|

विराटनर : अवैध ३३ किलो सुन गायब र उर्लाबारीका सनम शाक्यको हत्या अभियोगमा पक्राउ परेका प्रहरी अधिकारीसहित २७ जना अभियुक्तको बयान सकिएको छ। पक्राउ परेका ३० मध्ये सोमबारसम्म २७ जना अभियुक्तको बयान सकिएको हो।

जिल्ला अदालत मोरङमा सोमबार मात्रै १२ जना अभियुक्तको बयान लिइएको थियो। बिहीबारदेखि सुरु भएको बयान आइतबारसम्ममा १५ जनाको सकिएको थियो। जिल्ला अदालत मोरङका श्रेष्तेदार नवराज दुलालका अनुसार न्यायिक हिरासतमा रहेका तीन जना अभियुक्तको मात्र बयान बाँकी छ। उनका अनुसार वरिष्ठ प्रहरी उपरीक्षक दिवेश लोहनी, प्रहरी नायव उपरीक्षक प्रजित केसी र सञ्जय राउतको बयान मंगलबार हुनेछ।

सोमबार पूर्व प्रहरी नायव महानिरीक्षक गोविन्दप्रसाद निरौला, वरिष्ठ प्रहरी उपरीक्षक विकासराज खनाल, प्रहरी नायव निरीक्षक बालकृष्ण सञ्जेल र प्रहरी जवान विष्णुबहादुर खड्काको बयान सकिएको छ। बयान सकिएका यी प्रहरीको उक्त घटनामा संलग्नता देखिएपछि पक्राउ परेका थिए। त्यस्तै, विमानस्थलका कर्मचारी राजन थापा, तक्ले भन्ने पुण्यप्रसाद लामा, गोपाल श्रेष्ठ, हेमन्त गौतम, राजु महर्जन, अमरमान डंगोल, तुलाराम थारू र अमर मगरको बयान पनि सकिएको छ। 

यसअघि २०६९ सालदेखि अवैध रूपमा सुनको कारोबार गर्ने भुजु गुरुङ, व्यापारी राजेन्द्रकुमार शाक्य, महावीर गोल्यान, विमानस्थलका कर्मचारी एलबी भन्ने लालबहादुर मगर, वीरेन्द्रमान श्रेष्ठ, सम्बिरप्रसाद तोलाङ्गे, बालकृष्ण श्रेष्ठ, तुलाराम खत्री, गोरेका विश्वासपात्र भनिएका टेकराज मल्ल ठकुरी, मोहन काफ्ले, लाक्पा शेर्पा, माधव भन्ने मदनप्रसाद घिमिरे, कृष्ण भन्ने नरेन्द्र कार्की र राजन कुमारको बयान सकिएको थियो। 

मोरङ अदालतको ६ नम्बर इजलासमा न्यायाधीश नारायणप्रसाद शर्माको रोहवरमा बयान सुरु भएको हो। मंगलबार अन्तिम बयान सकिएपछि थुनछेक बहस सुरु हुनेछ। गत बुधबार मोरङ अदालतमा मुद्दा दर्ता गरिएका ६३ जनामध्ये न्यायिक हिरासतमा आठ जना प्रहरी अधिकारीसहित ३० जना छन् भने ३४ जना अझै फरार छन्। फरार हुनेमा मुख्य नाइके चूडामणि उप्रेती गोरेसहित बहालवाला एसएसपी श्याम खत्रीसमेत छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.