|

गोरखा : गत पुस महिनादेखि साउदी जेलमा रहेका जिल्लाको भीमसेन गाउँपालिका- ७ का कुमार रानालाई नेपाल ल्याउन आवश्यक ८३ लाख रुपैयाँ जुटाउन पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सहयोग गर्ने घोषणा गरेका छन्। 

डा. भट्टराईले उनलाई नेपाल ल्याउन आफ्नोतर्फबाट एक लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका हुन्। रोजगारीका लागि साउदी गएका राना कम्पनीको गाडी चलाउँदा दुर्घटनामा परेका थिए। दुर्घटनामा साउदीका नागरिक घाइते भई ८३ लाख रुपैयाँ माग दाबी गर्दै उनलाई जेल पठाइएको थियो। डा. भट्टराईले आफ्नो फेसबुकमार्फत् उनलाई सहयोग गर्ने घोषणा गरेका हुन्। केही समयअघि रानाको परिवार तथा उनलाई रिहा गर्न रकम संकलन गर्न गठन भएको समितिले डा. भट्टराईलाई भेटेर सहयोग गर्न र नेपाल ल्याउन पहल गरिदिन आग्रह गरेका थिए।

कुमारलाई नेपाल ल्याउन उनकी श्रीमतीसँगै गाउँका युवाहरू एकजुट भएर रकम संकलन गर्न लागिपरेका छन्। त्यसपछि भट्टराईले फेसबुकमार्फत् सहयोगको घोषणा गरेका हुन्। डा. भट्टराईले आफ्नो फेसबुक वालमा सरकारले कुनै सहयोग नगरेपछि नागरिककै पहलमा सहयोग आह्वान गरिएकाले सहयोग गर्न आग्रह गरे। ‘आफ्नो देशको गरिब नागरिक विपदमा पर्दा पाषाणहृदयी सरकारले कुनै सहयोग नगरेपछि नागरिकस्तरबाट यो पहल गरिएको छ। वृद्ध बाबुआमा, नाबालक सन्तान र सामान्य गृहिणी श्रीमती भएका गरिब रानालाई सहयोग गर्नु हामी सबैको कर्तव्य हुन्छ’, उनले फेसबुकमा भनेका छन्।

डा. भट्टराईले फेसबुकमा भनेका छन्, ‘देश, विदेशमा बस्ने सबै नेपाली दाजुभाइ, दिदीबहिनीहरूले उदार मनले ब्लड मनी संकलन अभियानले सार्वजनिक गरेको बैंक खातामा सहयोग पठाउनु हुन पनि अपिल गर्दछु। साथै आफ्नोतर्फबाट पनि एक लाख सहयोग गर्ने प्रतिबद्धता पनि गर्दछु।’

कुमारकी श्रीमती अम्बिकाले केही दिनअघि गोरखामा पत्रकारहरूसँग कुरा गर्दै भनेकी थिइन्, ‘श्रीमानलाई नेपाल फर्काउन सहयोग गर्न सबैसँग आह्वान गर्छु।’ 

कुमारलाई सहयाेग गर्न चाहनेले प्रभु बैंक कलंकी शाखा काठमाडाै‌ंकाे खाता नं. ०३९०१००१००६५६९०००००१ पनि उपलब्ध छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.