा सनातन हिन्दु धर्मशास्त्रमा भएका सुनसम्बन्धी प्रसंगको चर्चा गर्नु सान्दर्भिक होला । 

सनातन हिन्दु धर्ममा जन्मदेखि मृत्युसम्मका संस्कार, विभिन्न धार्मिक अनुष्ठानमा नभई नहुने वस्तु हो, सुन। हाम्रा संस्कार–संस्कृतिमा सुन नभई हुँदैन। सानातिना अशुद्धि चोख्याउनदेखि ठूला ठूला प्रयोजनका लागि पनि यसकै आवश्यकता पर्छ। 

एकातिर आकर्षक अर्कातिर बहुमूल्य र पवित्र मानिने वस्तु, सुन। देखेपछि कसको मन नलोभिएला! यति महत्त्वपूर्ण वस्तु भएर पनि सुनले मानिसलाई किन अपराध कर्ममा प्रेरित गर्छ? सनातन शास्त्रमै भनिएको छ, ‘सुन अपराध वा पापको कारक पनि बन्छ।’

एकातिर आकर्षक अर्कातिर बहुमूल्य र पवित्र मानिने वस्तु, सुन। देखेपछि कसको मन नलोभिएला! यति महत्त्वपूर्ण वस्तु भएर पनि सुनले मानिसलाई किन अपराध कर्ममा प्रेरित गर्छ त? 

सनातन शास्त्रमै भनिएको छ, ‘सुन अपराध वा पापको कारक पनि बन्छ।’

नामै छन् १९ 

संस्कृत भाषामा सुनका १९ नाम छन्। स्वर्ण, सुवर्ण, कनक, हिरण्य, हेम, हाटक, तपनीय, शान्तकुम्भ, गांगेय, भर्म, कर्बुर, चामीकर, जातरूप, महारजत, काञ्चन, रुक्म, कार्तस्वर, जाम्बूनद र अष्टापद। अमरकोषअनुसार यी सबै पहेँलो धातु सुनका नाम। स्वर्ण वा सुवर्णबाट अपभ्रंश हुँदै नेपाली भाषामा ‘सुन’ र हिन्दीमा ‘सोना’ बनेको बताइन्छ। 

कसरी भयो उत्पत्ति?

अग्निदेवबाट सुन उत्पत्ति भएको प्रसंग पुराणमा अाउँछ। ब्रह्मवैवर्त पुराणको श्रीकृष्णजन्मखण्डमा अग्निको वीर्यको रूपमा निस्केको थुप्रो सुन हुन गएको धर्मशास्त्री डा.देवमणि भट्टराई बताउँछन्। आगो र सुनको रंग पनि एकै किसिमको हुन्छ। पुराणमा मय दानवको स्वर्ण दरबारको चर्चा छ। रामायणमा रावणको लंकापुरी सुनको भएको उल्लेख छ ।

धार्मिक महत्त्व 

सुनलाई महालक्ष्मी अर्थात् समृद्धिको प्रतीक मानिएको छ। थोरै मात्र सुनदान पनि अनन्त पुण्यफल दिने पुराणमा बताइएको छ। श्रीमद्भागवत सप्ताह होस् वा देवीभागवत नवाह, सत्यनारायण व्रत होस् वा स्वास्थानी व्रत, सुनको प्रतिमा नै थापेर मुख्य देवताको आवाहन(बोलाउने\जगाउने) गरिन्छ। देवताका रूपमा विभिन्न विधिले पूजा गरी अन्त्यमा विसर्जन गर्ने परम्परा छ। यसैगरी भवन शिलान्यास गर्दा पनि पञ्चकलशमा सुनको प्रतिमा अनिवार्य मानिन्छ। विभिन्न अनुष्ठानमा कलशको पूजा गर्दा आवश्यक पर्ने पञ्चरत्नमध्ये एक हो, सुन।

अभ्युदयका लागि वा मरणासन्न व्यक्तिका लागि गरिने दशदानमा पनि एक वस्तु सुन हुन्छ। नरक पर्नबाट बच्न गरिने अष्टमहादानमा पनि एक धातु सुन समावेश गरिन्छ। तुलादान गर्दा पनि सुनकै सन्दर्भ आउँछ। सुन नसकेरै अचेल सुन मिसाइएको (विश्वास) पहेँला सिक्का दान गर्ने चलन छ।

अन्त्यकर्ममा सुनका तारले पिण्ड काटेर भाग लगाउने विधान पाइन्छ। सकेसम्म पूजा गर्ने मूर्ति पनि सुनकै उत्तम मानिन्छ। त्यति नभए पनि जलप लगाइन्छ। ‘सुनका ढोका’, ‘सुनका छाना’, ‘सुनका गजुर’ जस्ता भनाइ मन्दिरकै प्रसंगमा प्रयोग हुन्छ। सुन उपलब्ध नभए नभए कम्तीमा जलप लगाउने चलन छ। 

साना नानीको नाक, कान छेडेर सुनका आभूषण लगाइदिइन्छ। विवाहमा सुनका औंठी, सिक्री, तिलहरी आदि लगाइदिने लौकिक चलन छ।

आयुर्वेदमा सुन
मीमांसा विषयका विद्वान् प्रमोदवर्धन कौण्डिन्यायनका अनुसार सुन अनादिकालदेखि नै महत्त्वपूर्ण छ। वेद, उपवेदमा सुन लगाउँदा आयु बढ्ने उल्लेख छ । वेदमा हिरण्यवर्णकी देवीतत्त्वको उल्लेख छ । देवीदेवताका आभूषण, राजा–महाराजाले मुकुट आदि, महिलाको सौन्दर्यको वस्तुदेखि स्नातकले समेत कानमा लगाउने कुण्डल सुनकै बनाउने सन्दर्भ आउँछ। हिन्दु परम्परामा महिलाले नाक छेडेर सुनकै फुली लगाउँछन्। ‘तर यसरी शरीरमा लगाइने सुन असल हुनुपर्छ’, कौण्डिन्न्यान भन्छन्, ‘अन्य रसायन मिसाएर बनाइएको सुनले खराब गर्ने आयुर्वेदमा उल्लेख छ।’

किन बन्छ पापको कारण?

श्रीमद्भागवत महापुराण प्रथम स्कन्ध १७ अध्यायमा यस्तो प्रसंग आउँछ–

महाभारत युद्ध सकिई पाण्डवको देहान्त भइसकेपछि परीक्षित राजा थिए। उनी प्रजापालक राजर्षि मानिन्थे। उनकै पालामा द्वापरयुग सकिई कलि प्रारम्भ भयो । एक पटक उनी घुम्दै जाने क्रममा राजाका वेषधारी एक व्यक्तिले गाई र गोरुको जोडीलाई निर्ममतापूर्वक पिट्न लागेको देखे । ती दुई थिए पृथ्वी र धर्म । यसरी उनीहरूलाइ कुटेको देखेर सहन नसकी परिक्षित उसलाई मार्न जाइलागे। ऊ थियो कलि। ‘माफ गर्नुस् महाराज मलाई नमार्नुस्।’ उसको करुण स्वरमा पग्लिहाले महाराज। माफी दिए। 

परीक्षितको धर्मराज्य! ‘महाराज मैले बस्ने ठाउँ पाइनँ’, कलिले भन्यो। जुवा, मद्यपान, कामवासना र हिंसा यी चार ठाउँ तोकिदिए। यी ठाउँमा असत्य मद, आशक्ति र निर्दयिता मात्र हुने बताइन्छ। सबै नराम्रै–नराम्रा ठाउँ पर्‍यो। कलिले चित्त बुझाएन, भन्यो, ‘कुनै एक त राम्रो ठाउँ दिनुहोस्, महाराज! परीक्षितले एकछिन घोतलिए र भने, ‘ल सुनमा गएर बस्।’ राजाले सुनको श्रीपेच लगाएका थिए। कलि तत्काल उनकै शिरमाथि गएर बस्यो।

सबै नराम्रै–नराम्रा ठाउँ पर्‍यो। कलिले चित्त बुझाएन, भन्यो, ‘कुनै एक त राम्रो ठाउँ दिनुहोस्, महाराज! परीक्षितले एकछिन घोत्लिए र भने, ‘ल सुनमा गएर बस्।’ राजाले सुनको श्रीपेच लगाएका थिए। कलि तत्काल उनकै शिरमाथि गएर बस्यो।

एकदिन शिकार खेल्न जाने क्रममा परीक्षितलाई असाध्यै पानी प्यास लाग्यो। हरिणको पछि दगुर्दा दगुर्दै थाकेका उनी समिक ऋषिको आश्रममा पुगे। नम्र भावमा पानी मागे। ध्यानमग्न ऋषिले सुनेनन्। प्रतिक्रियै दिएनन्। ध्यानमा मग्न रहे।

राजामा अहंभाव उत्पन्न भयो, ‘मलाई नटेर्ने?’ शान्त स्वभावका उनलाई जीवनमा यत्तिको रिस कहिल्यै उठेकै थिएन । ‘ऋषिलाई दण्ड दिनुपर्यो। के गर्ने?’ कुटीबाट बाहिर निस्कने क्रममा मरेको सर्प धनुषले उठाएर ल्याए र ऋषिको गलामा बेरिदिए। लागे आफ्नो बाटो। छोरा आइपुग्दा आफ्ना बाबुको गलामा सर्पको माला देखी क्रोधित भए। ऋषि ध्यानबाट उठ्नुअघि नै श्राप दिए ‘मेरो बाबुलाई यस्तो गर्नेको आजको सात दिनभित्रै मृत्यु होस्।’ 

उता घर पुगेर श्रीपेच फुकालेपछि राजालाई ज्ञात भयो, ‘ओहो आज मैले गर्न नहुने काम गरेँ।’ तर ढिला भइसकेको थियो। ऋषिपुत्रले दिएको श्राप मिथ्या बनाउन अनेक कोसिस भयो तर भनेकै समयमा तक्षक सर्पले डसेर उनको मृत्यु भयो। 

कलिमा सुन

पुराणका कुनै सन्दर्भमा भगवान् विष्णुले नै कलिलाई सुनमा गएर बस्नु भन्ने निर्देश दिएको पञ्चांग निर्णयक समितिका अध्यक्ष डा. रामचन्द्र गौतम बताउँछन्। ‘कलि गएर बसेका हुँदा सुन लोभलालच हुँदै पाप र दुष्कर्मको कारक पनि मानिन्छ’, उनी भन्छन्। व्यावहारिक दृष्टिले पनि आकर्षक र बहुमूल्य भएकाले यो पाउने वा यसको आडमा कमाउने आश वा लोभ सबैलाई हुनु स्वभाविक नै भइहाल्यो। यसैले सुन पाउने आशमा मानिस अनियमितता, अपहरण, यातना र हत्यासम्ममा संलग्न हुने गरेको देखिन्छ।

हिन्दुधर्मको कालगणनाअनुसार अहिले कलियुग चलिरहेको छ। कलिमा क्रमशः धर्मको नाश भई अधर्मवृद्धि हुने पुराणहरूले बताएकै छन्। अधिक धनसम्पत्ति थुपार्ने, सन्तान दरसन्तानका लागि जम्मा गरिदिने, मोजमस्तीको जीवन बिताउने लाससा राख्ने, भौतिक सुखलाई नै सर्वोपरि ठान्ने र मानवीय मूल्य मान्यतालाई भुल्नेहरू यस्ता अपराध कर्ममा मुछिने गरेका छन्। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.