|

सिन्धुपाल्चोक : नेपाल-चीनबीचको प्रमुख व्यापारिक नाका तातोपानी बन्दरगाह निर्माणका लागि कुल लागत १४ करोड ७० लाख चिनियाँ युआन अर्थात् करिब दुई अर्ब ३५ करोड रुपैयाँ खर्च हुने भएको छ। सन् २०१० मा तातोपानी सुक्खा बन्दरगाह निर्माण गर्ने प्रक्रिया अघि बढेको हो। तर निर्माण कार्य भने सन् २०१३ मा सुरु भएको थियो। निर्माणको झन्डै ७० प्रतिशत काम सकिनै लाग्दा विनाशकारी भूकम्प आयो र परियोजना अघि बढ्न सकेको थिएन।

भूकम्प गएको एक वर्षपछि २०७३ चैत १८ मा सुक्खा बन्दरगाह पुन: निर्माण गर्नेसम्बन्धमा नेपाल-चीनबीच सहमति भएको थियो। सहमतिअनुसार माइन्युटमा सुक्खा बन्दरगाह आयोजनालाई निरन्तरता दिन आकस्मिक उद्धार, भौगर्भिक क्षति व्यवस्थापन र निर्माण निरन्तरता परियाेजना गरी तीन भागमा विभाजन गरिएको थियो। त्यसअनुसार आकस्मिक उद्धार परियोजना २०७४ भदौमा सम्पन्न भएको हो। त्यस्तै, भौगर्भिक क्षति व्यवस्थापन र निर्माण निरन्तरता अघि बढाउन गत चैतमा अर्थ मन्त्रालय र चिनियाँ सरकारी निकायबीच सहमति भएको थियो। 

सहमतिअनुसार नै चिनियाँ पक्षले तातोपानी सुख्खा बन्दरगाह निर्माण कार्य अघि बढाउन चीन रेलवे १४औँ ब्युरो ग्रुप कम्पनी लिमिटेडलाई मुख्य ठेकेदार तोकेर बेइजिङ आर्किटेक्चर डिजाइन इन्स्टिच्युट ग्रुप कम्पनी लिमिटेड र सेन्याङ सुपरभिजन एन्ड कन्सल्टेन्ट कम्पनीलाई आयोजनाको व्यवस्थापकका रूपमा छनोट गरिसकेको छ। कुल लगानीमध्येको करिब डेढ अर्ब रुपैयाँ खर्चसमेत भइसकेको निर्माण कम्पनीले जनाएको छ।

चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोग रहेको तातोपानी सुक्खा बन्दरगाह आगामी एक वर्षभित्र निर्माण सम्पन्न गरी नेपाललाई हस्तान्तरण गर्न सम्झौता भएको छ। सम्झौतामा नेपालका तर्फबाट नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक लक्ष्मणबहादुर बस्नेत र चिनियाँ सरकारको पक्षबाट वाणिज्य मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक साझेदार एजेन्सीका आर्थिक तथा व्यापारिक काउन्सिलर झाङ फानले हस्ताक्षर गरेका जनाइएको छ। सम्झौताअनुसार आगामी २०१९ अप्रिल ३० अगावै बन्दरगाह निर्माण सम्पन्न गर्ने र २०१९ मेअघि नै नेपाललाई हस्तान्तरण गरिनेछ।

सुक्खा बन्दरगाह निर्माण कार्य गत बिहीबारदेखि नै अघि बढिसकेको छ। अहिले नयाँ डिजाइन तयार गरेर सुक्खा बन्दरगाह निर्माण अघि बढेको छ। तातोपानी सुक्खा बन्दरगाहको कुल क्षेत्रफल ४.२ हेक्टर रहेको छ। बन्दरगाहमा ठूला १५८ र साना २३ गरी कुल १८१ वटा सवारी साधन पार्किङ गर्न सकिनेछ। बाढी-पहिरोलगायत सम्भावित प्राकृतिक प्रकोपको क्षति न्यूनीकरणका लागि कुल लगानीको झन्डै ४० प्रतिशत रकम सुरक्षाका लागि खर्च गरिएको बस्नेतले बताए। बन्दरगाहमा प्रशासनिक भवन, भन्सार जाँचपास यार्ड, विद्युत सबस्टेसन, आगलागी नियन्त्रण तथा अलार्म प्रणालीलगायत सुविधा रहेका छन्।

भूकम्पपछि बन्द भएको तातोपानी नाका पुनः संचालनका लागि नेपालले चीन समक्ष ताकेता गर्दै आएको छ। चीनले पनि पूर्वाधार निर्माण गरे नाका पुनः संचालन गर्ने प्रतिबद्धता जनाएको छ। अब पूर्वाधार निर्माणले गति लिने र सुक्खा बन्दरगाह निर्माण एक वर्षमा सकिने बस्नेतले बताए। चीनले नेपाललाई हस्तान्तरण गरेपछि नाका पनि सञ्चालनमा आउनेछ। काम योजनाअनुसार नै बढेमा अबको करिब डेढ वर्षमा तातोपानी नाका पुनः संचालनमा आउनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.