२५ बन्दी बस्ने कारागारमा ५६ कैदीबन्दी

|

ओखलढुंगा : ओखलढुंगा कारागारमा क्षमताभन्दा बढी बन्दी हुँदा समस्या भएको छ। २५ कैदीबन्दी बस्ने क्षमता भएको जिल्ला कारागार ओखलढुंगामा ५० बढी कैदीबन्दी भएपछि समस्या भएको हो।

अहिले जिल्ला कारागार ओखलढुंगामा पिउने पानीदेखि शौचालय, खेलमैदान, बस्ने ठाउँ अभाव हुँदा कैदीबन्दीे पानी, शारीरिक व्यायाम, शौच बस्न र सुत्नबाट वञ्चित भएका छन्। नियमित पानी आपूर्ति नहुँदा पिउने पानीको धौधौ हुने गरेको चौकीदार नवराज बस्नेतले बताए। 

उनले कैदीबन्दीहरूले स्वास्थ्य परीक्षणका लागि स्वास्थ्यकर्मी नभएको, साँघुरो ठाउँमा खापा लगाएर कोचिएर बस्नुपरेको गुनासो गरे। कैदीबन्दीले शौचालय दुईवटा मात्र भएकाले शौच गर्न समस्या भएको, मेस तथा सामान्य अभ्यास गर्नका लागि ठाउँ अभाव भएको गुनासो गरेका छन्। 

महिला पाँच र पुरुष २० गरी २५ जना क्षमता भएको वार्डमा अहिले पुरुषतर्फ ५१ र महिलातर्फ छ जना कैदीबन्दी रहेका छन्। पुरुष बन्दी बस्ने वार्डमा सुत्न बस्नसमेत समस्या रहेका कारण केही दिनअघि मात्रै १० बन्दीलाई जेल स्थानान्तरण गरेको जिल्ला कारागार ओखलढुंगाका कम्प्युटर अपरेटर सिर्जना न्यौपानेले बताइन्। न्यौपानेका अनुसार कारागारमा दिन बिराएर मात्रै पिउने पानी आउने र पानी खटाएर प्रयोग गर्नु, भन्नुपर्ने बाध्यता रहेको छ। 

भूकम्पले जीर्ण बनाएको जिल्ला कारागार ओखलढुंगा अहिलेसम्म पनि पुनर्निर्माण हुन नसक्दा कैदीबन्दीहरू जीर्ण भवनमा जोखिम मोलेर बस्नुपर्ने बाध्यता छ। केही दिनअघि महान्यायाधिवक्ताको कार्यालयबाट गरिएको अनुगमनमा पनि कैदीबन्दीहरूले पिउने पानी अभाव रहेको, वर्षामा पानी चुहिने र जीर्ण भवनमा जोखिमपूर्ण तरिकाले बस्नुपरेको, शौच बस्ने बेलामा लाइन बस्नुपरेको गुनासो गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.