जनप्रतिनिधि र प्रशासन मौन

|

सिन्धुपाल्चोक : ईन्द्रावती नदीमा संचालित क्रसर उद्योगको मनलाग्दी उत्खनन्‌ले सिन्धुपाल्चोक सदरमुकाम चौतारा जोड्ने पक्की पुल धरापमा परेको छ। क्रसरको दोहनका कारण चौतारा, भीमटार, सिपापोखरे, नवलपुर जोड्ने ईन्द्रावतीकाे पक्की पुल धरापमा परेको हो। 

दैनिक सयौँको संख्यामा स्काभेटर प्रयोग गरी नदीबाट बालुवा र गिट्टी उत्खनन् गरिँदै आइएकाले सदरमुकाम जोड्ने पक्की पुलसमेत धरापमा परेको हो। ईन्द्रावती नदीको किनारमा सयौँको संख्यामा स्काभेटर प्रयोग गरेर नदी उत्खनन् गरिँदै आएको छ। क्रसरको दोहनको कारणले ईन्द्रावतीको स्वरूप नै कुरूप बन्दै गएको छ। ईन्द्रावती नदीमा स्थानीय प्रशासन र जनप्रतिनिधिले पटक पटक अनुगमन गरी नदीजन्य पदार्थ उत्खनन्‌मा रोक लगाए पनि रोडा, गिटी र बालुवाका लागि तस्करहरूले नदी दोहन गरिरहेका छन्। मेलम्चीदेखि दोलालघाटसम्म २२ वटा क्रसर उद्योग संचालनमा रहेका छन्।

स्थानीयले नदीजन्य पदार्थको उत्खनन् गर्न नहुने भन्दै स्थानीय प्रशासनलाई पटक पटक गुहारे पनि तस्करहरूले भने स्थानीय र प्रशासनलाई नै अटेर गर्दै आएको स्थानीय सीताराम श्रेष्ठको भनाइ छ। जिल्ला समन्वय समितिले टेण्डर खोलेर नदीजन्य पदार्थको निकासीलाई अनुमति दिएको ईन्द्रावती र सुनकोसी नदीबाट जिल्ला समन्वय समितिको र सम्बन्धित नगरपालिकाको मिलेमतोमा ठेकेदारले अवैध रूपमा गिट्टी, बालुवा, उत्खनन् गर्ने गरेको पाइएको छ।

जिसस र नगरपालिकाले तोकेको स्थानभन्दा बाहिरबाट मनोमानी तरिकाले गिट्टी, बालुवा, उत्खनन् गरिरहेको भए पनि मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालले कुनै वास्ता नगरेको जनगुनासो बढ्दै गएको छ। प्रमुख अर्यालले भने, ‘नदी उत्खनन्‌मा हामीले पहिले स्काभेटरको प्रयोगमा रोक लगाएका थियौँ। पछिल्लो चरणमा भूकम्पपछिको पुनर्निर्माणले तीव्रता पायो। नगरपालिकाले निर्माण सामग्रीको अभाव हुन नदिनका लागि एउटा स्काभेटर प्रयोग गर्न दिने निर्णय गरेको थियो।’ 

उद्योगबाट निस्किएको धुलो र धुवाँका कारण वरपरको वातावरणसमेत धुलाम्मे भएको स्थानीयको भनाइ छ। ‘अबको केही वर्षमा सिपाघाटबाट नवलपुर, चौतारा जोड्ने ईन्द्रावतीको पक्की पुल ढल्न सक्ने संभावना बढेको छ। पुल निर्माण हुँदा नदीको सतह निकै माथि थियो तर अहिले तीन मिटर भासिएको छ। सरोकारवाला निकायले चासो दिएका छैनन्’, सिपाघाटका स्थानीय सीताराम श्रेष्ठ भने, ‘पुलको बीचको पिलर जोखिममा परिसक्यो। प्रशासनले अनुगमनका नाममा त्यतिकै टारिरहेको छ।’ क्रसरको असरको कारणले ईन्द्रावती नदी किनारको खेतीयोग्य जमिनमा उत्पादनसमेत घट्दै गएको छ। अहिले खेतीपाती गर्ने जमिन सुख्खा भएको छ। अवैध क्रसर उद्योगका कारण नदी गहिरिँदै जाँदा सिँचाइमा समस्या थपिएको छ। 

'खानेपानीको मुहानसमेत सुक्दै गएका छन्। यसरी अवैध क्रसर संचालन गरिरहँदा नदीको अस्तित्वसँगै किनारा आसपासका जमिन र वस्ती नै जोखिममा परेका छन्’, स्थानीय रामजी माझीले भने, ‘ईन्द्रावतीको किनारामा संचालित क्रसर उद्योगका कारण खेतीयोग्य जमिनदेखि वस्ती र स्वास्थ्य क्षेत्रमा समेत असर परेको छ।’

‘पाँच वर्षअघि नदी किनाराको जमिनमा सिँचाइको दुःख थिएन तर अहिले क्रसर उद्योगका कारण ईन्द्रावती नदीसँगै रहेका खेतबारीमा समेत सिँचाइ गर्न गाह्रो भएको छ’, स्थानीय कृषक श्याम माझीले भने, ‘अवैध क्रसर उद्योगका कारण सिन्धुपाल्चोक र काभ्रेको सीमामा रहेका करिब छ हजार रोपनी बढी खेतीयोग्य जमिन मासिएर उत्पादनमा कमी आउन थालेको छ।’ गत वर्षको तुलनामा यसपालि धान, गहुँ, आलु र विभिन्न बाली लगाउँदा १५ देखि २० प्रतिशत उत्पादन घटेको स्थानीयको भनाइ छ।

ईन्द्रावती किनारमा रहेका अधिकांश खेतीयोग्य जमिन दनुवार समुदायको छ। एकातिर उत्पादनमा कमी आउनु र अर्काेतर्फ सिँचाइको समस्या बढ्दै जानुले माझी समुदायका कृषकहरूमा चिन्ता बढेको छ। पहिला पहिला सिँचाइको समस्या नहुने अहिले नदी भासिएका कारण ईन्द्रावतीकै किनारमा रहेका अधिकांश जग्गा जमिन बाँझै बस्न थालेका छन्। पछिल्लो समय जमिन सुख्खा भएको छ भने प्रदूषणका कारण वस्तीमा असर परेको छ। क्रसर उद्योगकै कारण आफूहरूले ५० प्रतिशत समस्या थप भोग्नुपरेको स्थानीयको गुनासो छ। 

'हिउँदमा कमाइ भए तापनि अहिले पहाडको जस्तो सिँचाइको समस्या छ’, ईन्द्रावती गाउँपालिका- १२ का वडाध्यक्ष कमल दनुवारले भने, ‘जुन हिसाबले अवैध क्रसर उद्योग संचालन भइरहेका छन्, खबरदारी गर्न कुनै कसर बाँकी राखिएको छैन।’ स्थानीय प्रशासन र निर्वाचित जनप्रतिनिधिले नै प्रभावित ठाउँबाट पुनर्निर्माणका लागि भन्दै सस्तो मूल्यमा बालुवा, रोडा र गिट्टीको व्यवस्था मिलाएको उनको भनाइ छ। 

नेपाल सरकारले क्रसर संचालनका लागि राजमार्ग र खोला किनारबाट ५०० मिटर टाढा, वन तथा आरक्षणबाट दुई किलोमिटर टाढा हुनुपर्ने मापदण्ड तोकेको छ।स्थानीय जनप्रतिनिधि, प्रहरी, प्रशासन सबैको मिलेमतोमा अवैध रूपमा नदी उत्खनन् बढ्दै गएको स्थानीयको आरोप छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.