|

सोलुखुम्बु : सगरमाथा आधार शिविरदेखि क्याम्प चारसम्मको बाटो खुलेको छ। सगरमाथा आरोहणका लागि प्रयोग गरिने क्याम्प चारसम्मको बाटो खुलिसकेको पर्यटन विभागका सूचना अधिकारी रामप्रसाद सापकोटाले जानकारी दिए। 

आधार शिविरदेखि क्याम्प दुईसम्मको बाटो सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) ले निर्माण गरेको छ भने क्याम्प दुईदेखि चारसम्मको बाटो विभिन्न ट्रेकिङ कम्पनीहरूले निर्माण गरेका हुन्। सगरमाथा आधार शिविरदेखि क्याम्प चारसम्मको बाटो बनाइसकेर अधिकांश आरोही क्याम्प तीनसम्म पुगिसकेका छन्। अहिले आरोहीहरू क्याम्प एक, दुई, तीन हुँदै क्याम्प चारसम्म धमाधम गइरहेको सगरमाथा आरोही किताबसिंह तामाङले बताए। ‘मौसम रिपोर्टअनुसार मे ५ देखि ८ सम्म छ हजार मिटर उचाइमाथि अत्यधिक हावा चल्ने गर्छ’, तामाङले भने, ‘अहिले अधिकांश आरोही सगरमाथा आधार शिविरमा झरेका छौँ।’ 

आरोहीहरू 'हाइ एल्टिट्युड' पचाउनका लागि सबैभन्दा पहिला क्याम्प चारसम्म पुग्ने र पुन: आधार शिविरमा फर्केर आराम गरिसकेपछि सगरमाथाको चुचुरोमा जाने गर्छन्। क्याम्प चारदेखि माथि चुचुरोसम्मको बाटो कुन अाराेहण गाइडहरूले निर्माण गर्ने भन्ने विषयमा भने छलफल भइरहेको स्राेतले जनाएको छ। क्याम्प चारदेखि सगरमाथाको चुचुरोसम्म डोरी टाँगिसकेपछि धमाधम आरोहण गरिन्छ। पर्यटन विभागका अनुसार यस वर्षको वसन्त ऋतुमा १५ जना नेपाली महिलासहित ३४६ जनाले सगरमाथा चढ्ने अनुमति लिएका छन्।

सगरमाथा आरोहणका लागि ३४ वटा विदेशी समूहका ३२६ जना र चारवटा नेपाली समूहका २० जना आरोही रहेको विभागका सूचना अधिकारी सापकोटाले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.