|

कञ्चनपुर :  भीमदत्त नगरपालिका–९ चुरे क्षेत्रमा रहेको मौसम परिवर्तनसँगै रंग बदल्ने झिलमिला तालले पर्यटक लोभ्याउन थालेको छ। ताल हेर्नका लागि यहाँ स्वदेशी र विदेशी पर्यटक पुग्न थालेपछि यसले चर्चा बटुल्न थालेको हो।

तालको रंग बदल्ने र लस्करै झुण्ड बनाएर ताल परिक्रमा गर्ने एकै जातका कालो रंगका माछाको झुण्ड हेर्न यहाँ पर्यटकको घुइँचो लाग्ने गरेको छ। चारैतिर पहाड र हरियो वनले ढपक्क ढाकिएको क्षेत्रको बीचमा रहेको झिलमिला तालको छुट्टै विशेषता छ। 

तालको चारैतिर वनजंगल भएपनि तालको पानी सधैं एकनासको कञ्चन रहने गरेको छ। त्यही पानीले छिनछिनमै झिलमिल गरी रंग बदल्ने गरेकाले यस तालको नाम झिलमिला रहन गएको स्थानीयहरुकाे भनाइ छ। डडेल्धुरा मलासका मानबहादुर पहाडीले यस क्षेत्रमा ताल रहेको पञ्चायती व्यवस्थाका बेला कञ्चनपुरका स्थानीयहरुलाई जानकारी दिएपछि मात्रै विचित्रको ताल रहेको थाहा पाएको स्थानीय गगन नाथले बताए। उनले भने, ‘तत्कालीन महेन्द्रनगर नगरपालिकाका मेयर धर्मराज जोशीलगायतको टोलीले तालको अवलोकन गरेपछि तालले चर्चा पाउन थालेको हो।’ तर यस क्षेत्रसम्म पुग्न सडक सुविधा नहुँदा पर्यटकलाई कठिनाइ हुने गरेको छ। 

पर्यटकको सुविधाका लागि स्थानीयले चन्दा संकलन गरेर चार किलोमिटर सडक मर्मत गरेका छन्। तर उक्त कच्ची सडक वर्षातका बेला भत्किने भएकाले  आवागमन कठिन हुने गरेको स्थानीय समाजसेवी मोतिसिंह महताले बताए। धार्मिक आस्थाले आउनेबाहेक प्राकृतिक स्थानमा मनोरन्जन गर्ने आउने पर्यटकहरुका लागि आवश्यकता अनुसार भौतिक पूर्वाधार निर्माण गरिनु आवश्यक रहेको भन्दै कञ्चनपुरका पर्यटन व्यवसायी प्रमानन्द भण्डारीले भने, ‘ताल क्षेत्रमा बाल उद्यान, बोटिङ, खानेपानी, खाजाघर, आवासका साथै सडक मर्मत भए अझै बढी पर्यटकलाई भित्र्याउन सकिन्छ।’ तालको संरक्षण तथा प्रवर्द्धनका लागि सरकारी, गैरसरकारी र निजी क्षेत्रको हातेमालोले  अावश्यक रहेको उनको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.