थाहा संवाद : स्थानीय सरकार

स्थानीय तहलाई जनताले स्थानीय सरकार भनेर मानेकै छैनन् : फलेवास नगर प्रमुख शर्मा
SHARES

बैशाख २५, २०७५

    पर्वत जिल्लाको साविकको फलेवास गाविसका ११ वटा वडालाई कायम राखेर २०७३ फागुन २७ मा फलेवास नगरपालिका बनेको हो। ३१ हजार जनसंख्या रहेको यो नगरपालिकाको क्षेत्रफल ३३.१ वर्गकिलोमिटर छ। समुद्री सतहबाट ६ सय देखि २२६२ मिटरको उचाईमा रहेको फलेवासमा समतल सतहदेखि पहाड र जंगल पनि उत्ति छ। नगरपालिकाको सिमाना पूर्वमा स्याङ्जा जिल्ला, पश्चिममा बागलुङ, उत्तरमा कुश्मा नगरपालिका तथा दक्षिणमा महाशिला, विहादी गाउँपालिका र स्याङ्जा जिल्लासम्म फैलिएको छ। 

    विविधतायुक्त भूबनोट रहेको फलेवासमा सामाजिक र सांस्कृतिक रुपमा विविधता नै छ। यहाँ ब्राह्मण, नेवार, मगर, गुरुङ, बोटे, कुमाल, दमाई, कामीलगायत जातजातिहरूको बसोबास रहँदैआएको छ। गाउँकै स्वरुपको फलेवासलाई नगरपालिका घोषणा गरिएको थियो। फलेवासले क्रमश: शहरको आकार र स्वरुप लिँदैछ। यहाँ अहिलेसम्म ४ वटा बैंकका शाखाहरू स्थापना भएका छन्। नगरपालिका प्रमुखमा नेकपा एमालेबाट पदमपाणी शर्मा र उपप्रमुखमा एमालेकै मञ्जु अधिकारी निर्वाचित भई नगरको नेतृत्व गरिरहेका छन्। फलेवास नगरपालिका प्रमुख पदमपाणी शर्मासँग थाहा संवाददाता संजय रेग्मीले नगरको विकास र भावी योजनाबारे गरेको कुराकानी।

    तपाईँ त राजनीतिमा ह्‍वात्तै उदाउनुभयो, तपाईँको राजनीतिक यात्रा के हो? 

    तपाईँलाई ह्वात्तै आएजस्तो लागेको होला। तर म ०६२/०६३ को आन्दोलनमा पर्वतका सडकमा बाघको रुपमा चिनिएको हुँ। दोश्रो जनआन्दोलनमा मैले मोर्चा सम्हालेर गणतन्त्र ल्याउन जनताको लागि अहम भूमिका खेलेको थिए। म कक्षा ८ मा पढ्दादेखि नै राजनीतिमा लागेको हुँ। पोखरामा पिएन क्याम्पसमा अनेरास्ववियुमा आबद्ध भएर राजीनितिक यात्रा शुरु गरेँ। विद्यार्थीले सवारीमा पाउने छुटलगायतका विद्यार्थी आन्दोलनमा पनि अग्रस्थानमा रहेँ। अहिले प्रमुख बन्ने अवसर पाएँ। र, एमाले पर्वतको सचिव पनि छु। 

    तपाईं समाजशास्त्रको विद्यार्थी राजनीतिमा होमिनु भयो। फरक प्रकृतिको अध्ययनले विकासमा असर पर्दैन? 

    पहिलो चुनौती त शैक्षिक नै मानेको छु। विद्यार्थीहरू डोल्पा र मुस्ताङका जस्तै छन्। सामुदायिक विद्यालयहरूको गुणस्तर निकै खस्केको अनुभव गरेको छु। गुणस्तरीय शिक्षाको खोजीमा बजारमा झर्ने परम्परा रहीआएको छ। त्यो रोक्न शिक्षकहरूलाई तालिम दिएर हरेक सार्वजनिक विद्यालयमा कक्षा १ बाटै अंग्रेजी माध्यमको शिक्षाको शुरुवात गरेका छौँ।

    मैले मूलत विकासको बिषयमा अध्ययन गरेको छु। समाजशास्त्रमा एमए गरेको छु र अर्थशास्त्रमा बिएड गरेको छु। मेरो दक्षता विकासलाई अगाडि बढाउने नै हो। समाज परिवर्तनका लागि नै अहिलेसम्म काम गर्दै आएको छु। मेरो दक्षता र अध्ययनलाई जोडेर हेर्ने हो भने मेरो मुख्य काम समाज परिवर्तन नै हो।

    निर्वाचनमा मतदातासामु के कस्ता प्रतिबद्धता जनाउनुभएको थियो?

    मैले चुनावको बेलामा फलेवासको विकास र समृद्धिको लागि जैमिनीदेखि कार्कीनेटासम्म मोटरबाटो जोड्छु भनेको थिएँ। त्यहाँको कृषि र पशुलाई पनि आत्मनिर्भर बनाउने छु भनेर बचन दिएको थिएँ। त्यस्तै योजनाबद्ध विकासका कार्यक्रमहरू ल्याउँछु भनेर बाचा गरेको थिएँ। यहाँको पर्यटन विकासको लागि पनि योजनाहरू ल्याएको थिएँ। युवालाई विदेश जान नपरोस् भनेर स्वरोजगार र सामुदायिक विद्यालयको खस्कँदो अवस्थालाई सुधार गर्न केही न केही गर्छु भनेको थिएँ। 

    अहिलेसम्म ती वाचा पूरा भए त? 

    मैले प्रतिबद्धता जनाएअनुसार बागलुङको जैमिनीदेखि फलेवास वडा १ हुँदै पोखरासम्म जोड्ने भनेको सडक निर्माणको काम तीब्र गतिमा भैरहेको छ। कृषि र पशुपालनलाई व्यवसायिक बनाउन कृषकहरूलाई आधा अनुदान दिएर फर्म खोल्नका लागि प्रोत्सहान गरिएको छ। योजनाबद्ध विकासको वाचा पूरा गर्न महाअभियान थालिएको छ। समृद्ध फलेवास बनाउनको लागि २ सय ३ जना गणकहरू परिचालन गरेर प्रत्येक घरमा कर्मचारीहरू पठाएका छौँ। त्रिभुवन विश्वविद्यालयसँग सहकार्य गरेर अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाउन थालिएको छ। यही बेलामा गुरुयोजनासँगै जोडेर एकीकृत सम्पत्ति करको काम पनि शुरु भएको छ। फलेवासका युवालाई आयआर्जन गरेर विदेश जान नपरोस् भनेर १ सय २५ जना युवालाई तालिम दिएर स्वरोजगार बनाइसकिएको छ। सामुदायिक विद्यालयको विकासको लागि प्रावि तहका शिक्षकहरूलाई अंग्रेजी तालीम दिएर नगरपालिकाभित्रका सबै विद्यालयमा कम्तीमा पनि कक्षा ५ सम्म अंग्रेजी माध्यमबाट पढाइ शुरु गरिएको छ। यहाँका कला र संस्कृतिको विकासको लागि प्रत्येक वडामा संस्कृति बचाउन समिति बनाइएको छ। फलेवासमा प्याराग्लाइडिङको परीक्षण हुँदै छ। फलेवासकै पहिलो होमस्टे संचालनमा ल्याइसकिएको छ। 'ओपन जू' को अध्ययन जारी छ।

    चुनावी घोषणापत्रका कति काम भए। कति थन्किए? 

    त्यसलाई थन्क्याउने भए त त्यो बनाउन नै आवश्यक थिएन। अगाडि मैले जे जे कामहरू बताएँ ती सबै काम घोषणापत्रमा नै उल्लेख गरिएका हुन्। काम प्राथमिकताको आधारमा गर्दैछौं। पाँच बर्षभित्रै सबै बाचा पूरा हुनेछन्।

    अहिलेसम्म कति प्रतिशत काममा हात हाल्नुभयो? 

    प्राथमिकताको आधारमा झण्डै ५१ प्रतिशत काम शुरु भैसकेका छन्। अरुलाई नछोइएको भन्न मिल्दैन। ती त ५ वर्षमा पूरा गर्ने हो नि। सबै काम यही वर्षमा गरेर कस्तो विकास दिने? घोषणा पत्रमा पनि त ५ वर्षको लक्ष्य राखिएको छ नि। सबै काममा हात हाल्दै हिँड्ने तर पूरा नगर्ने भयो भने त के को विकास भो? त्यो अपरिपक्व काम हो। विकास क्रमिक रुपमा हुने कुरा हो। 

    फलेवास नगरपालिकाका प्रमुख चुनौती के के हुन्? 

    पहिलो चुनौती त शैक्षिक नै मानेको छु। विद्यार्थीहरू डोल्पा र मुस्ताङका जस्तै छन्। सामुदायिक विद्यालयहरूको गुणस्तर निकै खस्केको अनुभव गरेको छु। गुणस्तरीय शिक्षाको खोजीमा बजारमा झर्ने परम्परा रहीआएको छ। त्यो रोक्न शिक्षकहरूलाई तालिम दिएर हरेक सार्वजनिक विद्यालयमा कक्षा १ बाटै अंग्रेजी माध्यमको शिक्षाको शुरुवात गरेका छौँ। लघुउद्यम र स्वरोजगारमा विश्वास गर्नेहरू छैनन्। उनीहरूको सोचमा परिवर्तन ल्याएर गाउँमा नै केही गर्नुपर्छ भन्ने भावना जगाउनु अर्को चुनौती हो। त्यस्तै, व्यवसायिक कृषि र उत्पादन पनि अर्को चुनौती हो धेरै खेत र बारी बाँझो छ त्यसलाई उत्पादनमा बदल्नु छ। त्यस्तै, यहाँका पर्यटकीय सम्भावनाका थुप्रै अवसर छन् तर तिनको उजागर भएको छैन। कालीगण्डकीमा हाइड्रो प्रोजेक्ट बनाउने हो भने यस क्षेत्रकै मेघा प्रोजेक्ट बन्न सक्छ। तर यो काम गर्न चुनौती छ। 

    मान्छेहरूको मनोविज्ञान फरक छ। उनीहरूले स्थानीय तह स्थानीय सरकार हो भन्ने बुझेकै छैनन्। हामीले स्थानीय तहको लिडिङ गरेका छौँ भन्ने विश्वास उनीहरूमा देखिन्न। स्थानीय तह सरकारकै प्रतिनिधित्व हो भन्ने कुराको फिल उनीहरूले गरेकै छैनन्।

    स्थानीय तहमा काम गरिरहँदा कस्ता खालका नीतिगत र व्यवहारिक उल्झनको सामना गर्नु परिरहेको छ? 

    मान्छेहरूको मनोविज्ञान फरक छ। उनीहरूले स्थानीय तह स्थानीय सरकार हो भन्ने बुझेकै छैनन्। हामीले स्थानीय तहको लिडिङ गरेका छौँ भन्ने विश्वास उनीहरूमा देखिन्न। स्थानीय तह सरकारकै प्रतिनिधित्व हो भन्ने कुराको फिल उनीहरूले गरेकै छैनन्। नागरिकहरूको सोच नै अझै संघीयतामा जान सकेको छैन। केन्द्रिकृत सोच नै कायम छ नागरिकमा। संविधानले प्रदत विषयलाई कानुन बनाएर अगाडि बढाउन जनशक्तिको पनि अभाव छ। संघ र प्रदेशले पनि टीओआरको आधारमा काम नगर्दा पनि समस्या छ।

    आगामी पाँच वर्षका लागि तपाईँका योजना के छन्? 

    फलेवासको विकासको लागि महाअभियान शुरु भैसकेको छ। यो अगाडि चरणबद्ध रुपमा काम हुँदै आएको थियो। फलेवासका सबै सम्भावनाहरू शिक्षा, कृषि, संस्कृति, पर्यटन, स्वरोजगार, उद्यम, लगुउद्यमलगायतमा नै हामीले ध्यान केन्द्रित गरेका छौँ। 

    नगर विकासका सम्भावनाको पनि अध्ययन गरिसक्नु भयो होला नि? 

    हो, हामीले धेरै सम्भावनाहरूको अध्ययन गरिसकेका छौँ। यहाँको सम्भाव्यताका रुपमा हामीले कालीगण्डकीमा हाइड्रोपावर निर्माण, शिक्षामा पुनर्संरचना, कृषि र पशुमा व्यवसायिकता, पर्यटकहरूलाई पोखरासम्म जोडेर डहरेको लेकदेखि चिसापानी, अन्धाअन्धी सर्किटसम्म पुर्‍याउने जस्ता छन्।यहाँका रीतिरिवाजलाई संरक्षणा, युवामा भएको सिपलाई प्रविधिमा जोडर उत्पादनमुखी बनाउने, पूर्वाधार निर्माणलाई वैज्ञानिक बनाउनेलगायतमा संभावना देखेको छु। यति गरे फलेवास समृद्ध नगर बन्नेछ।

सञ्जय रेग्मी

रेग्मी थाहाखबरका पर्वत जिल्ला संवाददाता हुन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]