विचार

निद्रा र किशोर अवस्था
SHARES

बैशाख २५, २०७५

    मस्तिष्क विज्ञानका सन्दर्भमा विगत दुई दशकदेखि वैज्ञानिकको चाख ह्वात्तै बढ्दै गएको छ। यसरी मस्तिष्क विज्ञानमा वैज्ञानिकको चाख बढ्दै गर्दा मानव मस्तिष्कसम्बन्धी रोचक तथ्यहरू बाहिर आउँदै छन्। कुन समयमा खाने, कुन समयमा व्यायाम गर्ने, कुन समयमा अध्ययन गर्ने, कुन समयमा प्रणय क्रिया गर्ने, कुन समयमा सुत्ने वा उठ्ने भन्ने विषय बाहिरको घडी भन्दा पनि हाम्रो शरीरले कुन समयमा के चाहन्छ भन्ने कुराले निर्धारण गर्छ। 

    फरक फरक कार्य गर्नका लागि हाम्रो मस्तिष्कको र शरीरको सोहीअनुकूलको अवस्था हुनुपर्छ। शरीरमा उत्पन्न हुने विभिन्न हार्मोन, रसायन र हाम्रो शरीरको अन्य अवस्थाले यस्ता कुराको निर्धारण गर्दछ। यसलाई वैज्ञानिकहरूले ‘सर्केडियन रिदम’ भन्ने नाम दिएका छन्।  समान्यतः ‘सर्केडियन रिदम’ विभिन्न मानिसबीच केही हदसम्म मिल्दोजुल्दो हुन्छ तर विशेष रूपमा ‘सर्केडियन रिदम’ निजात्मक हुन्छ, जसलाई उमेर, स्वास्थ्य, लिंगलगायतका कुराले प्रभाव पार्छन्।

    वैज्ञानिकहरूका मतमा भोक लाग्दा भोजन, तिर्खा लाग्दा पानी अनि बिरामी हुँदा औषधिको जति महत्त्व हुन्छ, निद्रा लाग्दा सुत्नुको पनि उस्तै महत्त्व हुन्छ। सुत्नु भनेको दिनभरका लागि शरीरलाई आवश्यक पर्ने इन्धनरूपी ऊर्जाको सञ्चय गर्नु हो। ठीक समयमा नसुत्नाले विभिन्न किसिमका शरीरिक एवं मानसिक समस्याहरूले सताउँछन्। सुत्ने कुन समय भन्ने कुरा व्यक्तिपिच्छे फरक फरक हुन्छ। जुन बेला निद्रा लाग्छ, सुत्ने ठिक समय त्यही नै हो। हामीलाई कुन समयमा निद्रा लाग्छ भन्ने कुरा हाम्रो मस्तिष्कमा मेलाटोनिन् नामको हर्मोन उत्पादन भएपछि हुने हो। मस्तिष्कमा उत्पन्न भएको यो हार्मोन रगतमा मिसिन्छ।

    विशेषगरी वयष्क र बच्चाहरूमा भन्दा शारीरिक रूपान्तरण हुने समय अर्थात् अंग्रेजीमा भन्नु पर्दा ‘प्युबर्टी पिरियड’का मानिसको मस्तिष्कमा मेलाटोनिन् हार्मोन दुई घण्टापछि उत्पन्न हुन्छ। समान्यतः अरू उमेरका मानिसमा यो हार्मोन रातको आठदेखि नौ बजे उत्पन्न हुन्छ भने ‘प्युबर्टी पिरियड’का मानिसमा १०/११ बजे हुन्छ। यसको अर्थ अरू उमेरका मानिसको निदाउने समय आठदेखि नौ बजे हो भने किशोर अवस्थाका मानिसको निदाउने समय १० देखि ११ बजेसम्म हो।

    खानपान, स्वास्थ्य अवस्था, वंशाणुगतलगायतका कारणले ‘प्युबर्टी पिरियड’ मान्छेअनुसार फरक फरक हुन्छ। विशेषगरी केटीहरूमा १० देखि १४ वर्ष र केटाहरूमा १२ देखि १६ वर्षसम्मको अवधिमा तीव्र रूपमा भएको शारीरिक रूपान्तरण सँगसँगै मानसिक रूपान्तरण भएको हुन्छ। तर मस्तिष्क विकासको हिसाबले १६ देखि २० वर्ष उमेर समूह अझै उर्वर समय हो। खानपान, स्वस्थ्य अवस्था, वंशाणुगत कारण कसैकसैको ‘प्युबर्टी पिरियड’ २४ वर्षसम्म पनि लम्बिन सक्छ। त्यसैले १० देखि २४ वर्षको उमेर समूहका मानिसमा हुने शारीरिक र मानसिक विकासका कारण यो समूहलाई किशोर भन्नु मिल्छ। तथापि, १७–१८ वर्षको उमेर समूहको किशोर र २३–२४ वर्षको किशोरको शरीरिक र मानसिक विकास गति एकैनासको नहुने भएकाले तिनीहरूको सुत्ने समय र अवधि फरक हुन्छ। 

    ‘प्युबर्टी पिरियड’का मानिसमा शारीरिक रूपान्तरण सँगसँगै तीव्र रूपमा मानसिक रूपान्तरण हुने भएका कारण उनीहरूलाई दैनिक जीवनयापन गर्न अरू उमेर समूहका मानिसलाई भन्दा धेरै ऊर्जाको आवश्यकता हुन्छ। तसर्थ यो उमेर समूहको मानिसले वयष्क मानिसभन्दा केही समय धेरै सुत्नु जरुरी हुन्छ। यो उमेर समूहको मानिसले कम्तीमा साढे आठ घण्टादेखि साढे नौ घण्टा निदाउनुपर्छ। यसको अर्थ किशोर उमेर समूहका मानिसहरूको उठ्ने समय कम्तीमा आठ बजेसम्म हो। तर विडम्बना के छ भने अधिकांश किशोरहरूबाट तिनीहरूको मनग्य सुत्नु पाउनुपर्ने नैसर्गिक अधिकार खोसिएको छ, त्यो पनि राज्यको तहबाट, अझ भविष्य बनाइदिने जिम्मा लिएका शैक्षिक संस्थाहरूबाटै। अञ्जान र अज्ञानतामा नै सही तर जिम्मेमार निकायको गल्तीले किशोरहरूले धेरैथोक गुमाएका छन्। 

    अधिकांश किशोरहरूको छ–सात बजेतिर स्कुल, कलेज लाग्छ। यसका कारण तिनीहरू केही घण्टा अगाडि उठ्नुपर्ने हुन्छ। त्यसैले कक्षा पाँचदेखि १२ कक्षासम्मको पहिलो घण्टी कम्तीमा साढे आठ बजे लाग्ने नियम मात्र बसाल्ने हो भने पनि यो उमेर समूहका मानिसले पर्याप्त निदाउन पाउने थिए। तर स्कुल, कलेज बिहान सबेरै सुरु हुने नियमका कारण समस्या उत्पन्न भएको छ। हुनत हाम्रो मुलुकमा कक्षा आठसम्म त बिहान अबेलै पहिलो घण्टी लाग्छ तर कक्षा नौ र दशमा एसइईमा राम्रो परिणाम निकाल्ने लोभमा र कक्षा ११ र १२ मा लगभग ६० प्रतिशत त बिहान ७ बजे वा सोभन्दा अगाडि पढाइ सुरु हुने चलन छ। यसका कारण हाम्रो मुलुकमा थुप्रै किशोर, किशोरीहरूले पर्याप्त समय सुत्न पाएका छैनन्। 

    राज्य र शैक्षिक संघसंस्थाका सन्दर्भमा तिनीहरूले कक्षा पाँचदेखि कक्षा १२ सम्मको बिहान सुरु हुने विद्यालयहरूको पहिलो घण्टी कम्तीमा ८ः३० बजे सार्नुपर्छ। विद्यालयले विद्यार्थीलाई राती अबेलासम्म उठेर गर्नुपर्ने गरी धेरै गृहकार्य दिनुहुँदैन। अभिभावकको हकमा निदाउनुभन्दा केही समय अगाडि घरमा शान्त वातावरण बनाउनुमा अभिभावक पनि जिम्मेवार हुनुपर्छ।

    त्यसमाथि विद्यालय लाग्ने समयमा भएको निद्राको क्षतिपूर्ति विद्यार्थीहरूले शुक्रबार वा अन्य कुनै बिदाको अघिल्लो दिनको रातको समयमा र भोलिपल्ट बिदाको दिन परिपूर्ति गर्न खोज्छन्। हरेक दिन निश्चित समयमा निश्चित क्रिया नगर्दा ‘सर्केडियन रिदम’मा अवरोध पुग्छ। अधिकांश किशोरहरूले बिदाको अघिल्लो रातमा मोबाइल चलाएर वा टिभी हेरेर मध्यरातसम्म नसुत्ने र बिदाको दिनमा मध्यदिनसम्म सुत्ने गर्छन्। यसो गर्दा ‘सर्केडियन रिदम’मा अवरोध पुगेर विभिन्न मानसिक र शारीरिक समस्या देखापर्छ। यो समूहका किशोरहरूले पर्याप्त सुत्न नपाउने समस्या हेर्दा जति समान्य देखिन्छ, यो त्यति सामान्य छैन। वास्तवमा राज्यको सानो अज्ञानताले किशोरहरूले त शारीरिक, मानसिक समस्या व्यहोरेकै छन्, यति मात्रै नभएर समग्र राज्यले नै ठूलो घाटा व्यहोर्नुपरेको छ।

    पर्याप्त सुत्न नपाउँदा केके बेफाइदा हुन्छन्?

    किशोरावस्थामा विशेषगरी दोस्रो दशकको पछिल्लो उमेर समूहका मानिस अर्थात् ‘लेट टिन’ वर्षहरूमा मस्तिष्कको प्रचुर मात्रामा विकास हुन्छ। विशेषगरी यो उमेर अवधिमा मस्तिष्कमा ‘न्युरोन’को जालो व्यापक रूपमा पैmलिनुका साधै मस्तिष्कको अगाडिको भाग ‘फ्रन्टल लोप’ले परिपक्वता पाउने हुन्छ। हामीले गरेका विभिन्न कार्यका दौरान अथवा हाम्रो फरक फरक मानसिक अवस्थाका दौरान मस्तिष्कको कुनै भाग वा अधिकांश अवस्थामा विभिन्न भागहरू एक साथ सक्रिय भएका हुन्छन्। ‘न्युरोन’को संजालमा ‘नभइम्पल्स्’हरू जावतजावत गर्ने गर्छन्।

    यस्ता ‘इम्पल्स्’हरूले विशेषगरी मस्तिष्तकका विभिन्न भागहरूमा सूचनाको ओसारपसार गरेर विभिन्न अंगहरूको समायोज गर्ने गर्दछन्। बाटाको संजालमा गाडीहरूले सामान बाकेर कुदेको जस्तै ‘न्युरोन’को संजालमा इम्पल्स्हरूले सूचना वा संकेत ओसारेका हुन्छन्। ‘प्युबर्टी पिरियड’को अवस्थामा न्युरोनको विकासको सन्दर्भ निद्रासँग सपेक्ष रूपमा जोडिएको हुन्छ अर्थात् पर्याप्त निद्रा, राम्रोसँग न्युरोनको विकास भएको हुन्छ।

    त्यस्तै, ‘फ्रन्टल लोप’ करुणा, माया, घृणा, रिस, इष्या जस्ता भावनाहरूलाई नियन्त्रण गर्न, व्यवहार नियन्त्रण गर्न, योजना बनाउन, मुल्यांकन गर्न, नैतिकताको सवालमा निर्णय लिने र जिम्मेवारी लिने क्षमता विकास गर्ने आदिको केन्द्र हो। स्वयंको छवि र व्यक्तित्व निर्माण गर्ने सन्दर्भमा पनि ‘फ्रन्टल लोप’ले अहं भूमिका खेल्छ।

    पर्याप्त निद्रा नपुगेको अवस्थामा मस्तिष्कको फ्रन्टल लोपको विकासमा बाधा पुग्छ, जसका कारण भावना र व्यवहारमा राम्रो नियन्त्रण गर्न नसक्ने, भविष्यको योजना बनाउन नसक्ने, ठीक र बेठीक छुट्याउन नसक्ने, नैतिकता र जिम्मेवारी लिने क्षमतामा ह्रास आउने, स्वयंको बारेमा छवि निर्माण गर्न नसकी व्यक्तित्व विकास गर्न नसक्ने, दुखी हुने, डिप्रेसनमा जानेदेखि आत्महत्या गर्नेसम्म हुन्छ। त्यस्तै, नयाँ कुरा सिक्न नसक्ने, ध्यान दिन नसक्ने, सम्झन सक्ने क्षमतामा ह्रास आउने, पठाएको नबुझ्ने, अल्छीपनले सताउने, दिउसो अन्य काममा व्यस्त भएको समयमा पनि निद्राले झुपुझुपु हुनेदेखि निद्रा नलाग्ने जस्ता समस्याहरू पनि देखिन्छन्।

    शारीरिक स्वस्थ्यका सन्दर्भमा मोटोपन, मधुमेह, मुटुरोग जस्ता समस्या देखापर्छन्। त्यस्तै, सवारी दुर्घटनामा पर्ने जोखिम बढ्ने, लागुऔषधको सेवन गर्नेजस्ता समस्याहरू पनि देखिन्छन्। 

    यो समूहका मानिस साहसिक कार्य गर्नमा रमाउने हुन्छ, तसर्थ दिउँसै निद्राले समाउने अनि कुन कुरा उचित छ भनी मूल्यांकन गर्ने क्षमतामा कमी हुनाका कारण किशोरहरूले नयाँ र साहसिक कार्यको अनुभव लिने जोखिम उठाउँदा मृत्यु हुने पनि धेरै सम्भावना हुन्छ। कुरा यतिमा मात्रै सीमित हुँदैन, यो अवधिमा राम्रोसँग निदाउन नपाउनाले हुने मानसिक र शारीरिक समस्याहरूले तिनीहरूलाई जीवनभर प्रभाव पारेका हुन्छन्। 

    सम्बन्धित व्यक्तिबाहेक पनि राष्ट्रका कर्णधारहरू मानसिक र शारीरिक रूपमै दुर्बल हुँदा राज्यले दीर्घकालीन रूपमा निकै ठूलो नोक्सान व्यहोरेको हुन्छ। त्यस्तै, सडक दुर्घटनामा हुने वृद्धि र स्वास्थ्य क्षेत्रमा राज्यको अधिक लगानी गर्नुपर्ने हुन्छ। त्यस्तै, विद्यार्थीहरूले राम्रोसँग सिक्न नसक्दा शिक्षामा लगाएको लगानीले आशातीत सफलता प्राप्त गर्न सक्दैन।

    के गर्नुपर्छ?

    सर्वप्रथम त निद्राको महत्त्व र किशोरहरूको निदाउने समय र किशोरमा पर्याप्त सुत्न नपाउँदा पर्ने प्रभावका सन्दर्भमा शिक्षक, अभिभावक र विद्यार्थी स्वयंमा चेतना जगाउनुपर्छ। राज्य र शैक्षिक संघसंस्थाका सन्दर्भमा तिनीहरूले कक्षा पाँचदेखि कक्षा १२ सम्मको बिहान सुरु हुने विद्यालयहरूको पहिलो घण्टी कम्तीमा ८ः३० बजे सार्नुपर्छ। विद्यालयले विद्यार्थीलाई राती अबेलासम्म उठेर गर्नुपर्ने गरी धेरै गृहकार्य दिनुहुँदैन। अभिभावकको हकमा निदाउनुभन्दा केही समय अगाडि घरमा शान्त वातावरण बनाउनुमा अभिभावक पनि जिम्मेवार हुनुपर्छ। त्यस्तै, आफ्ना बच्चाहरूले राती अबेलासम्म मोबाइल चलाएका छन्, छैनन्, टिभी हेरेका छन्, छैनन् निगरानी गर्नुपर्छ।

    विद्यार्थीका हकमा तिनले सुत्ने समय हुनुभन्दा केही समय अगाडि मस्तिष्कलाई आनन्दित र शान्त अवस्थामा राख्नुपर्छ। त्यसैले उत्तेजित गराउने खालका भिडियो हेर्ने वा अरू कुनै कार्य नगर्ने, गृहकार्य गर्ने काम पनि निदाउने समयभन्दा अलि अगाडि नै बन्द गर्ने। सधैँ एकै समयमा निदाउने र उठ्ने कार्य गर्नुपर्छ। हाम्रो आँखामा छिर्ने प्रकाशले हाम्रो सुत्ने समय निर्धारण गर्छ। धेरै प्रकाश हाम्रो आँखामा छिरे भने हामीलाई समय नै निदाउन समस्या हुन्छ। तसर्थ साँझमा कोठाको बत्ती मधुरो हुनुपर्छ अनि बिहानचाहिँ पर्दाहरू खोलेर बाहिरको प्रकाशलाई कोठाभित्र आउन दिनुपर्छ।

    मोबाइल वा टिभीको प्रकाशले पनि निदाउने समयमा अवरोध पु¥याउने हुँदा भिडियो हेर्दा वा समाजिक संजालमा समय बिताउँदाको अवस्थामा टिभी वा मोबाइलको स्क्रिनलाई मधुरो बनाउनु राम्रो हुन्छ। त्यस्तै, नियमित व्यायाम र उचित खानपानले हाम्रो निद्रामा सुधार आउने हुँदा यस्ता कुरामा ध्यान दिनुपर्छ। मद्यपान र धुम्रपानले पनि निद्रा बिगार्छ। तसर्थ यस्ता कुलतबाट पनि टाढा हुनुपर्छ। बिदाको समयमा पनि निदाउने र उठ्ने काम अरू बेलाकै समय हुनुपर्छ। यसबाहेक आफूमा निद्रा नलाग्ने वा निद्रासम्बन्धी अरू समस्या छन् भने चिकित्सकको सल्लाह लिनुपर्छ।

महेश श्रेष्ठ

लेखक श्रेष्ठ अध्यात्मबारे कलम चलाउँछन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]