|

सिन्धुपाल्चोक : चौतारा साँगाचोकगढी नगरपालिका- १३ ठूलो सिरुवारीका स्थानीयले चन्दा संकलन गरेर गाउँमा एम्बुलेन्स किनेका छन्। ठूलो सिरुवारीको घरघरमा पुगेर स्थानीय युवाले एम्बुलेन्स किन्न चन्दा संकलन गरेका हुन्।

गाउँमा बिरामी पर्दा एम्बुलेन्सको अभावको कारणले अकालमा स्थानीयले ज्यान गुमाउनुपरेपछि रकम संकलन गरेर एम्बुलेन्स किन्न लागिपरेको एम्बुलेन्स स‌चालक समितिका अध्यक्ष नारायणप्रसाद गौतमले बताए। चन्दाबाट स्थानीयले छ लाख रुपैयाँ संकलन गरेका थिए। चौतारा नगरपालिका र वडा कार्यालयको सहयोगमा अरू रकम हालेर एम्बुलेन्स खरिद गरेको चौतारा साँगाचोकगढी नगरपालिका- १३ का वडा अध्यक्ष रामप्रसाद गौतमले जानकारी दिए।

'संकलित रकम, नगरपालिका र वडा कार्यालयको सहयोगमा एम्बुलेन्स किनेका छौँ। यसले जनतालाई ठूलो राहत पुर्‍याउने विश्वास लिएका छौँ', वडा अध्यक्ष गौतमले भने। स्थानीय जुटेमा आफ्नो ठाउँको विकास गर्न अरूको मुख ताक्नु नपर्ने उनले बताए। एम्बुलेन्सभित्र बिरामीका लागि आवश्यक सम्पूर्ण उपकरण राखिएको छ।

एम्बुलेन्स करिब ११ लाख रुपैयाँमा खरिद गरिएको हो। एम्बुलेन्सको एक समारोहका बीच सोमबारबाट सुरुवात गरिएको छ। एम्बुलेन्सबाट स्थानीय पाँच हजार घरले प्रत्यक्ष फाइदा लिनेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.