|

काठमाडौं :  दिन प्रतिदिन माओवादीलाई आतंककारीको सूचीमा राखेर भकाभक सेनाले समात्ने क्रम बढ्दै गयो। मिसन पत्रकारितामा लागेका आफ्ना श्रीमान पनि कुन दिन सेनाको तारोमा पर्ने हुन् भन्ने चिन्ताको हुण्डरीमा बाँचेकी थिइन्, सरिता बराल। तर उनले कहिल्यै श्रीमानलाई माओवादी लाइन छाड भन्न सकिनन्। देशका युवाहरू मुलुकको राज्यसत्ताप्रति असन्तुष्टि जनाएर सशस्त्र सङ्घर्षमा लागिरहँदा अबुझ बन्न उनको मनले मानेन। अग्नि साक्षी राखेर जिन्दगीभर आफ्नो श्रीमानको दु:खसुखमा साथ दिने, सँगै रुने सँगै हाँस्ने कसम खाएकी उनले सोचेजसरी रुन र हाँस्न पाइनन्।

उनका श्रीमान सेनाको कब्जामा परे। माओवादीमा लागेपछि राज्यको तारो बन्ने नै भइहाल्यो। जेलको चिसो छिँडीमा बस्न तयार हुनुपरिहाल्यो। देश बदल्छु भनेर हिँडेको एक पत्रकारकी श्रीमतीले श्रीमानविना पनि बाँच्ने बानी बसाल्न थालिन्। साना नानीकी बाबुआमा दुवै बनेर  समाजका अनेक लाल्छना र झमेला खेपेर बाँच्न थालिन्। श्रीमानलाई सेनाले लगेपछि उनका दैनिक निरस र ऊर्जाहीन बने।

'शहीदको सूचीमा अर्को युवा पर्ने सम्भावना बढेर गयो। हिन्दु परिवारमा जन्मेकाले उहाँ बेपत्ता भएपछि मैले कहिल्यै रातो लगाइनँ। न कुनै उत्सव न कुनै खुसीको उन्माद नै रह्यो। बेचैन जिन्दगी, निख्खर जीवन', उनी भन्छिन्, 'सेनाको घेरामा परेपछि पक्कै मारे होलान्।' कहिलेकाहीँ चुह्लोमा आगो भर्भराउँदा घर सम्झेर अथवा छोराछोरी सम्झेर आँगनमा आएर बोलाउँछन् कि भन्ने लागिरहन्थ्यो उनलाई तर त्यस्तो केही भएन, जुन उनी कल्पनामा भए पनि खुसी हुने बहाना खोज्थिन्।

बेपत्ता श्रीमानको कि लास कि सास चाहियो भन्दै उनी कहाँसम्म पुगिनन्? उनी भन्छिन्, 'नेता तथा मन्त्रीका पाउसम्म परेँ। सबैले खोज्दै छौँ, नआत्तिनुस् भन्ने आश्वासन मात्र दिन्थे।' श्रीमान खोजिदिनु भन्दै मानवअधिकार आयोग सामु पनि पुगिन् उनी। त्यसबेला मानवअधिकार आयोगका उच्च अधिकारीले भनेका कुरा सम्झिँदा अहिले पनि रगत उम्लेर आउने बताउँछिन् उनी। मुठ्ठी कस्दै ती उच्च अधिकारीले भनेको सम्झँदै उनले भनिन्, 'अगाडि भिर छ भन्ने थाहा हुँदाहुँदै दादा पल्टेर जानुपरेको त ठीक्क पर्‍यो।' मानवअधिकारको क्षेत्रमा काम गर्ने ती व्यक्तिले कति जनाको हक अधिकार सुनिश्चित गरिदिए होलान्, कति पीडित जनतालाई न्याय दिए होलान्? उनले जवाफविहीन प्रश्न आफैँप्रति तेर्स्याइन्।

त्यसबेला समाजका विद्वानले समेत अनेक लाञ्छना लगाउँदा उनी भक्कानिन्थिन्। उनी भन्छिन्, 'कसैकसैले त काम गर्नका अल्छीले माओवादीमा लागेको हो तेरो श्रीमान् भन्थे।' ज्यानको बाजी लगाउन नसक्नेले काम गर्न अल्छी मान्नेहरू माओवादीमा लागेको आरोप लगाउने समाजका बुद्धिजीवीहरूको कुरा सुन्दा हाँसो पनि लाग्ने गरेको बताइन् उनले। अझ अरू बेपत्ता माओवादीका परिवारको पीडा त झनै चर्को भएको उनको भनाइ छ। 'उनीहरूले छोएको पानीसमेत कसैले खाँदैनथे, उनीहरूसँग मान्छेहरू बोल्न पनि खोज्दैनथे। 'धन्न मेरो हकमा त्यस्तो भएन', उनले लामो सास तान्दै भनिन्, 'श्रीमान बेपत्ता हुनुको पीडा र समाजका बुद्धिजीवीले दिने ताडनाबीच बाँच्नु कति दुखदायी हुन्छ, त्यो तिनीहरूले मात्र बुझेका होलान्, जसले भोगेका छन्।'

श्रीमान बेपत्ता भएपछि साना दुई शारीरिक रूपले अशक्त छोराछोरीलाई हुर्काउने जिम्मा उनकै काँधमा आइपर्‍यो। उनी भन्छिन्, 'छोराछोरी सानै थिए। यस कारण उनीहरूको पढाइ खर्च कम थियो।' अचल सम्पति प्रशस्त भए पनि छोराछोरी पढाउन केही रकम जोहो गर्नुपर्ने आवश्यकता थियो उनलाई। २०६० सालको सुरुवातमा गाउँकै स्कुल लीला निमाविमा शिक्षक आवश्यकता रहेको जानकारी पाइन् उनले। स्कुलले गाउँका बुहारीलाई प्राथमिकता दिने भनेको हुनाले आवेदन दिइन्। नभन्दै उनको नाम निस्कियो। उनले त्यहाँ नेपाली र अंग्रेजी पढाउन थालिन्। त्यसबाट केही राहत भएको बताँउछिन् उनी। त्यसबेला स्कुलका प्रध्यानाध्यापक वेदनाथ बराललगायत शिक्षकहरू बालकृष्ण ढकाल, घनश्याम देवकोटा, राधा पौडेल, तारानाथ पौडेलले सम्झाइबुझाइ गर्थे। राजु फर्केर आउँछ भनेर आड र भरोसा दिइरहन्थे उनलाई। उनी भन्छिन्, 'सर, म्याडमले मलाई यति धेरै माया गर्नुभएको छ कि मैले उहाँहरूको यो ऋण कहिल्यै न तिर्न सक्छु, न भुल्न नै।'

समय आफ्नै रफ्तारमा दौडिरह्यो। कहिलेकाहीँ अपरिचित व्यक्तिहरूले राजु क्षेत्रीको पत्र बोकेर आउँथे। राजुले पत्रमा 'मलाई कुरेर बस्नू है, म छिट्टै फर्केर आउँछु, हाम्रा छोराछोरी र बुढा बाआमाको ख्याल गर्नू' भनेर लेख्थे। ती पत्रको जवाफ पठाइनन् उनले। उनी भन्छिन्, 'ती पत्रहरू सेनाकै बठ्याइँ हुन् भन्ने लागिरह्यो।'

कार्तिकको अन्तिम साता घरमा धान भित्र्याउने चटारो। चटारोका बीच मेला आएका दाइहरूले बिहानको रेडियो बजाए। हरेक दिन श्रीमानको हालखबर केही बताउँछ कि भनेर कान ठाडा बनाएर बस्ने उनी त्यस दिनको दैनिकीबाट कसरी पन्छिन सक्थिन् र! रेडियोले खबर सुनायो- 'व्यारेक तोडेर राजु क्षेत्रीलगायत माओवादी छापामार फरार।' मेला आएका छिमेकीहरू खुसीले उफ्रिन थाले। आफ्नाआफ्ना सम्बोधनको आधारमा कोही 'हाम्रो काले भाइ फर्केर आउने भयो' भन्दै उफ्रे। श्रीमान ब्यारेकको काल कोठरीबाट मुक्त भएर स्वतन्त्र हुँदा पनि उनको मनमा अर्को शंकाले डेरा जमाउन थाल्यो। सेनाले माओवादीहरू जेल तोडेर भागे भनेर विज्ञप्ति निकालेपछि मारे पनि परिवारलाई लाश देखाउन पर्दैन भनेर सेनाले यो नयाँ जाल बुनेको होला भन्ने उनलाई लाग्यो। 'पक्कै उहाँलाई मारे त होलान्' उनी यस्तै केही कल्पना गर्न थालिन्। उनी भन्छिन्, 'त्यसभन्दा पहिलेका बेपत्ता परिवारका सदस्यले सुनाउने घटनाले म यस्तै सोच्न बाध्य थिएँ।'

त्यसपछि उनका घरमा अपरिचित मान्छेहरूको आवतजावत भइरह्यो। उनी भन्छिन्, 'सेनाले घरको हरेक चरचर छापा मार्थे, अनेक गाली दिन्थे अनि जान्थे।उनीहरूका गाली पनि सामान्य लाग्न थालेको थियो।' सेनाको गाली उनका लागि दैनिकी जस्तै बन्यो।

रेडियोले फुकिहाल्यो- 'सरिता बराललगायत माओवादीलाई सेनाले पक्रराउ गरेको छ।' रेडियोको समाचारप्रति सेनाले भोलिपल्ट विज्ञप्ति निकाल्यो- सेनाले कुनै पनि माओवादी छापामारहरूलाई समातेको छैन भनेर। त्यो समयअघिसम्म सामान्य एक शिक्षिका रहेकी उनी एउटा समाचारका कारण माओवादी बनिन्।

समय उस्तै बेचैन रहेन। उनका नजिकका देवर नारायण बरालले 'दाइले फोन गर्नुभएको छ। जसरी पनि आउनु' भनेर खबर पठाए। उनी भन्छिन्, 'त्यसबेला मोबाइल हातमा थिएन, ल्याण्डलाइन फोनको जमना थियो।' हतारहतार उनी छोरेपाटन गइन्। केही समयपछि फोनको घण्टी बज्यो। उनले उठाइन्। उताबाट परिचित  आवाज सुनिए पनि उनी केही बोल्न सकिनन्। उनी भन्छिन्, 'यो पनि सेनाकै रणनीति होला, उहाँको आवाज जस्तै गरेर बोलेको। सायद राजुका बारेमा केही सूचना पाइन्छ कि भनेर नाटक रचेका होलान् भन्ने लाग्यो।' उनी मौन बसिन्। तर राजुले बाआमाको र उनको खबर सोधे। छोराछोरीको खबर सोधे र अन्त्यमा आफू अहिले कृस्तीपारि टक्सार भन्ने ठाउँमा रहेकाले बुबालाई लिएर भेट्न आऊ भनेर फोन काटे। आफ्नै श्रीमानसँग १५ महिनापछि बोल्दा अलि अलि दकस लाग्यो उनलाई- के बोल्ने के नबोल्ने भनेर। उनी भन्छिनं, 'सायद यो सब दूरीको प्रतिफल हो।'

श्रीमानले बोलाएपछि उनलाई भेट्न बुबासँग टक्सार पुगिन् उनी। सामान्य भेट भयो। त्यसपछि उनी फर्किइन्। पुसबाट पुन खबर आदान प्रदान भइरह्यो तर भेट भएन। देशमा सेना र माओवादीको युद्धका समाचार अखबारका पानाहरूमा सधैँझैँ प्रकाशित हुन्थे। अखबारका पानामा श्रीमानको नाम नभएपछि उनी ढुक्क हुन्थिन्।

२०६२ दशैँमा पुन: माओवादीका परिवार भेटघाट भनेर घान्द्रुक पुगिन् उनी। भेटघाट सकेपछि फर्कने क्रममा भैँसे भन्ने ठाउँमा सेनाको गस्तीले घेर्‍यो उनलाई। उनी सेनाबाट फुत्केर जंगल पसिन्। रेडियोले फुकिहाल्यो- 'सरिता बराललगायत माओवादीलाई सेनाले पक्रराउ गरेको छ।' रेडियोको समाचारप्रति सेनाले भोलिपल्ट विज्ञप्ति निकाल्यो- सेनाले कुनै पनि माओवादी छापामारहरूलाई समातेको छैन भनेर। त्यो समयअघिसम्म सामान्य एक शिक्षिका रहेकी उनी एउटा समाचारका कारण माओवादी बनिन्। चार महिने माओवादी जीवनका तीतामीठा अनुभव लिँदै गर्दा देशमा जनआन्दोलन सुरु भयो र शान्ति वार्ताले अन्तिम रूप लिएपछि उनीसहित श्रीमान राजु  घर फर्किए। उनले पुन: स्कुलमा पढाउन सुरु गरिन्।

छोराछोरी हुर्कंदै गए। श्रीमानको कमाइ नभएपछि शिक्षण पेसाले जीवन धान्न गाह्रो हुँदै गयो। उनले शिक्षण पेसा त्यागेर क्याफे सुरु गरिन् २०६७ सालतिर। क्याफे सुरु गर्दाका सुरुवाती दिन सम्झँदै उनले भनिन्, 'हामीसँग एक रुपैयाँ पनि थिएन, राजुले माओवादीमा लागेर मान्छेचाहिँ कमाउनुभएको रहेछ। साथीहरूले आफ्नो क्षमताअनुसार सहयोग गरे। क्याफे खुलेपछि जिन्दगी सहज हुँदै गयो।'

अहिले हाँसीखुसी जिन्दगी बाँचेका छन् उनीहरू। शारीरिक रूपले अशक्त दुई छोराछोरीको पनि उपचार गरे क्षेत्री दम्पतीले। उनी भन्छिन्, 'जिन्दगी सहज हुँदै जाँदा आफ्ना पुराना दु:खहरू पनि धमिलो हुँदै जानेरहेछन्। श्रीमान-श्रीमतीमा विश्वास र आड भए संसारको जस्तोसुकै समस्यालाई पनि सहजै पार लगाउन सकिन्छ भन्ने आँट पनि आउनेरहेछ।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.