विचार

साझा देश क्यानडा : अनुशासन, विकासदेखि सहिष्णुतासम्म
SHARES

बैशाख २४, २०७५

    झण्डै प्रत्येक दिन गाडीले सडकमा मान्छे किच्ने र त्यसमा घाइते भएकालाई ताक परे ब्याक गरेर किचाएर मारी नै दिने चलन भएको देशबाट आएको मजस्तो परदेशीका लागि पैदल यात्री सडकमा पसेको देख्नेबित्तिकै गाडी रोकिहाल्ने चलन एउटा आठौँ आश्चर्य हुनसक्थ्यो। तर यहाँ त्यो सडकको सामान्य अनुशासनभित्रै पर्दोरहेछ। 

    त्यसो त मान्छे सकेसम्म जथाभावी बाटो काट्तै काट्तैनन्। बाटो काट्ने ठाउँ भनेर सडकका वारपार दुई सेता रेखा तानेको र बाक्लो आवतजावत हुनेमा जेब्राक्रस पनि बनाएको हुन्छ। पल्लाछेउमा सडकका दुवैपट्टि सो क्रस नपुग्दै हिँड्दै गरेको मान्छेको आकृतिसहित बाटो काट्ने ठाउँ आएको सूचना पाटी टाँगिएको हुन्छ। त्यसमा गाडी चालकलाई पाँच मिटर परै रोक्न सूचित गरिएको हुन्छ र त्यसै गरिन्छ पनि। यात्रीको अलिक बढी नै आउजाउ हुने प्राय चौबाटोमा भने सो क्रसका दुवैतिर ठूल्ठूला खम्बा हुन्छन् जसको तल हातले ट्याप गर्ने धातुका बट्टाजस्ता ट्यापर राखेका हुन्छन्।

    बाटो काट्न चाहने यात्रीले त्यसमा हातले छोएर ट्याप गर्नासाथ खम्बामाथि दुईपट्टि झिलिकझिलिक बत्ती बल्न थाल्छन् जुन एकछिनमा आफैं बन्द हुन्छन्। साथै त्यहाँ खम्बाबाट तेर्सिएको डण्डा वा पाइप हुन्छ जसमा रातो, हरियो र पहेँलो बत्ती राखिएका हुन्छन्। यी बत्ती स्वत: पाँच/पाँच मिनेटमा हरियो, पहेँलो, रातो भैरहन्छन् जसअनुसार सवारी साधन रोकिने र जाने गरिरहन्छन्। साथै मुख्य सडकबाहेक दाहिने देब्रेबाट आएर मिसिने वा दाहिने–देब्रे छुट्टिने बाटोका बारेमा ‘बाटो छुट्टिँदैछ’ भन्ने र ‘बाटो मिसिँदैछ’ भन्ने आवश्यक सूचनासहित संकेत राखिएको हुन्छ। उता पैदल यात्रीको ट्यापर खम्बामा खुल्ला हातको बत्तीसंकेत हुन्छ जुन सडकको बत्ती हरियो बल्नासाथ रातो हुन्छ र सडकको बत्ती रातो हुनासाथ सेतो हुन्छ। त्यही सेतो भएको बेला पैदल यात्रीले बाटो काट्नुपर्छ।

    धेरै बाटाको संगममा भने मुख्य बत्तीबाहेक तीरको चिन्हमा बल्ने रातो/हरियोे बत्ती संकेतसमेत राखिएको हुन्छ।यो सबै प्रक्रिया स्वचालित हुन्छ। हाम्रो देशमा जस्तो ट्राफिक प्रहरी कहीँ कतै देख्न पाइँदैन। 

    काठमाडौँमा एउटा डोजरले काम गरिरहेको हेर्न मान्छे बराम लागेको देखिराखेको मान्छेलाई यहाँ अनौठो लाग्छ जब कहीँ त तीन चारवटा डोजर पनि काम गरिरहेका हुन्छन् कुनै रमिते नभैकन। त्यस्तै यहाँका सडक किनारमा कुनै बार हुँदैनन् न बारमाथि चढेर घन्टौँ रमिता हेर्ने फुर्सदिया।

    यस्ता नीलो–रातो नभएका जुनसुकै सामान्य मोडमा पनि आएको गाडीले आधा मिनेट रोक्नै पर्छ। अर्को आइरहेको गाडी भए त्यसलाई अगि जान दिएर मात्र अगि बढ्नु पर्छ। यस्तो मोड आउनासाथ यो पंक्तिकार काठमाडौँको वसुन्धरामा उतिबेला अधिराजकुमार निराजनको रिङरोडमा आइरहेको गाडीलाई होटेल महाराजातिरबाट आएको प्रहरीको गाडीले हानेको घटना सम्झिहाल्छ। यहाँको जस्तो चलन भएको भए त्यहाँ त्यस्तो घटनाको गुन्जायसै हुने थिएन। 

    यसरी धेरैवटा बाटो जोडिएका र छुट्टिने कति ठाउँमा भने पुल पनि हालिएको हुन्छ र कतिपय गाडी पुलमा चढेर पारी जाने र कति तलैबाट जाने हुन्छन्।

    दुई लेनका बाटामा पनि चारवटा गाडी हाराहारी रहन सक्छन् तर दुवैपट्टि पार्किङ गरिराखिएका गाडी हुन्छन् र सवारी भने आउने जाने दुईटा मात्र लेन हुन्छन् बीचमा पहेँलो लगभग चार इन्चको फित्ताजस्तो धर्सोले छुट्टयाएको। छेउमा भने सेतो धर्सोले गाडी हिँड्ने लेन र बाँकी सडक छुट्टिएको हुन्छ। सबै सडक बीचमा अग्लो भएर दुवैपट्टि नजानिदो भिरालो हुँदै नालामा पुगेका हुन्छन्। नाला सिमेन्टले बनेको हाम्रो य अक्षरको पेटभागको आकारका हुन्छन्। सो पेट भागको एक छेउ उत्तानो परेर सडकबाहिरको डिलमा पसेको र अर्को भाग सडकसँग जोडिएको हुन्छ। हरेक अन्तरालमा फलामे डण्डीका भलपानी छिर्ने मुख बनेका हुन्छन्। 

    दुईभन्दा बढी छ लेनसम्मका सडकमा पनि उही सेतो धर्सोले लेन छुट्याएको हुन्छ। दाहिने हातपट्टिबाट गाडी आइरहेका र पल्लो बायाँ हातपट्टिबाट(उताबाट दायाँ नै) गाडी गैरहेका हुन्छन्। अर्थात् आउने र जाने गाडीको लेन आआफ्नै हुन्छ। गाडीले सायदै लेन काट्छन्। काटिहालेमा भूँउँउँउँ गर्ने आवाज आएर गाडी पनि हल्का थतर्किन्छ। भन्छन् त्यसलगायत सडकका दृश्य सबै गतिविधिको स्वचालित रेकर्ड भइरहेको हुन्छ र बेवास्ता गर्न मिल्ने सामान्य भूलचुक बाहेकका गल्ती बापत घरैमा जरिjfनाको पुर्जी आइपुग्छ। पुर्जीमा गल्तीको समय, प्रकृति आदि विस्तृत विवरणसहित रकम, तिर्ने ठाउँ, तिर्ने अवधि, तिर्न नपर्ने लागे प्रस्तुत हुने ठाउँ, अवधि उल्लेखित हुन्छ। दुवै नगरेमा व्यक्तिको क्रेडिटकार्डमा रेकर्ड रहँदै जान्छ जसबाट क्रमश उसको जागिर वा भोलि उसले पाउने नियुक्ति, लाइसेन्स, सुविधा आदि रोकिँदै जान्छ। 

    शहरबाहिर निस्केपछि लामो दूरीका हाइवेमा भने जाने र आउने सडक अगलबगलमा हुन्छन् र बीचमा सडकजत्रै अझ ठूलो खाली चौरी गएको हुन्छ। यहाँ पनि सेतो धर्साले आआफ्नो लेन भने छुट्याइदिएकै हुन्छ। उछिनेर जान चाहने गाडी देबे्रलेनबाट अगि बढ्छ र बाटो काटिसकेपछि दाहिने लेनमै आउँछ। त्यसैले यहाँ म अगि जान्छु, साइड दे भन्ने जस्ता हर्न वा बत्तीका कुनै संकेत चाहिँदैन। हर्न त यहाँ सुन्दै सुनिँदैन। हर्न बज्नु भनेको कुनै 'कम्प्लेन' गर्नु भन्ने अर्थ लाग्छ।

    त्यसबाहेक सडकको नाम, पुग्ने मुख्यमुख्य र नजकिको गन्तव्यस्थानको नाम आदि र आवश्यक संकेत चिन्ह नछुटाईकन ठाउँठाउँमा राखिएकै हुन्छन्।

    सडक यति धेरै हुन्छन्, लाग्छ क्यानडा भनेको गाडी, सडक र घरमात्रै हो। एक किसिमले यहाँ मान्छे रहेनछन् कि जस्तै लाग्छ। शहरमा, सानाठूला सपिङमलमा, स्कुल–कलेज–कार्यालय–पार्कहरुमा बाहेक मानिस देखिँदैनन्। बसस्ट्यान्डमा बस पर्खिने, रेल स्टेसनमा रेल पर्खिने र फाट्टफुट्ट आउनेजानेबाहेक कतै मान्छे देखिँदैनन्। हो, कार भने मनग्गे कुदिरहेका हुन्छन्।

    काठमाडौँमा एउटा डोजरले काम गरिरहेको हेर्न मान्छे बराम लागेको देखिराखेको मान्छेलाई यहाँ अनौठो लाग्छ जब कहीँ त तीन चारवटा डोजर पनि काम गरिरहेका हुन्छन् कुनै रमिते नभैकन। त्यस्तै यहाँका सडक किनारमा कुनै बार हुँदैनन् न बारमाथि चढेर घन्टौँ रमिता हेर्ने फुर्सदिया।

    सडकका ठाउँठाउँमा कतिबेला कति ढिलोछिटो चलाउनुपर्छ भन्ने सूचनापाटी टाँगिएको हुन्छ र त्यसैअनुसार गाडी चल्दछन्। सडकका अगलबगलमा खेल मैदान भए ३० किलोमिटरका दरले, अन्यत्र ठाउँअनुसार ११० किमिसम्मको सीमा तोकिएको हुन्छ। 
    निर्धारित स्थानमा बाहेक पार्किङ हुँदैन।

    शहर र गाउँभित्रका सडकका किनारदेखि घरैसम्म चौरी हुन्छ भने सडकबाट छ फिट चौरी छोडेर कहीँ दुवैपट्टि कहीँ एकापट्टि चारफुटे सिमेन्टेड स्ल्याबको पैदल मार्ग हुन्छ जसलाई साइड वोक भनिन्छ। 

    क्यानडाको ताजा प्रतिव्यक्ति आय ४२,३४६ अमेरिकन डलर र बेरोजगारी दर ७ प्रतिशत छ। यहाँका सबै नागरिकले शिक्षा (१२ कक्षासम्म) र स्वास्थ्य सेवा निशुल्क पाउँछन् भने ६५ वर्ष पश्चात् पेन्सन। काम गरुन्जेल तलबबाट निश्चित प्रतिशत कर काटिएको हुन्छ। सो र अन्य आम्दानीको स्रोतसमेत विचार गरेर पेन्सनको निर्धारण गरिन्छ। यहाँ शनिबार र आइतबार हप्तामा दुई दिन विदा हुन्छ।

    यहाँ राइट ह्यान्ड ड्राइभको चलन भएकाले गाडी आआफ्ना दाहिने हाततिर रोकिन्छन्। सार्वजनिक बस धेरै हुँदैनन्। यी बस तोकिएको ठाउँमा मात्रै रोकिन्छन्। बस चाहिने यात्री आआफ्नो पायकका बसस्ट्यान्डमा पर्खिबसेका हुन्छन्। यी बस अपांग मैत्री हुनाले ह्वीलचेयरसहित चढ्न र भित्र पनि ह्वीलचेयरसँगै बस्न मिल्ने व्यवस्था हुन्छ। कहीँ सडकको डिल अग्लो–होचो भए बसअग्ल्याएर वा होच्याएर ह्वीलचेयर पसाउन मिल्ने पारिन्छ। कहीँ बसको ढोका सडकको डिलसँग नजोडिएमा डाइबरले बसभित्रबाट एउटा स्वचालित पाता तेर्स्याइदिन्छ जसले पुलको काम गर्छ। 

    बसभित्र स्त्री पुरुषका सिटको पंक्ति अलगअलग हुन्छ। भित्र ठाउँठाउँमा बत्तीका स्वीच राखिएको हुन्छ र वारपार गएको डोरी पनि हुन्छ जसलाई तानेपछि वा बत्ती बालेपछि गाडी रोक्ने संकेत हुन्छ। तर स्टप आउनुभन्दा पहिले नै सो संकेत गर्नुपर्छ। 

    पिच नभएका सडक हुँदैनन् एकाध घर पछाडिका फोहोर ओसार्ने कुनैकुनै ग्य्राभेल सडकबाहेक।

    आवासीय र शहरी क्षेत्रमा प्रत्येक पचासमिटरपिच्छे सडकका यता, उता पालैपालो अग्ला दुईहाँगे धातुका खम्बामा सडक बत्ती हुन्छन् जसमा एकएकवटा पहेँला बत्ती बल्छन्। यी बत्ती बेला भएपछि आफैं बल्छन्, आफैं निभ्छन्।

    बिजुली र टेलिफोन आदिका तार प्राय काठका अग्लाअग्ला सिङ्गै रुखका खम्बामा लगिएको हुन्छ। 

    आवासीय क्षेत्रमा सडकका दुवै किनारमा पंक्तिबद्ध घरहुन्छन्। बीचबीचमा टुकुरे सडक पसेका हुन्छन् भने तिनका पनि दुवैपट्टि पंक्तिबद्ध घरहरु हुन्छन्। एउटा सडक र अर्को सडकका बीचमा पुच्छर जोडिएजस्ता घर हुन्छन् तर पुच्छर जोडिएका नभएर सडकै हुन्छन् जसका दुवैपट्टि फोहोरका कन्टेनरका ताँती हुन्छन् जुन हप्ताहप्तामा फोहोर संकलन गर्न आउने गाडीले खन्याएर लैजान्छ। 

    घर सडकभन्दा पाँच फिट माथि उठेको जमिनमा बनेका हुन्छन्। एउटा घर र अर्को घरका बीचमा पछाडिपट्टि काठका छ इन्च चौडा फलेकका १०/१२ फिट अग्ला बार र अगाडि निलकाँटाजस्तै तर काँडा नहुने भिन्नै एक खाले झाडीको ४/५ फिट चौडा बार हुन्छन्। रेक घरका अगाडि र पछाडि आँगन हुन्छन् तर चउर भएका र बीचबीचमा विभिन्न खाले दुईटा, चारवटा रुख रोपिएकै हुन्छन्। घरको भित्ताका फेद, चउरीका किनार र बीचबीचमा पनि फूलहरु रोपिएका हुन्छन्। त्यसै भएर परबाट हेर्दा बस्ती घर कम जंगल बढी लाग्छन्। सडकका किनारमा पनि रुख रोपिएका हुन्छन्।

    सबै आवासीय घर बेसमेन्ट भनिने छिँडी र माथि समेत २ तले हुन्छन्। कुनै कुनै माथि नै २ तले पनि हुन्छन्। पंक्तिका घर आकारमा धेरथोर ठूलासाना भए पनि धेरथोर समरुप हुन्छन्। घरका बेसमेन्टमा कंक्रीटका पक्की दिवाल हुन्छन् भने माथिचाहिँ काठका ससाना पटाइका भित्ता हुन्छन्। यी भित्ता फलामे बारका फ्रेममा बाहिरपट्टि प्लाइउडका ससाना बार र भित्रपट्टि केमिकलनिर्मित पाताले बनेका हुन्छन् र बीचमा रुवाको पाताजस्तै बनाएर राखिएको हुन्छ जसले बाहिरको चिसो भित्र जान दिँदैन। तर यी भित्ता यस्तो सफाइसँग बनाइएका हुन्छन्, हेर्दा सिमेन्ट कंक्रिट होइन भन्ने आभासै हुँदैन।

    डाउनटाउन भनिने मध्य शहरमा र अन्यत्र खासखास ठाउँमा दशौँ तले सिमेन्टका पक्का बिल्डिङ पनि हुन्छन् जुन व्यापारिक मल, अस्पताल, सार्वजनिक कार्यालय, कलेज आदि र अपार्टमेन्ट हुन्छन्। भाडाका घर भने ३ तले सम्म काठकै हुन्छन् तर काठका जस्ता लाग्दैलाग्दैनन्।

    प्रत्येक घरमा हिटिङसिस्टम हुन्छ र आवश्यकताअनुसार ठन्डा वा न्यानो पार्न सकिन्छ।

    हरेक घरमा तातो र चिसो पानीको व्यवस्था हुन्छ जसमा देब्रेहातको कल घुमाउँदा तातो र दाहिने हातको घुमाउँदा चिसो पानी आउँछ। एउटै कलमात्र हुने तर पानीचाहिँ तातोचिसो दुवै आउने पनि हुन्छन् तर उही दाहिने–देब्रे घुमाएअनुसार। घरको साइजअनुसार एउटा, दुइटा, तीनटा कमोड टोइलेट र नुहाउने टब हुन्छन् भने चौबीसै घन्टा बिजुली, इन्टरनेट उपलब्ध हुन्छ। 

    सार्वजानिक मल, हल, कलेज, होटेल, रेल्वे स्टेसन, विमानस्थल आदिमा प्राय हात थापेपछि वा कुनैमा अलिकति ठेलेपछि स्वत सावुनको लेदो आउने र पानी आउने टुटी हुन्छन् भने कतैकतै कल घुमाउनु वा थिच्नुपर्छ। त्यो घुमाउँदा दाहिनेतरिबाट चिसो र देब्रे हाततिरबाट तातो पानी आउँछ। त्यस्तै पिसाब गरेपछि, दिसा गरेपछि स्वत: फ्लस हुने गर्दछ भने कतैकतै हातले कल थिच्नुपर्छ। हात धोएर पुछ्ने तथा टोइलेट पेपर तयारै हुन्छन्। कतैकतै हात सुकाउने एयरब्लो पनि हुन्छन्।

    त्यस्तै ठाउँठाउँमा पिउने पानीका कल हुन्छन् तर बोतल, कचौरा केही हुँदैनन्। वश कल थिचे वा घुमाएपछि पानीको धारो निस्किन्छ उँभोतिर। मुख आँ गर्ने, खाने, कल छोड्दिने, हिँड्ने बस्।

    त्यस्तै फोहोरका कन्टेनर पनि ठाउँठाउँमा राखिएका हुन्छन्।

    बाटामा भेटिने मान्छे विरल अपवादबाहेक मुसुक्क मुस्काउनेदेखि हेल्लो, हाइ गर्ने, हात उठाउने, कति 'गुड मोर्निङ' र 'द डे इज सो फाइन', वा 'द डे इज सउ कउल्ड', 'ह्याभ अ गुड डे', 'सेम टु यू टू' आदि भन्ने गर्छन्।

    यहाँको अर्को अनौठो हो पसल नहुनु। नेपाल, भारतमा जस्तो एक कप चिया खाउँ, नानीलाई ‘जा जा पसलबाट एउटा चुरोट ले’ भन्ने कुरा आउँदैन। पसलका निमित्त हाम्रामा डिपार्टमेन्टल स्टोर भनेजस्ता ठूल्ठूला मल हुन्छन् ठाउँठाउँमा। यस्ता मल कहीँ किराना पसलका हुन्छन्, कहीँ रेडिमेड कपडाका, कहीँ हार्डवेर सामानका, कतै पठनपाठन सामग्रीका हुन्छन्। प्राय एउटा विशाल भवनमा अलगअलग हल पनि हुने गर्छन्। त्यस्तैमा र्बाबर्ससोप, होटेल, पब आदिका हल हुन्छन्।

    प्राय नगद कारोबार हुँदैन। सारा किनमेल र सेवाबापत क्रेडिट कार्डबाटै भुक्तानी गरिन्छ।

    यहाँ डे केयर भनिने अत्यन्त साना नानीको बाहेक चार वर्गका विद्यालय हुन्छन्। एलिमेन्टरी (कक्षा ६ सम्म), जुनियर हाइस्कुल (कक्षा ९ सम्म) र सिनियर हाइस्कुल (कक्षा १२सम्म)। त्यसपछि उच्चशिक्षा– विश्वविद्यालयअन्तर्गत कलेज। कक्षा १२ सम्म अनिवार्य निशुल्क शिक्षा हुन्छ भने उच्च शिक्षाका लागि समय मिलाएर काम गर्दै, सरकारी ऋण लिएर, छात्रवृत्तिमा वा सोझै आवश्यक शुल्क बुझाएर अध्ययन गर्न सकिन्छ। 

    क्यानडाको ताजा प्रतिव्यक्ति आय ४२,३४६ अमेरिकन डलर र बेरोजगारी दर सात प्रतिशत छ। यहाँका सबै नागरिकले शिक्षा (१२ कक्षासम्म) र स्वास्थ्य सेवा निशुल्क पाउँछन् भने ६५ वर्षपश्चात् पेन्सन। काम गरुन्जेल तलबबाट निश्चित प्रतिशत कर काटिएको हुन्छ। सो र अन्य आम्दानीको स्रोतसमेत विचार गरेर पेन्सनको निर्धारण गरिन्छ। यहाँ शनिबार र आइतबार हप्तामा दुई दिन विदा हुन्छ।

    दक्षिणमा संयुक्त राज्य अमेरिकासँग जोडिएको र उत्तरमा ध्रुवसम्मै पुगेको तथा पूर्वपश्चिम आन्ध्रमहासागरदेखि प्रशान्त महासागरसम्म फैलिएको यो मुलुकमा सातै महादेशका मान्छे भेटिन्छन् मानौँ न्यू वल्र्ड पनि (यहाँ न्यू फाउन्डल्यान्ड भन्ने ठाउँ पनि छ जुन आन्ध्र महासागरको किनारमै छ सम्भवत प्रारम्भिक युरोपेली यात्रीले जहाज बिसाएको ठाउँ) भनिने यो नयाँ मुलुकै हो, सबैको साझा। हुन पनि एसियाली, अफ्रिकी, युरोपेली र इन्डिजिनियस भनिने यहाँका आदिबासिन्दा सबैको साझा घर हो यो। हुन त Discover Canada अनुसार इन्डिजिनियसहरु पनि पच्चीस हजार वर्षअगि साइबेरियातिरबाट शिकार खेल्ने क्रममा जाडो याममा जमेको बेरिङ सी पार हुँदै आएर यतै बस्न थालेको अनुमान गरिन्छ। तर यहाँको मानवीय गतिविधिको ऐतिहासिकता भने १५००० (ऐ. पृ. २६८) वर्ष र A Little History of Canada अनुसार १४०००वर्ष अगिदेखिको मात्र मानिन्छ। सन् १४९७मा जोन क्याबोटले सर्वप्रथम बेलायतको तर्फबाट स्थापना गरेको न्यू फाउन्डल्यान्ड नै प्रथम युरोपेली बसोबासो मानिन्छ। त्यतिबेला अहिलेजस्तो कुन क्यानडा कुन संयुक्त राज्य अमेरिका छुट्टिएको थिएन। सम्पूर्ण अमेरिका उत्तर र दक्षिण सोलो डोलो थियो जसमा यहाँवहाँ आदिबासीका आआफ्ना राज्य थिए। 

    रुसपछि संसारकै दोस्रो ठूलो भूमि भएको (९००० वर्ग किमि) उत्तरी ध्रुवसम्म पुगेको यो मुलुकको जनसंख्या भने ३ करोड ५१ लाख ५१ हजार ७२८ मात्र छ। भूमिको ९.९२ प्रतशित भागमा पानी छ। उत्तरपट्टि यो सयौँ टापूमा बाँडिएको छ।

    अग्ला पहाड, गहिरा खोँच र उपत्यका नभएको यो मुलुक हाम्रो तराईजस्तै लाग्छ। यहाँको सर्वोच्च शिखर यूकोन प्रान्तको लोगन पहाड हो जुन ५९५९ मिटर अग्लो छ। तर यो उत्तर ध्रुवीय मुलुक नोभेम्बरको आधाआधीदेखि अप्रिलको आधाआधीसम्म हिउँमय भएको हुन्छ। बाँकीका ६/७ महिनामात्रै हुन् यहाँका वनस्पतिले हिउँबाट मुक्ति पाउने।

    क्यानडामा हाम्रोजस्तो अंचल, जिल्ला विभाजन हुँदैन। यो ३ क्षेत्र (यूकोन, नर्दवेस्ट र नूनाभटटेरिटोरिज) र १० प्रान्तमा (वर्णानुक्रमानुसार अल्बर्टा, ब्रिटिश कोलम्बिया, म्यानिटोबा, न्यू बरिन्स्वक, न्यूफाउन्डल्यान्ड एन्ड लाब्राडोर,नोभास्कोटिया, ओन्टारियो, प्रिन्स एडवार्ड आइल्यान्ड, क्वेबेक र स्यास्क्याचवान) बाँडिएको एउटा संघीय राज्य हो जसले १८६७देखि बेलायती श्रीपेच अन्तर्गत स्वतन्त्र राज्यको हैसियत प्राप्त गरेको हो। यहाँ समग्र संसदीय राजनीतिक व्यवस्था छ तर संगठनात्मक ढाँचा भने प्रान्तप्रान्तको धेरथोर भिन्न हुन्छ। प्रत्येक प्रान्त हाम्रा जिल्ला जस्तो सिटी क्षेत्रमा विभाजित हुन्छ जसलाई म्यूनिसिपल एरिया वा म्यूनिसिपलिटी भनिन्छ जुन वार्डहरुमा विभाजित हुन्छ। वार्डमा फेरि कम्युनिटी एसोसियन हुन्छन्। अल्बर्टामा १८ सिटी छन्।

    यहाँ प्रत्येक जनप्रतिनिधि ४ वर्षका लागि चुनिन्छन्। १८ वर्ष पुगेपछि चुन्न–चुनिन योग्य मानिन्छ। हाल संघीय संसदमा ३३८ सिट छन् जसमा ७४ प्रतिशत पुरुष, १४ पिएचडी, ९७ स्नातकोत्तर र बाँकी स्नातक छन्। 

    क्यानडा संसारभरिका मानिसको साझा देश हो। यहाँ मोटामोटी २०० जातिजनजातिको समूह उपसमूह भएको अनुमान गरिन्छ। यहाँको संसदमा आदिवासी, युरोपेली गोरा, गैरयुरोपेली आप्रवासी सबैको प्रतिनिधित्व हुन्छ। वर्तमान मन्त्रिमण्डलमा हरजित सिंह सज्जन नामका सिख रक्षामन्त्री छन् भने अल्बर्टा प्रान्तअन्तर्गतको सबभन्दा ठूलो सिटी क्यालगरीको सिटी काउन्सिलका मेयर नहीद नेन्सी मुसलमान हुन् जो गएको अक्टोबरमा भएको चुनावमा अत्यधिक मत पाएर सरासर तेस्रोपल्ट निर्वाचित भएका हुन्।

    उच्च धार्मिक सहिष्णुता र मानवाधिकारका निमित्त परिचित क्यानडामा गाँजा खाने अधिकार पनि पाइन्छ तोकेको ठाउँमा। त्यस्तै समलिङ्गी विवाह पनि प्रचलित छ। 

    त्यसो त कहिलेकाहीँ गैरयुरोपेली गैरगोरालाई धम्क्याउने उदाहरण पनि पाइन्छन्। खासगरी संराअमा ट्रम्पको आगमन पश्चात् गोराहरुको सर्वोच्चताभाव बढेको ठानिन्छ। तर कानुन सधैँ सचेत हुन्छ।

    जति समुदाय त्यति भाषा भएको यो मुलुकको सरकारी भाषा भने अंग्रेजी र फ्रेन्च हो। सरसामान वा सूचनापाटी, पाठ्यपुस्तक सबैतिर यही दुईभाषी लेखन पाइन्छ। त्यसैकारण क्यानडालाई द्विभाषी (Bilingual) पनि भनिन्छ। तर क्वेबेकजस्ता केही पूर्वी प्रान्तमा फ्रेन्चभाषीको बाहुल्य रहेको छ भने त्यसबाहेक आम क्यानडाको प्रचलित भाषा अंग्रेजी नै हो।

    (लेखक हाल क्यानडामा छन्।)

प्रकाशमणि दहाल

दहाल समसामयिक राजनीतिकलगायत विषयमा कलम चलाउँछन्।

prakashmanidahal@gmail.com

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५